संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको औंल्याएका छन्।
भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए।
उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने बताए। उनले उड्ययन क्षेत्रको अवस्थाबारे जानकारी लिइसकेको बताउँदै पुनःसंरचना (रिफर्म) को सुरूआत कहाँबाट गर्नुपर्छ भन्ने पनि बुझिसकेको बताए।
‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ। नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ। नेपाल एयरलाइन्सले नै रहेछ। नेपाल एयरलाइन्स जबसम्म सशक्त हुँदैन, जबसम्म प्रभावकारी हुँदैन, जबसम्म विश्वसनीय हुँदैन, तबसम्म अरू सुधार्न सक्दैन। अहिले एनएसी भन्छौं। अब मैले त्यसलाई आरएनएसी नै भन्ने विचार गरेको छ। आरएनएसी भनेको पुरानो रोयल होइन की, रिफर्म नेपाल नेपाल एयरलाइन्स हो। रिफर्म गरेपछि मात्रै यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ। नेपाल एयरलाइन्स रिफर्म भयो भने त्यसले नै बुद्ध एयरलाइन्सलाई नियमन गर्छ। टिकट बढी मूल्य लिन सक्दैन। त्यसले नै कतार एयरलाइन्सलाई नियमन गर्छ उसले पनि टिकटको पैसा बढी लिन सक्दैन। यो दिशामा अब हाम्रो संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा, रिफर्मको दिशामा जानका लागि हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ,’ उनको भनाइ छ।
सत्य र निष्ठाबाट बिचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउन कुनै कसर बाँकी नराख्ने उनले बताए।
त्यस्तै उनले भाषाको संरक्षण, सम्बद्र्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बनाउने उनको भनाइ छ।
भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले भाषाको मूल जरो उत्पादन भएको बताए। संस्कृति पनि भाषामै अड्किएको उनको कथन छ।
‘भाषाको मूल जरो हो– उत्पादन पद्धति। संस्कृति पनि त्यसैमा अडिएको हुन्छ। त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो। हामी हाम्रो उत्पादन पद्धति यदी समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन। हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ । हाम्रो भाषा पनि हराउँछ।’
अध्यक्ष ठाकुरले भाषा सर्भेक्षण गहिराइमा पुगेर गर्नुपर्नेमा जोड दिए। भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न आग्रह पनि गरे।
—न्युज एजेन्सी नेपाल