सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको ६५ करोड रुपैयाँ रकमको सम्बन्धमा रवि लामिछाने पनि जिम्मेवार रहने ठहर गरेको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि., सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.बाट ६५ करोड ५४ लाख चार हजार पाँच सय अठतिस रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रा. लि.मा प्रवाह भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
समितिले रविलाई पनि गोर्खा मिडियामा आएको रकमबारे जिम्मेवार ठहर गर्दा तीन विषयमा स्पष्ट रूपमा बोलेको छ।
पहिलो, समितिले प्रतिनिधि सभामा बुझाएको प्रतिवेदनमा गोर्खा मिडियामा सहकारीबाट आएको ६५ करोड पैसामा रवि लामिछानेको दायित्व हुने भनेको छ।
'कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ। कम्पनीका सञ्चालक वा सेयर होल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन्। सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका र जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन, खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नु पर्दछ,' समितिको प्रतिवेदनमा भनिएको छ, 'सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानून बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने।'
दोस्रो, समितिले गोर्खा मिडिया नेटवर्कको सेयर खरिद बिक्री गर्दा किर्ते कागजका आधारमा भएको भनेको छ।
'कम्पनीहरूमा सेयर खरिद बिक्री गर्दा कानून बमोजिम पेस हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सो बमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र श्वेट शेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने।'
तेस्रो, समितिले जिबी राई र छविलाल जोशीसँगै रवि लामिछानेलाई जिम्मेवार ठहर गर्दा विभिन्न पक्षबाट विश्लेषण गरेको छ।
समितिले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सोधपुछका क्रममा सहकारीबाट कम्पनीमा रकम आएको सम्बन्धमा आफूलाई जानकारी नभएको बताएको उल्लेख गरेको छ। तर रविले समितिमा सो सम्बन्धमा गितेन्द्रबाबु राई अर्थात् जिबी राईलाई थाहा हुने बताएका थिए। अर्का तत्कालीन सञ्चालक छविलाल जोशीले रकम आएको समबन्धमा गितेन्द्रबाबु राई वा रवि लामिछानेलाई थाहा भएको बयान समितिमा दिएको प्रतिवेदनमा छ।
'उक्त समयका प्रा.लि.को आन्तरिक प्रशासन सञ्चालनमा आफ्नो भूमिका रहेको कुरा रवि लामिछानेले समितिमा खुलाउनु भएको र सो समयमा निजले सम्पादन गरेका कामहरूको विवरण समेतबाट देखिन्छ,' प्रतिवेदनमा भनिएको छ, 'सहकारी संस्थाबाट रकम गोरखा मिडिया नेटवर्क प्रा.लि.मा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज प्रमाण रहेको नभेटिएता पनि सोही रकम गोरखा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ।'
साथै समितिले प्रतिवेदनमा रवि लामिछानेको हस्ताक्षर ग्लोबल आइएमई बैंकमा भएको खातामा चल्ने गरेको उल्लेख गरेको छ।
'गोर्खा मिडिया नेटवर्क प्रा.लि.को ग्लोबल आइएमई बैंकमा भएको खातामा अध्यक्ष गितेन्द्रबाबु राईसहित रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर रहेको र तीनमध्ये एक जनाको हस्ताक्षरमा चेक काटिन सक्ने अर्थात् खाता चल्ने देखिएबाट तीनै जनाले गोर्खा मिडिया नेटवर्क प्रा.लि.को आन्तरिक वित्तीय परिचालनको अधिकार राखेको देखिन आयो। बैङ्कमा खाता खोल्दाका बखत पेश गरिएको (केवाइसी) विवरण र दस्तखत नमूना कार्डमा तीनमध्ये एक जनाको हस्ताक्षरमा खाता सञ्चालन हुने प्रबन्ध रहेको छ। समितिमा प्राप्त चेकहरूमा रवि लामिछानेका एकल हस्ताक्षरका जारी चेकहरू धेरै रहेका छन्', प्रतिवेदनको निष्कर्ष खण्डमा लेखिएको छ, 'हस्ताक्षर लगायतको सम्पूर्ण प्रक्रियामा सहमति रहनु, आन्तरिक प्रशासन सञ्चालनमा प्रभावकारी भूमिका रहनु, सञ्चालकमध्येका रवि लामिछानेको नामबाट लेखा परीक्षण प्रतिवेदनमा उल्लिखित Equity Share Capital शीर्षकमा रकम समेत जम्मा भएको देखिनु र समितिसमक्ष सोधपुछका क्रममा उक्त रकम पेश्की लिई जम्मा गरेको हुँ भन्ने व्यहोरा लेखाएता पनि पेश्की लिएको खुल्ने आधार प्रमाण पेश गर्न सकेको नदेखिएको समेतको आधार प्रमाणबाट निज सञ्चालकहरू कम्पनीको जिम्मेवार भूमिका रहनु भएको देखिन्छ।'
समितिले कम्पनी चलाउने व्यक्तिलाई पैसा कहाँबाट कसरी आएछ भन्ने कुरा जान्नुपर्ने उल्लेख गर्दै रकमको स्रोतबारे कहिल्यै प्रश्न नउठाएको विषयलाई समेत उल्लेख गरेको छ।
'कम्पनी चलाउने रकम के-कहाँबाट आउँछ? कसरी आउँछ ? कति आउँछ ? भन्ने कुरा खाता सञ्चालन गर्ने सञ्चालकले जान्ने र बुझ्ने नै अवस्था हुने तथा निजहरूमध्ये कसैले रकमको स्रोतमाथि प्रश्न गरी कुनै विमति वा फरक मत दर्ज गराएको अवस्था समेत रहे/भएको नदेखिएको हुँदा निज सञ्चालकद्वय रवि लामिछाने र छविलाल जोशी कम्पनीमा जिम्मेवार पदाधिकारी रहुन्जेल निजहरूले सहकारीबाट आएको रकम खर्च वा परिचालन गरेवापत सिर्जना हुने उत्तरदायित्व बहन गर्नु पर्ने देखिन्छ।'
साथै समितिले रवि लामिछानेले बयानमा आफूले श्वेट शेयर पाएको उल्लेख गरे पनि उनको बयान बाहेक कुनै पनि सम्झौताको लिखत प्रमाण नरहेको जनाएको छ।
'समितिले कम्पनी रजिष्टारको कार्यालयको अभिलेखअनुसार लामिछाने र जोशी दुवै जनाले शेयर खरिद गरी कम्पनीमा प्रवेश गरेको र शेयर बिक्री गरी कम्पनी छाडेको भन्ने देखिन्छ। यद्यपि उहाँहरूको समिति समक्षको जबाफमा आफूहरूले पैसा नलिए-नदिएको भनी खुलाउनु भएको छ। शेयर खरिद बिक्री गर्दाका बखत कार्यालयमा पेश गरिएका कागजात एवं तिनमा भएका हस्ताक्षरको सम्बन्धमा भने दुवै जनाले कुनै असहमति जनाएको वा उक्त दस्तखत आफूले गरेको होइन भनी भनेको अवस्था छैन। कार्यालयको प्रमाणित अभिलेख अनुसार निजहरू दुवै जना शेयर रकम लगानी गरी सञ्चालकको भूमिकामा रहेको देखिन आउँछ। सञ्चालक तथा प्रबन्ध निर्देशक समेत रहनुभएका रवि लामिछानेले आफूलाई स्वेट शेयर दिएको भनी बताएता पनि प्रथमतः श्वेट शेयर सम्बन्धी कानूनी प्रबन्ध नेपालमा रहे वा भएको नदेखिएको तथा निज सञ्चालकहरूका बीचमा एकापसमा श्वेट शेयर लिने-दिने सम्बन्धमा कुनै सम्झौता भएको लिखत प्रमाण समेत रहे भएको अवस्था देखिँदैन। समिति समक्ष सोधपुछका क्रममा निज लामिछानेले शेयर सम्बन्धी प्रबन्ध निज गितेन्द्रबाबु राईले गर्ने सहमति भएको थियो भनी खुलाएको बेहोरा निजकै कथनबाहेक अर्को कुनै प्रमाणबाट समर्थित भएको अवस्था देखिँदैन।'
समितिले करार सम्बन्धी प्रचलित कानून अनुसार गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा त्यतिबेला भएको दायित्वका विषयबाट अध्यक्ष गितेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक सदस्य छविलाल जोशीले कम्पनीमा बहाल रहेको अवधिसम्मका लागि जिम्मेवारी र दायित्व लिनुपर्ने भनेको छ।
'निजहरू रवि लामिछाने र छविलाल जोशीले सोधपुछका क्रममा खुलाउनुभएको भौचर पेश गरिएको थियो तर रकम जम्मा भएको थिएन भन्ने बेहोराबाट कम्पनी रजिष्टारको कार्यालयमा गलत विवरण दिएको भन्ने देखिन्छ,' प्रतिवेदनमा भनिएको छ, 'तत्सम्बन्धमा कम्पनी रजिष्टारको कार्यालयकै क्षेत्राधिकार हुने हुँदा यहाँ बोलिरहनु परेन। यद्यपि रकम दाखिला नगरी भौचरको प्रमाणीकरण सम्बन्धित बैङ्कबाट कसरी भयो र कम्पनी रजिष्टारको कार्यालयले शेयरवापतको रकम लिनादिना भएको भन्ने कुरा के-कसरी यकिन गरेको हो भन्ने कुरा समेत देखिँदैन।'
'सहकारी संस्थाहरूबाट गोर्खा मिडिया नेटवर्क प्रा.लि. लगायतका कम्पनीहरूमा रकम प्रवाह भएको देखिन्छ। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि., सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि. सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लि., स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. र सानो पाइला बचत तथा ऋण सहकारी संस्था लि.बाट जम्मा रू. ६५,५४,०४,५३८ रकम गोर्खा मिडिया नेटवर्क प्रा. लि.मा प्रवाह भएको देखिन्छ। १९६ कतिपयले कम्पनीलाई सापटीका रूपमा, कतिमा कम्पनीलाई ऋणका रूपमा, कतिमा सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिमा कम्पनीका सञ्चालकको नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखियो। जुन विधि वा मार्ग अपनाइएको भएता पनि ती कारोबारहरू कानूनसम्मत देखिएनन्। सहकारीको बचत रकम सदस्यबाहेकमा कारोबार हुने वा रकम प्रवाह हुने परिकल्पना कानूनतः गरेको देखिँदैन। कानूनको एउटा मान्य सिद्धान्त के रहेको छ भने कानूनको अज्ञानता क्षम्य हुँदैन। तसर्थ, सहकारीबाट कुनै पनि कम्पनी वा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा सिधा रकम प्रवाह हुनु गैरकानूनी हो।'
सम्बन्धित समाचार:
समस्याग्रस्त सहकारीका संस्थागत र सञ्चालकको सम्पत्ति तत्काल रोक्का गर्न संसदीय समितिको सिफारिस
गोर्खा मिडियामा आएको सहकारीको ६५* करोडमा रवि लामिछानेको जिम्मेवारी रहने छानबिन समितिको ठहर