मध्यपश्चिम विश्वविद्यालयमा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सक्रिय हुने भएको छ। यही भदौ २८ गते विश्वविद्यालयको केन्द्रीय विभाग र एक आंगिक क्याम्पसमा स्ववियु निर्वाचन हुने तयारी छ।
विश्वविद्यलयको केन्द्रीय विभाग स्ववियु निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गरेको छ।
मध्यपश्चिम विश्वविद्यालयको मुख्यालय सुर्खेतको वीरेन्द्रनगरमा रहेको छ।
निर्वाचन प्रक्रिया गत साउन ३१ गते सुरू भएको हो। संघ–संगठन दर्ता, मतदाताको प्रथम नामावली प्रकाशन, नामावलीमा दाबीविरोध, छानबिन र अन्तिम नामावली प्रकाशनको काम पूरा भएको छ।
उम्मेदवारको मनोनयन, उम्मेदवारमाथि दाबीविरोध र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको काम पनि पूरा भएको छ।
निर्वाचन तालिकाअनुसार भदौ १२ देखि २५ गतेसम्म प्रचारप्रसार अवधि तोकिएको छ। मौनअवधि २५ गते राति १२ बजे सुरू हुनेछ। भदौ २८ गते बिहान साढे ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत उपप्राध्यापक त्रिभुवन बिसीका अनुसार केन्द्रीय विभागमा निर्वाचनका लागि ९ वटा संघ–संगठन दर्ता भएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु, वैदिक साम्य संघ (विद्यार्थी), अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), देवदत मञ्च नेपाल, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेपाल क्रान्तिकारी विद्यार्थी संघ दर्ता भएका छन्।
केन्द्रीय विभाग अन्तर्गत अध्यक्ष पदमा ६ जना, सचिव पदमा ५ जना, कोषाध्यक्ष पदमा ५ जना र सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको छ।
विश्वविद्यालयको स्ववियु निर्वाचन कार्यविधिमा स्ववियु कार्यसमिति १७ सदस्यीय रहने व्यवस्था छ। यसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी तीन जना पदाधिकारी र १४ जना सदस्य आम मतदाताको मतबाट निर्वाचित हुन्छन्।
सदस्यहरूमध्ये सात जना प्रत्यक्ष निर्वाचनबाट र सात जना समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ। दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यहरू मध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ।
यसरी कार्यसमितिमा पाँच जना पदाधिकारी र १२ जना सदस्य रहन्छन्।
स्ववियु निर्वाचनको अन्तिम नामावलीअनुसार केन्द्रीय विभागहरूमा तीन हजार ३९० जना मतदाता छन्।
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निष्क्रिय रहेको ६ वर्ष भयो। अहिले विश्वविद्यालयमा रहेका विद्यार्थी संघ–संगठनहरूको दबाबका कारण निर्वाचन हुन गालेको हो।
स्ववियुको यही निर्वाचन डेढ वर्षअघि (२०७९ चैत ३ गते) हुने मिति तोकिएको थियो। मतदानको पाँच दिनअघि उच्च अदालत, सुर्खेतमा रिट परेपछि निर्वाचन स्थगित भएको थियो।
रिटमा उच्च अदालत चैत १ गते सुनुवाइ गर्दै निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो।
व्यवस्थापन संकायका विद्यार्थीहरूले आफूहरू पनि निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग गरेर रिट दायर गरेका थिए।
विश्वविद्यालयले व्यवस्थापन संकायलाई मिडवेस्ट युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (मुसोम) नाममा स्वायत्त शैक्षिक संस्था मानेको छ। मुसोममा स्ववियुझैं ‘विद्यार्थी काउन्सिल’ रहेको छ।
गत साउनमा विद्यार्थी संगठनहरूले विश्वविद्यालयका पदाधिकारीलाई निर्वाचन गराउन ध्यानाकर्षण गराएका थिए।
उच्च अदालतले मुसोममा विद्यार्थी काउन्सिल रहने भएकाले स्ववियु निर्वाचनमा सहभागी हुन नपर्ने फैसला गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउन सहज भएको हो।
मध्यपश्चिम विश्वविद्यालयमा पहिलोपटक २०७३ सालमा निर्वाचनबाट स्ववियु गठन भएको थियो।
२०६७ मा ऐन बनेपछि स्थापना भएको विश्वविद्यालयले २०६९ सालमा पठनपाठन सुरू गरेको थियो। त्यसको चार वर्षपछि स्ववियु निर्वाचन भएको थियो।
२०७३ साल भदौ १२ गते झक्कबहादुर शाही केन्द्रीय विभागमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। स्ववियु कार्यसमितिको पदावधि साढे दुई वर्षको हुने व्यवस्था छ।
तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले स्ववियु कार्यसमितिको कार्यकाल पूरा नहुँदै २०७५ सालमा विघटन गरिदिएका थिए।
उपकुलपति कोइरालाले विश्वविद्यालयका तत्कालीन रजिस्ट्रार महेन्द्रकुमार मल्ललाई २०७५ मंसिर १९ गते निलम्बन गरेका थिए। स्ववियुले निलम्बनको विरोध गरेपछि कोइरालाले विघटन नै गरिदिए।
‘हाम्रो कार्यकाल बाँकी हुँदै स्ववियु विघटन गरिएको छ भनेर पत्र आएको थियो, मैले त्यो पत्र बुझिनँ,’ तत्कालीन अध्यक्ष शाहीले भने, ‘त्यसपछि कार्यकाल सकिँदासम्म विश्वविद्यालय पदाधिकारीहरूसँग हाम्रो छलफल भएन।’
रजिस्ट्रारलाई निलम्बन गरेको विरोधमा स्ववियुले प्रदर्शन गर्दा विश्वविद्यालयको सम्पत्ति तोडफोड गरेको आरोपमा पदाधिकारीहरूविरूद्ध उजुरी परेको थियो।
प्रहरीले अध्यक्ष र अन्य पदाधिकारीहरूलाई पक्राउ पनि गरेको थियो।
पदावधि सकिएर कोइराला बिदा भएको चार महिनापछि २०७६ फागुनमा नन्दबहादुर सिंह उपकुलपति भएर आए। उनले तीन वर्षसम्म पनि विश्वविद्यालयमा स्ववियु निर्वाचन गराउन चासो देखाएनन्।
पूर्वअध्यक्ष शाहीले भने, ‘उहाँ (सिंह) आएपछि स्ववियुका बारेमा हामीसँग कुनै पनि छलफल भएन। आफूनिकटका संगठनलाई बोलाएर छलफल गरेको भए हामीलाई थाहा भएन।’
तत्कालीन उपकुलपति सिंहले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहँदा निर्वाचनको मिति (२०७९ चैत ३ गते ) तोके तर रिटमा भएको आदेशका कारण केन्द्रीय विभागमा निर्वाचन रोकियो। विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमध्ये ९ वटामा सोही तालिका अनुसार निर्वाचन भयो।
अदालतको आदेशपछि केन्द्रीय विभाग र दैलेखको नारायण क्याम्पसको चुनाव स्थगित भएको थियो। यसपटक नारायण क्याम्पसमा पनि स्ववियु निर्वाचन हुनेछ।
उपकुलपति सिंहको पदावधि २०८० फागुन १७ गते सकियो। गत वैशाख १८ गतेयता ध्रुवकुमार गौतम उपकुलपति रहेका छन्।