नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरूङले एक महिना अघिसम्म सम्बन्ध विच्छेद गरेकी श्रीमती ज्योति गुरूङको ऋण तिरिरहेको पाइएको छ।
सहकारीको १४ करोड ८१ लाख रुपैयाँ रकम अपचलन गरेको आरोप लागेकी ज्योतिको नाममा भएको ऋण धनराजले तिरेको रसिद छानबिन गर्न गठित विशेष समितिले प्राप्त गरेको छ।
सहकारीको रकम दुरूपयोगबारे छानबिन गर्न गठित विशेष समितिले मितेरी सहकारीसहित उपत्यकाका १३ सहकारीमा बिहीबार अनुगमन गरेको थियो। जसमध्ये १० वटा सहकारी बन्द थिए।
सहकारीका अध्यक्ष कुम्भराज गुरूङले सांसदहरूलाई धनराज र ज्योतिको सम्बन्धविच्छेद भए पनि उनीहरूले सहकारीबाट लिएको ऋण धनराजले नै तिरेको जानकारी समितिलाई दिएका थिए। ज्योति र धनराजको सम्बन्ध विच्छेद २०७६ सालमा भए पनि २०८१ सालसम्म पनि धनराजले ऋण तिरेको रसिदहरू समितिलाई सहकारीले दिएको छ।
अनुगमनमा पुगेका एक सांसदका अनुसार ज्योतिको कारोबारको ऋण धनराजले नै तिरेका थिए। ‘सम्बन्ध विच्छेद भएको कागज त छ तर ऋण फेरि त्यही सम्बन्ध विच्छेद भएको श्रीमतीको तिरिराख्नुभएको रहेछ’, ती सांसदले भने, ‘के सम्बन्ध विच्छेद भन्ने।’
अध्यक्ष कुम्भराजका अनुसार धनराजले २०७८ सालको चैत ४ गते ललितपुर महानगरापलिका वडा नं ५ मा रहेको ४ आना जग्गामा बनेको घर २ करोड ३५ लाखमा बेचेर केही ऋण चुक्ता गरेका थिए। उनी कानुन मन्त्री भएका बेलामा समेत सहकारीको ऋण तिरिरहेका थिए।
‘अहिले धनराज र ज्योतिको सबै ऋण तिरिएको छ,’ कुम्भराजले सेतोपाटीसँग भने, ‘समस्या भनेको सहकारीको पैसा अपचलनको हो। १४ करोड ८० लाख रकम अपचलन भएको छ। त्यो पैसा तिरे पुग्छ।’
शुक्रबार सेतोपाटीसँगको कुराकानीमा कुम्भराजले सहकारीको रकम अपचनलको विषयमा धनराजलाई स्पष्ट जानकारी भएको बताए।
सांसद गुरूङले श्रीमतीले गरेको अपचलनबारे आफूलाई जानकारी नभएको सेतोपाटीसँगको कुराकानीमा बताएका थिए।
‘धनराज र ज्योतिलाई एकै ठाउँमा राखेर हामीले मगर सेवा समाज, रानिबुमा छलफल गर्यौं। त्यहाँ ज्योतिले गल्ती स्वीकार गरिन्। उनले पैसा बैंकक गएको बताइन् र ल्याएर आना पाई हिसाब गर्छु भनिन्,’ कुम्भराजले भने, ‘धनराजले धुरूधुरू रूँदै छोरा इन्जिनियर भएको र अस्ट्रेलियामा गएको र पैसाको व्यवस्था विस्तारै मिलाउने बताए। उनले आफू अब सांसद भएकाले मौका पाउँदा सहयोग गर्ने र सहकारीलाई बचाउन भूमिका खेल्ने बताए।’
कुम्भराजका अनुसार ज्योतिलाई सहकारीमा धनराजकै आग्रहमा जागिर दिइएको थियो। सुरूआतमा अकाउन्टेन्टबाट जागिर सुरू गरेकी ज्योति २०७५ सालमा व्यवस्थापक बनेकी थिइन्।
‘हामीले सबै आर्थिक जिम्मेवारी व्यवस्थापकलाई नै दिएका थियौं,’ कुम्भराजले भने, ‘अहिले बढी विश्वास गर्यौं कि भन्ने लाग्छ।’
‘धनराजले अहिले सहकारीको अपचलनबारे आफूलाई थाहा छैन भनेका छन्। त्यसो भए घर बेचेर किन ऋण तिरेको, दुई महिना अघिसम्म पैसा बुझाएको छ, सम्बन्ध विच्छेद भएको भए पूर्वश्रीमतीको दायित्व किन बोक्ने त’, कुम्भराजको प्रश्न छ, ‘हामीले ऊसँग नमागेर कोसँग माग्ने त पैसा?’
धनराज गुरूङले पूर्वश्रीमती ज्योतिको विषयमा गरेको टिप्पणी कुम्भराजलाई बिझेको छ। धनराज र कुम्भराज दुबै स्याङ्जाको एकै ठाउँका हुन्।
‘आफ्नै श्रीमतीको समेत चरित्रहत्या गर्नेले अब मलाई के बाँकी राख्ला,’ कुम्भराजले भने, ‘आफ्नै श्रीमतीको क्रियाकलाप थाहा हुँदैन भनेर कसरी भन्न सकेको, अब यस्तो मान्छेले मेराबारे के मात्र भन्न सक्लान्।’
कुम्भराजले आफूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा ज्योति र धनराजको विषयमा उजुरी गरे पनि दर्ता भएको नम्बर अहिलेसम्म नपाएको बताए।
‘प्रहरीले धनराजको नाम हटाऊ अनि दर्ता गर्छु भनिराखेको छ भनेर सहकारीका साथीहरुले खबर ल्याउँछन्,’ कुम्भराजले भने, ‘हामीले ज्योतिको तीनपुस्ते उल्लेख गर्दा धनराजको नाम त राख्नै पर्यो नि।’
उनले संसदीय छानबिन समितिमा जान समेत आफूलाई सिआइबीले नै निर्देश गरेको बताए।
‘मलाई समितिमा जानु भनेर सिआइबीबाट खबर आएपछि गएको थिएँ,’ कुम्भराजले भने, ‘अहिले त संसदीय समितिका तर्फबाट १७/१८ जना आएर क्यामेरा राखेर खिचेर लगे।’
यी पनि:
सांसद धनराज गुरूङलाई प्रश्न– कारबाहीबाट बच्न तपाईंले श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप छ नि?
लेखा समिति सभापति पोखरेलकी श्रीमतीमाथि सहकारीको रकम अपचलन आरोप