सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ।
उक्त प्रतिवेदन सार्वजनिक भएसँगै स्वर्णलक्ष्मी सहकारीसहित विभिन्न सहकारीबाट करोडौं रकम अपचलन भएको प्रकरणमा मुख्य अभियुक्त मानिएका गितेन्द्रबाबु राई (जिबी) फरार छन्।
उनी मलेसिया रहेको आशंकामा नेपाल प्रहरीका दुई जना अधिकारी १० दिन त्यहाँ गएको खुलेको हो।
उनलाई पक्राउ गर्नका लागि गृह मन्त्रालयको स्वीकृतिपछि भदौ ७ गते एक जना प्रहरी उपरीक्षक र एक जना प्रहरी नायब निरीक्षक मलेसिया खटिएका थिए।
उनीहरू १० दिन बसेर भदौ १७ गते फिर्किएका थिए। त्यहाँ खटिएका प्रहरी अधिकारीले पनि केही फेला पार्न नसकेको प्रतिवेदनमा उल्लेख छ।
राईलाई पक्राउ गर्नका लागि कूटनीतिक तवरबाटै काम भइरहेको भन्दै एनसिबी क्वालालम्पुर र मलेसियन प्रहरीले कुनै जानकारी नदिएको उल्लेख गरिएको छ।
‘मलेसियामा गई नेपाली दूतावासका डिसिएम मुदिता बज्राचार्यसँग र मलेसियन प्रहरीहरूसँगको अनौपचारिक भेटघाटबाट यस विषयमा उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने भनी बताइएको, एनसिबी काठमाडौंबाट एनसिबी क्वालालम्पुरलाई बारम्बार इमेलमार्फत् प्रतिवादीसम्बन्धी थप जानकारीहरू माग गरिएकोमा कुनै जबाफ नआएपछि फोनमा सम्पर्क गरी जानकारी माग गर्दा मलेसियन प्रहरीले निजको विषयमा कूटनीतिक तहमा छलफल भइरहेकोले यस विषयमा केही डिस्क्लोज गर्न नमिल्ने बताएको,’ प्रतिवेदनमा उल्लेख छ।
जिबी राई पक्रिन के/के गर्यो प्रयास?
२०८० मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय कास्कीले गृह मन्त्रालयमा जिबी राई, भूपेन्द्र राई, थानबहादुर बुढामगर र शिवबहादुर गुरूङविरूद्ध डिफ्युजन नोटिस जारी गर्न पत्र पठाएको थियो। त्यसपछि माघ १२ गते उनीहरूविरूद्ध डिफ्युजन नोटिस जारी गरिएको थियो।
पछि उक्त नोटिसलाई नै माघ २५ गते रेड नोटिसमा परिवर्तन गरिएको थियो।
जिबीको इन्ट्री र एक्जिट रेकर्ड हेर्दा जिबी राई २०८० भदौ २७ गते केयुए अन्तर्राष्ट्रिय एयरपोर्सबाट मलेसिया प्रवेश गरेको देखिएको थियो। त्यसपछि उनलाई नेपाल फिर्ता गर्न सुपुर्दगी गरी कूटनीतिक माध्यमबाट फिर्ता लग्न भनेर एनसिबी क्वालालम्पुरले नेपालको एनसिबी काठमाडौंलाई पत्र लेखेको थियो।
सुपुर्दगी गरी नेपाल फिर्ता ल्याउन पहलका लागि २०८० फागुन १० गते नेपाल प्रहरी प्रधान कार्यालयबाट गृहलाई अनुरोध भएको थियो। फागुन १५ गते गृहले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरी एनसिबी काठमाडौंबाट एनसिबी क्वालालम्पुरलाई समेत अनुरोध गरेको थियो।
यस्तै, एनसिबी काठमाडौंले एनसिबी क्वालालम्पुरलाई जिबी राईको ठेगाना खुलाएर पठाउन समेत अनुरोध गरेको थियो। तर इमेलमार्फत सोध्ने काम भए पनि उताबाट भने जबाफ फर्काइएको थिएन।
मलेसियन प्रहरीबाट कुनै जबाफ प्राप्त नभएपछि एनसिबी काठमाडौंले यस विषयमा इन्टरपोलको सहायता माग गरेको थियो।
गत वैशाख १ गते इन्टरपोलले एनसिबी क्वालालम्पुर, एनसिबी काठमाडौं र इन्टरपोलका सदस्यसहितको भर्चुअल मिटिङको व्यवस्था समेत गरिदिएको थियो।
तीन वटै निकायका सदस्यहरूबीच बसेर छलफलसमेत भएको थियो।
त्यस्तै प्रहरीले मलेसियाबाट फर्काउन जिबी राईको राहदान समेत रद्द गर्ने प्रयास गरेको थियो। यसो गरे उनलाई १४ दिनभित्रै नेपाल फर्काउन सक्ने मलेसियन प्रहरीले बताएको थियो। कास्की प्रहरीले यसबारे अनुरोध गरेपछि अदालतले र राहदानी विभागले वैशाख ३ गते राहदानी रद्द गर्न नमिल्ने जनाएको थियो।
त्यसपछि भदौ ७ गते नेपाल प्रहरीका दुई जना मलेसिया गएर भदौ १७ गते फर्किएका थिए।