प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच मोदी बसेकै होटेल लोटे न्युयोर्क प्यालेसमा करिब ३० मिनेट कुराकानी भएको थियो।
नेपाली र भारतीय विदेशमन्त्री, विदेश सचिव तथा सरकारका उच्चपदस्थ अधिकारीहरूसहित भएको उक्त भेट सौहार्दपूर्ण भएको दुबै प्रधामन्त्रीहरूले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिएका छन्।
‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग फलदायी वार्ता भयो’, प्रधानमन्त्री ओलीले समाजिक सञ्जाल एक्समा लेखेका छन्,‘भेटमा दुईपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा छलफल भयो।’
यसबाहेक नेपालका तर्फबाट उक्त बहुप्रतिक्षित भेटबारे आधिकारिक जानकारी आएको छैन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीसँगको भेटमा भएको छलफलका विषयबस्तु खुलाएर लेखेका छन्।
उनले नेपालका प्रधानमन्त्री ओलीसँग ऊर्जा, प्रबिधि र व्यापारजस्ता विषयहरूमा छलफल भएको सामाजिक सञ्जालमा लेखका छन्। यसबाहेक भारतको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत् विभिन्न चार विषयमा दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको उल्लेख गरेको छ।
भारतको विदेश मन्त्रालयको वेबसाइटमा उपलब्ध प्रेस विज्ञप्तीअनुसार प्रधानमन्त्री ओली र मोदीले नेपाल र भारतको दुईपक्षीय सम्बन्ध विशिष्ट र घनिष्ट रहेको भन्दै त्यसबारे समीक्षा गरेका छन्।
‘दुवै देशका प्रधानमन्त्रीहरूले भारत र नेपालको विशिष्ट र निकट दुईपक्षीय सम्बन्धको समीक्षा गर्दै विकास साझेदारी, जलविद्धुत सहयोग, नागरिकस्तरको सम्बन्ध र डिजिटल तथा उर्जाक्षेत्रमा भइरहेको प्रगतिबारे सन्तुष्टि व्यक्त गर्नुभयो।’
भारतको विदेशमन्त्रालयका अनुसार, नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को १०१ औं सदस्य भएकोमा भारतका प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई बधाई दिएका थिए। यो गठबन्धन सौर्य उर्जामा धनी राष्ट्रहरूको गठबन्धन हो। गत भदौ २६ गते नेपाल उक्त गठबन्धनको नयाँ सदस्य बनेको थियो। नेपालले प्रतिनिधि सभाबाट गत जेठमा आईएसएको स्थापनासम्बन्धि सम्झौता पारित गरेको थियो।
यस्तै उनीहरूबीच जलवायु परिवर्तन र त्यसले दक्षिण एसियाली क्षेत्रमा पारेको प्रभावका बारेमा पनि कुराकानी भएको थियो।
‘नेवरहुड फर्स्ट’ अर्थात छिमेकी पहिलो भारतीय नीति हो। मोदी पहिलोपटक प्रधानमन्त्री भएपछि २०१४मा उनले यो नीति अघि सारेका थिए। दुई प्रधानमन्त्रीबीचको भेटले छिमेकी पहिलोको नीतिलाई प्रबर्धन गरेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री राणाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिएकी थिइन्।