गएको स्थानीय तह चुनावमा जनकपुरको फोहोर व्यवस्थापन र सरसफाइ सबैभन्दा ठूलो मुद्दा थियो।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट टिकट नपाएपछि मनोज साह बागी उठेका थिए। मेयर लालकिशोर साहले गर्न नसकेको फोहोर व्यवस्थापन आफूले गर्ने भन्दै उनले चुनावमा खुबै प्रचार गरे।
उनले यो मुद्दासहित २१ बुँदे प्रतिबद्धता पत्र बनाएका थिए। आकर्षक योजना समेटिएको उनको प्रतिबद्धताले जनकपुरबासीको मन जित्यो।
निर्वाचित भएर कुर्सीमा बसेको आधा कार्यकाल बितिसक्दा उनले के गरे? हामीले यो स्टोरीमा उनले गर्न सकेका र नसकेका कामबारे भन्ने छौं। सबैभन्दा पहिले उनले के गरे भन्नेबाट सुरू गरौं।
उनको प्रतिबद्धताका २१ सूचीमध्ये फोहोर व्यवस्थापन र सरसफाइ मात्र होइन फुटपाथ व्यवस्थित बनाउने, साँस्कृतिक सम्पदाको मरमर्मत–सम्भार गर्ने, सुशासन र पारदर्शी हिसाबले काम गर्ने लगायतका कुरा पनि समेटिएका थिए।
मेयर साहले प्रतिबद्धता पत्रमा जनाएअनुसार गरेका कामबाट सुरू गरौं।
जनकपुरधामका सडकपेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटकमैत्री बनाइने भन्ने काम मुख्यबजारमा सुरू भएको छ। यो आधा कार्यकालमा उनी नेतृत्वको उपमहानगरले अस्पताल रोड, जानकी मन्दिर, शिवचोक भानु चोक, मिल्स एरिया, मुरली चोक, विश्वकर्मा चोक, क्याम्पस चोक‒एयरपोर्ट सडकखण्डमा फुटपाथ व्यवस्थित बनाएको छ। तर पनि सहरका धेरै सडक अझै व्यवस्थित गर्न बाँकी छन्।
छाडा चौपायाको व्यवस्थापन गर्न गौशाला निर्माणकाे काम भने उपमहानगरले सकेको छ। गुठी संस्थानको जग्गा भाडामा लिएर बनाइएको उक्त गौशालामा १०० चौपाया अटाउँछन्। तर जनकपुरमा कम्तीमा ५ सय छाडा चौपाया रहेको अनुमान गरिन्छ।
चुनावमा जोडतोडले उठाएर अहिलेसम्म सुरू गर्न नसकेको काम भने फोहोर व्यवस्थापन नै हो।
मेयर साहले फोहोरमैला व्यवस्थापन र सरसफाइका लागि ट्याक्टर बाँड्ने र केही जनशक्ति वडामा पठाउनेबाहेक केही काम गर्न नसकेको गुनासो सुनिन्छ। महानगरले २५ मध्ये २१ वटा वडालाई ट्याक्टर वितरण र केही जनशक्ति पठाएका छन्।
फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्याण्डफिल साइट बनाउने, वडावडामा फोहोर संकलन केन्द्र बनाउने उनको प्रतिबद्धता चुनावी वाचा पत्रमै सीमित छ।
जनकपुर बजारका मुख्य सडक सफासुग्घर देखिए पनि भित्र पस्नेबित्तिकै फोहोरका उरूङ देखिन थाल्छन्। वडा नम्बर ३, ४, ५, ६, ७, ८ ९, १० र ११ का अधिकांश खाली ठाउँमा वर्षौंदेखि फोहोर फालिँदै आएको छ। अस्पताल, स्कुल–कलेज वरिपरि पनि सडक किनारमै धेरै दिनदेखिको फोहोरको डंगुर नै देखिन्छ। दुर्गन्ध निकै परसम्म फैलिन्छ।
वर्षौंदेखि सफा नभएको वडा नम्बर‒८ स्थित दशरथ तलाउ छेउको वस्तीका बासिन्दा हुन् आशा मिश्र। फोहोर उठाउन कहिल्यै ट्याक्टर नआएपछि आफूहरूले मोहल्लाको खाली ठाउँमा फोहोर फाल्ने गरेको उनले बताइन्।
‘हाम्रो गल्लीमा कहिल्यै सफा गर्ने टयाक्टर आउँदैन। फोहोर कहाँ फाल्ने? मोहल्लाको सबै फोहोर वर्षौंदेखि यही खाली ठाउँमा फालिन्छ। हिँड्नुपर्दा गह्नाएर नाकै थुन्नुपर्छ। यहाँ जसको घरै अगाडी वर्षौंदेखि जम्मा भएका फोहोर गह्नाएको छ, त्यो मान्छे कसरी बस्छ, खाना खान्छ सोँच्नुस त? हामीलाई यहाँ बस्न गाह्रो भैसक्यो,’ उनले गुनासो गरिन्।
मेयर साहले भने मुख्य सडक सफाइको काम उपमहानगरपालिकाले गर्ने र भित्री सडक सफाइको जिम्मेवारी वडाध्यक्षहरूको रहेको बताउँछन्।
‘वडाले हप्ताको एक दिन नाला सफाइ र ६ दिन फोहोर उठाउनुपर्ने हो। हामीले टयाक्टर, जनशक्ति सबै वडालाई दिएका छौं। उपमहानगरले मुख्य सडक मात्रै सफा गर्छ। भित्री सडक किन सफा भएन वडाध्यक्षलाई सोध्नुस,’ उनले भने।
उपमहानगरको वडा नम्बर ९ का अध्यक्ष परमेश्वर साहले उपमहानगरपालिकाले दिएको स्रोत साधनले सफाइ गर्न नसकिएको बताउँछन्।
उनका अनुसार वडाको सफाइका लागि फोहोर फाल्ने निश्चित एवं स्थायी ठाउँका साथै कम्तीमा तीनवटा गाडी नभएसम्म फोहोर व्यवस्थापन सम्भव नभएको उनको भनाइ छ।
‘सफाइ कर्मचारीले दिनको एक टयाक्टर भन्दा धेरै फोहोर उठाएर फाल्न सक्दैन। जबसम्म हरके दिन साँझ बिहान टयाक्टर घुम्दैन, झाडु लाग्दैन, नयाँ नाला बन्दैन तबसम्म सफाइ सम्भवै छैन। फोहोर फाल्ने ठाउँ पनि टाढा पर्छ। उपमहाहनगरले फोहोर व्यवस्थापन गर्ने नीति बनाउनुपर्यो, त्यो नीति कार्यान्वयन गर्ने खाका बनाउनुपर्यो। फोहोर संकलन केन्द्र र ल्यान्डफिल साइट निश्चित हुपर्यो,त्यसपछि बल्ल हुन्छ नभए यो असम्भव हुन्छ,’ उनले भने।
अहिले संकलन भएका फोहोर उपमहानगरपालिकाले विभिन्न व्यक्तिसँग भाडामा लिएका जग्गामा फाल्ने गरेको छ।
फोहोर व्यवस्थापनको दिगो उपाय ल्यान्डफिल साइट नै रहेको तर त्यसमा आफू असफल भएको मेयर साह पनि स्वीकार गर्छन्।
यद्यपि यो असफलताकापछाडि उनले गुठी संस्थानको दोष देखाए। केन्द्रीय गुठी संस्थानले यतिका दिनसम्म जग्गा लिजमा दिन नमान्दा ल्यान्डफिल साइट निर्माण प्रक्रिया सुरू हुन नसकेको उनको स्वीकारोक्ति छ।
‘अब हामीले पब्लिक, प्राइभेट, पार्टनरसिप मोडेल (पिपिपी) मा कानुन बनाएर ल्यान्डफिल साइट बनाउने प्रक्रिया अघि बढाएका छौं,’ मेयर साहले भने, ‘सेनेटरी ल्यान्डफिल साइट बनाउन हामी असफल भएकाले सफाइका बाँकी काम हुन नसकेको हो। गुठी, प्रदेश र संघीय सरकारले हामीलाई सहयोग गरेको छैन। हामी संघर्ष गरिरहेका छौं।’
तर उनको कार्यशैलीकै कारण यो काम फत्ते नभएको कतिपयको भनाइ छ। वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीले ल्यान्डफिल साइटको काम मेयरकै कमजोरीका कारण बन्न नसकेको आरोप लगाए।
‘त्यत्रो पैसा फ्रिज भएर गइरहेको छ। गुठीले लिजमा जग्गा दिएन भने आफैले जग्गा किनेर गर्दा पनि हुन्थ्यो त! जानकी मन्दिरलाई ट्रष्टमा लाने, फुटपाथ व्यवस्थापन गर्ने, संस्कृति, पोखरी बचाउने काम गर्न एकदमै जरूरी छ। तर भइरहेको छैन,’ वडाध्यक्ष चौधरीले भने।
प्रतिबद्धतापत्रमै मेयर साहले जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्त्वका बाह्रबिघा (रंगभूमि) मैदानलाई स्वच्छ, सफा, हराभरा बनाउने योजनासमेत उल्लेख गरेका थिए। यसका साथै विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरण गर्ने, रमणीय ठाउँका रूपमा विकास गर्ने बताएका थिए।
तर यी दुबै काम अहिलेसम्म सुरू हुन सकेका छैनन्।
बाह्रबिघा वर्षमा विवाहपञ्चमीका बेला मात्रै सफाइ हुने गरेको छ। बाह्रबिघाको पूर्वपट्टि अस्पतालमा आउनेहरू र स्थानीयले अस्पतालको फोहोरले दुर्गन्धित बनेको छ। सरसफाइ नहुँदा अरूतिर पनि फोहोर उरूङ लागेको छ।
बाह्रबिघा सौन्दर्यीकरण पनि प्रदेश र संघीय सरकारको असहयोगको कारणले हुन नसकेको मेयर साहले आरोप लगाए।
‘बाह्रबिघा सौन्दर्यीकरणका लागि २८ करोड रूपैयाँ चाहिन्छ। हामीले डिपिआर बनाएका छौं। मुख्यमन्त्री र अर्थमन्त्रीलाई बजेट विनियोजन गरिदिन पत्र लेखेका छौँ। तर योजना राखिदिएनन्। प्रदेश सरकारले जहिल्यै पनि सहयोग गर्न तयार छौं भन्छ काम गरिदिँदैन। उपमहानगरको बजेटले भ्याउन सकिँदैन। अनि कसरी काम गर्ने?,’ साहले भने, ‘यही अवस्थामा बाह्रबिघाको सरसफाइ कहिल्यै व्यवस्थित हुन सक्दैन। किनभने वर्षामा पानी जम्छ, झारपात उम्रिन्छ। वर्षातको मौसम गइसकेपछि सफाइ कार्यक्रम गर्छौं। नोचा पोखरीमा मान्छेले पिकनिक गर्छन्। तर कन्टेनरमा फोहोर फाल्दैन। दुर्गन्धित तुल्याएर जान्छन्।’
त्यस्तै अर्को प्रतिबद्धता थियो, पार्किङको व्यवस्था गर्ने। त्यो पनि हुन सकेको छैन।पार्किङका लागि ठेक्का लिएको जग्गामा विवाद हुँदा अदालतमा मुद्दा परेपछि यसको काम अवरूद्ध बनेको हो।
प्रतिबद्धतापत्रमै कामकाज पारदर्शी बनाउने, आफूले गरेका कामबारे नागरिकलाई नियमित जानकारी दिने, भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने, प्रशासन यन्त्रलाई चुस्तदुरूस्त बनाउने, सेवा प्रवाह सहज बनाउन, उजुरी र गुनासा सुन्ने तथा तत्काल समाधान गर्ने हटलाइनको व्यवस्था गर्ने समेत बताएका थिए।
तर उनको कार्यकालमा उपमहानगरको वेबसाइट समेत अपडेट भइरहेको छैन। कार्यालयमा एउटा उजुरीपेटिका छैन। उपमहानगरपालिकाले नागरिक र मिडियामा सामान्य जानकारी समेत दिनसमेत आनाकानी गर्छ।
त्यस्तै उपमहानगरपालिका मातहतका कार्यालयहरू पनि अस्तव्यस्त छन्।
वडा कार्यालयहरूमा प्रशासनका कर्मचारी पठाउनु पर्ने ठाउँमा कतै कृषि शाखाका त कतै कम्प्युटर अपरेटरलाई वडा सचिवको रूमा खटाइएको छ।
यसले सेवा प्रवाह प्रभावित भइरहेको एक वडा सचिवले बताए। कृषि शाखाका छैठौं तहका गुरूदेवप्रसाद साह वडा नम्बर १९ का वडा सचिव, आयुर्वेदका छैठौं तहका कर्मचारी मनोजकुमार झालाई वडा नम्बर १ का वडा सचिव, कम्प्युटर अपरेटर देवनारायण यादवलाई १३ नम्बर वडाका वडा सचिव, यस्तै सुनील साहलाई वडा नम्बर ११ का वडा सचिवको रूपमा खटाइएको छ ।
सेवा समूह अनुसारले जिम्मेवारी पाएपछि मात्रै राम्ररी काम हुन सक्ने एक कर्मचारीले बताए।
‘कर्मचारीले सेवा समूहअनुसारले जिम्मेवारी पाएपछि मात्रै राम्ररी काम गर्नसक्छ। फरक सेवा समूहका कर्मचारीले काम गर्दा धेरै कुरा थाहा हुँदैन। पाँच जनाको काम गर्नुपर्ने ठाउँमा एकजनामै लट्काएका हुन्छन्। कतिपय अवस्थामा हुने काम पनि नगरिदिएको भन्दै दिनदिनै गुनासो आइरहेको हुन्छ,’ एक अधिकृतले भने।
त्यस्तै, उपमहानगरपालिकाको स्वास्थ्य शाखासमेत भद्रगोल छ। उपमहानगरभित्र छ्याप्छ्याप्ती कानुनविपरीत एवं बिनादर्ताकै अस्पतालहरू सञ्चालनमा छन्। त्यसको अनुगमन भइरहेको छैन। उपमहानगरको स्वास्थ्य चौकीहरूमा औषधि छैन। औषधिका लागि महानगरले एकदमै न्यून बजेट विनियोजन गर्ने गरेको स्यवम् कर्मचारी बताउँछन्।
यी कामहरू किन भएनन् भन्ने प्रश्नमा मेयर साहले कर्मचारी, बजेट एवं स्रोत–साधन अभाव रहेको बताउँछन्।
‘हामीलाई संघीयता आएको अनुभूति नै भएको छैन। सबै फाँटमा कर्मचारी अभाव छ। वडामा स्थायी कर्मचारीलाई सचिव बनाउन पाइन्छ। त्यसैले हामीसँग जे कर्मचारी छ उसैलाई सचिव बनाएर पठाएका छौं। यस्तो अवस्थामा सेवा प्रभावित हुनु स्वभाविक हो,’ मेयर साहले भने।
उनले प्रदेश लोक सेवा आयोगसँग कर्मचारी माग्दा पनि नपठाएको गुनासो गरे।
उपमहानगरपालिकाका धेरैजसो विद्यालयमा शिक्षक अभाव छन्। दरबन्दी मिलान कतै भइरहेको छ कतै हुन सकेको छैन। धेरै विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको छैन। मेयर साहले महानगरले दरबन्दी मिलान भइरहेको र भदौ महिनाभित्र सबै विद्यालयलाई व्यवस्थापन समिति गठन गर्न सर्कुरल गरेको बताएका छन्।
गरिबीको रेखामुनि रहेका व्यक्ति तथा परिवारहरूको पहिचान गरी उनीहरूको आर्थिक सबलताका लागि आवश्यक योजना बनाउने प्रतिबद्धतामा मेयर साहले केही काम गरेका छैनन्। उपमहानगरपालिकामा कति गरिब छन्, त्यसको तथ्यांक संकलन गर्ने प्राथमिक कामसमेत गरेका छैनन्।
उपमहानगरपालिकामा मेयर साह र कर्मचारीबीच काममा तालमेल मिल्न सकिरहेको छैन।
गएको आर्थिक वर्षमा मात्रै जनकपुरधाम उपमहानगरमा पाँच जना प्रमुख प्रशासकीय अधिकृत र तीनजना लेखा अधिकृत फेरिए।
२०८० को साउन र भदौमा रत्नेश शशी प्रशासकीय अधिकृत थिए। त्यसपछि आएका उपसचिव सुमनकुमार कार्की ६ महिना बसे। उनी झण्डै दुई महिना तालिममै बाहिर रहे।
उनीपछि आएका उपसचिव टेकराज पन्थी लामो समय बस्नै सकेनन्। गुणस्तरहीन काम भएको केही योजनामा भुक्तानिका लागि मेयरबाट दबाब आएपछि आफू हिँडेको उनले संचारकर्मीलाई प्रतिक्रिया दिएका थिए। ।
‘गुणस्तरहीन काम भएको योजनाको भुक्तानी, अनधिकृत कामहरूको लागि दबाब आउँदा मैले थेग्न सकिन। म कार्यालय छाडेर मन्त्रालयमा प्रमाणसहित हाजिर भएँ’, पन्थीले भनेका थिए।
उनीपछि प्रशासकीय अधिकृतको रूपमा सत्यनारायण साह हाजिर भए।
उनी ३/४ दिन भन्दा कार्यालय हाजिर भएनन्। उनी सरूवा भएर गएपछि शिक्षा शाखाका मेहिलाल यादवलाई निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
मेयरको व्यवहारका कारण प्रशासकीय अधिकृतहरू बस्न नसकेको कर्मचारीहरू बताउँछन्। गत आर्थिक वर्षमा मेयरका स्वकीय सचिव मनोज महतो, राज साह लगायतले कार्यालयमै लेखा शाखामा काम गरिरहेका कम्पयुटर अपरेटर सुनील गुप्तामाथि हातपातै गरेका थिए।
‘मेयरको घरमा पर्दासहित करिब डेढ लाखको सामान गएको थियो। त्यसको भुक्तानी विवादले सुनीलमाथि हातपात भयो। घरको सामानको भुक्तानी गर्न भन्दा कसले मान्छ? भोलि कसैले उजुरी दियो भने कर्मचारी फस्छ, भुक्तानी गरेन भने मेयरका मान्छेले कुट्छन्। अनि कर्मचारी कसरी टिक्छ,’ उपमहानगरपालिकाका एक अधिकृतले भने।
उनका अनुसार मेयरले हातपात गर्नेलाई कारबाही गर्ने बताएपछि यो विवाद साम्य भएको थियो। यद्यपि तिनीहरूलाई कुनै कारबाही भएन।
मेयर साहले भने कर्मचारी नटिक्ने कुरामा समेत सत्यता नरहेको दाबी गरे। आफूले दिनरात उपमहानगरपालिकाको विकास र हकहितका लागि खटिरहेको उनको भनाइ छ।
उनलाई हामीले अहिलेसम्म गरेका मुख्य पाँचवटा विकासका कामहरू के के हुन् भनेर सोधेका थियौं। उनले अव्यवस्थित पार्किंङका लागि गरेको प्रयास, छाडा चौपायाका लागि गौशाला निर्माण, रंगभूमी मैदान सौन्दर्यकरणको डिपिआर र केन्द्रीय गुठी संस्थानसँग विभिन्न काम गर्न जग्गा लिन प्रयास नै हुन् भनेर बताए।
मेयरले साहले एसियाली विकास बैंकसँग ऋण एवं अनुदान सहयोगमा जनकपुरमा एकीकृत सहरी विकास आयोजना कार्यान्वयनको भइरहेको तयारीलाई समेत आफ्नो प्रमुख कामको सूचीमा राखेका छन्।
‘सबा दुई अर्बको एकीकृत सहरी विकासको योजना कार्यान्वयन भएपछि जनकपुरमा काम भएको देखिन्छ,’ उनले भने ।
मेयर साहले अफूले सकेजति काम गरिरहेको दाबी गरे पनि यहाँका स्थानीय उनको कामबाट सन्तुष्ट छैनन्। उनकै पार्टीका वडाध्यक्षहरू समेत उनको काम कारबाहीको खुलेर आलोचना गरिरहेका छन।
वडा नम्बर ९ का गुलाबकिशोर यादवले मेयरले चुनावमा गरेको प्रतिबद्धता अनुसार काम नगर्दा उपमहानगरपालिका महाननगरमा परिणत हुन नसकिरहेको बताउँछन।
‘काठमाडौं, भक्तपुर, ललितपुरपछि जनकपुर नगरपालिका बन्यो। त्यसपछि नगरपालिका बनेका सहरहरू महानगरपालिका बनिसके तर यहाँ त्यसका लागि यहाँ काम भइरहको छैन। मेयरले न सरसफाइमा काम गर्नुभएको छ, न उपमहानगरको आयस्रोत बढाउन नै भूमिका खेल्नुभएको छ। उहाँबाट धेरै अपेक्षा थियो तर निकै सुस्त हुनुहुन्छ,’उनले भने।
जनकपुरधाम उपमहानगरपालिका ११ का वडाध्यक्ष अर्जुन चौधरीले पनि मेयरले काम नगरेपछि आफूहरूले जनताको गाली सुन्नुपरेको सुनाए। उनले बोर्ड बैठकबाट भएका निर्णयसमेत मेयरले कार्यान्वयन गर्न चासो नदेखाएको बताए।
‘सर्वसम्मतिले भएका निर्णय कार्यान्वयन गर्ने मेयरको दायित्व हुन्छन। तर उहाँको निर्णय गर्ने तर कार्यान्वयन नगर्ने प्रवृति छ। ठाउँ–ठाउँमा कर्मचारी अभाव छ, बोर्ड बैठकबाट नियुक्त गर्ने, दरबन्दी मिलान गर्ने लगायतका धेरै निर्णय हुन्छ तर कार्यान्वयन हुँदैन,’ उनी भन्छन, ‘हामीले विकासका काम होस भनेर आँखा चिम्लेर सहयोग गरेका छौं तै पनि काम भइरहेको छैन। पैसा फ्रिज (निष्क्रिय) भएको भयै छ। जनतामा निरासा छाएको छ। वडाका योजनाहरू अहिलेदेखि नै सुरू गर्दा न सबै सम्पन्न हुन्छ । तर असारमा मात्रै कम गर्ने उहाँको प्रवृत्ति नै भइसक्यो।’