संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको छ।
उनीहरूबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित लोट्टे न्युयोर्क प्यालेस होटेलमा भेटवार्ता भएको हो।
भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भेटवार्ता सकारात्मक भएको सञ्चारकर्मीलाई बताए। भेटमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भेटवार्ता सौहार्दपूर्ण भएको र भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्ने जानकारी दिइन्।
दुई प्रधानमन्त्रीबीचको भेटमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, नियोगका प्रतिनिधि (राजदूत) लोकबहादुर थापा तथा भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलगायत सहभागी थिए ।
स्थानीय समयानुसार आइतबार साँझ साढे पाँच बजे भएको भेटका अवसरमा नेपाल—भारत आपसी चासो र हितका विषयमा कुराकानी भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।
माइक्रो ब्लगिङ साइट एक्समा उनले त्यस्तो बताएका हुन्।
‘प्रधानमन्त्री केपी ओलीसँग न्यूयोर्कमा निकै राम्रो भेट भयो। भारत–नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो संवाद ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ उनले ओलीसँगको भेटका तस्बिर साझा गर्दै भनेका छन्।
नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटको वातावरण बनेको हो।
भेटका लागि नेपाली पक्षबाट धेरै अघिदेखि गृहकार्य भएको थियो। भारतीय पक्षबाट शुक्रबार सकारात्मक सन्देश पाएपछि भेटको वातावरण बनेको थियो।
ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय समकक्षीसँग पहिलोपटक भेट भएको हो। यसअघि थाइल्यान्डमा तय भएको बिमस्टेक बैठकमा ओली र मोदीबीच भेटवार्ता हुने भनिए पनि बैठक नै स्थगित भएको थियो।
लगत्तै भारत भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन्।
त्यसमा भारतले कुनै जवाफ दिएको थिएन। नेपालले निम्तो गरेको भएता पनि नेपालका प्रधानमन्त्री ओलीले अहिलेसम्म भारतीय पक्षसँग भ्रमणको औपचारिक निम्तो भने पाएका छैनन्। प्रधानमन्त्री ओलीको भारतसँग सम्बन्ध तिक्त रहेको चर्चाकाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अरू पनि महत्त्वपूर्ण भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओलीले भुटानी समकक्षी छिरिङ तोब्गेबीच पनि भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
त्यस्तै प्रधानमन्त्री ओलीले कुवेतका राजकुमार शेख सबाह अलसँग पनि भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री ओलीले मंगलबार फिनल्याण्डका राष्ट्रपति एलेक्जेण्डर स्टब र सोमाका प्रधानमन्त्री फियम नाओटी माटा आफासँग पनि दुई पक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ।
राससको सहयोगमा।