पोखरामा सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले छुट्टाछुट्टै प्रदर्शन गरेका छन्।
सहकारी पीडितले सहकारी ठगीमा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् भने रास्वपा कार्यकर्ताहरूले सभापति रवि लामिछानेलाई सरकारले फसाउन खोजेको भन्दै प्रदर्शन गरेका हुन्।
जिल्ला प्रशासन कार्यालयअघि शहीद चोकमा रहेको चौतारीमा रास्वपा कार्यकर्ताहरू प्लाकार्डसहित प्रदर्शनमा उत्रिएका थिए।
पार्टी सभापति लामिछानेलाई सरकारले फसाउन लागेकाले सांकेतिक रुपमा विरोध प्रदर्शन गरेको रास्वपा गण्डकीका सभापति एकराज न्यौपानेले बताए।
‘सबैको मनमुटुमा बस्न सफल युवा रवि लामिछानेलाई राज्यले फसाउन खोजेकाले सांकेतिक विरोध जनाएका हौं। आवश्यक परयो भने भोलि पनि प्रदर्शन गर्छौ,’ उनले भने।
सुर्यदर्शन सहकारी ठगीको अभियोगमा लामिछानेलाई पक्राउ गर्न सक्ने हल्ला सुनेकाले प्रदर्शन गरेको उनले बताए।
सुर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सहकारी ठगीमा कारबाही गर्न अवरोध गर्न लागेको देखेर प्रदर्शन गरेको बताएका छन्।
रास्वपाका नेता कार्यकर्तासँग बिहान कुराकानी हुँदा कुनै प्रदर्शन नगर्ने र कानुनी कारबाहीमा प्रभाव हुन नदिने सहमति भए पनि उनीहरूले प्रदर्शन गर्ने भनेपछि आफूहरू पनि प्रदर्शनमा उत्रिनुपरेको बताए।
‘हामीले सहकारी पीडितले न्याय पाउनुपर्छ, ठगीमा संलग्न हुनेलाई कारबाही हुनुपर्छ भनेका छौं,’ उनले भने, ‘रवि लामिछानेका समर्थकले बिहानसम्म प्रदर्शन नगर्ने भनेको थियो, उनीहरू प्रदर्शनमा उत्रिएपछि हामी पनि उत्रियौं ।’
शहीद चोकको चौतारीमा रास्वपाका कार्यकर्ता प्लेकार्ड लिएर बसेका बेला सहकारी पीडितहरू भने बैदामबाट त्यहीबाटो हुँदै जिल्ला प्रशासन कार्यालय गेट पुगेका थिए। पीडितहरूले रवि लामिछानेलाई पक्राउ गर, सहकारीको बचत फिर्ता गर, दोषीलाई कारबाही गर जस्ता नारा लगाएका थिए।
सुर्यदर्शन सहकारीकै पीडितहरूले रास्वपा सभापति लामिछानेविरुद्ध माघ २२ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारी ठगी अभियोग लगाएर पीडितले जाहेरी दिएका थिए।
संसदीय छानबिन समितिले पनि सहकारीबाट गैरकानुनी रुपमा गोरखा मिडियामा ६५ करोड रुपैयाँ लगेको र उक्त रकम लामिछानेले चेक काटेर खर्च गरेकाले कारबाही गर्न सिफारिस गरिसकेको छ।
सहकारी ठगीकै आरोपमा गोर्खा मिडियाका संचालक छविलाल जोशी आइतबार काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइसकेको छ।
यो पनि: पोखरामा रास्वपाको विरोध प्रदर्शन