नेपाली कांग्रेसले पार्टीबाट संघीय सरकारमा सहभागी भएका मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा छलफल गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १० जना मन्त्री र दुई जना राज्यमन्त्री छन्। यी सबै मन्त्री र राज्यमन्त्रीहरूले आफूले मन्त्रालय सम्हालेपछि गरेका कामबारे एक-एक गरी पार्टीका शीर्ष पदाधिकारीहरूलाई ब्रिफिङ गरेका हुन्।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शनिबार अपराह्न ५ बजेदेखि सवा १० बजेसम्म मन्त्रीहरूले कामकाज र झेल्नु परेका समस्यामा केन्द्रित रहेर ब्रिफिङ गरेका हुन्।
मन्त्रीहरू र राज्यमन्त्रीहरूले सभापति देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्री गगन थापालाई सरकारमा गएको एक महिनाको अवधिमा गरेका काम र झेल्नु परेका समस्याबारे सुनाएको एक मन्त्रीले जानकारी दिए।
कांग्रेस र एमालेबीच गत असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसहित ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए भने त्यसको भोलिपल्ट कांग्रेसका १० जनासहित २२ जना मन्त्रीहरूले शपथ लिएका थिए।
संघीय सरकारमा कांग्रेसका १०, एमालेका प्रधानमन्त्रीसहित ९, जनता समाजवादी पार्टीका २, लोसपाका १ र कांग्रेसका २, नागरिक उन्मुक्ति पार्टीका एक राज्यमन्त्री छन्। तीन राज्यमन्त्री भने गत साउन १८ गते नियुक्त भएका थिए।
कांग्रेसबाट उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु देउवा, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिला, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री छन्।
साथै रूपा विक वन तथा वातावरण र पूर्णबहादुर तामाङ ऊर्जा राज्यमन्त्री छन्।
मन्त्रीहरूले बधाई लिँदा सिंहदरबार र मन्त्री निवासमा समेत भिडभाड हुने गरेको आलोचना भएको थियो। कामकाज सुरू नगर्दै धेरै भाषण गर्ने गरेको भन्दै पनि मन्त्रीहरूको आलोचना भएपछि कांग्रेसका पदाधिकारीहरूले नै मन्त्रीहरूलाई काममा ध्यान दिन भन्नु परेको थियो।
साउन २९ गतेको प्रतिनिधि सभा बैठकमा बोलेका महामन्त्री गगन थापाले मन्त्रीहरूलाई काममा ध्यान दिन आग्रह गरेका थिए। खादामाला लगाउने र बधाई थाप्दैमा साउन महिना बितेको उल्लेख गरेका महामन्त्री थापाले मन्त्रीहरूलाई भदौ महिना मौन बसेर काम गर्न भनेका हुन्।
यो पनि: मन्त्रीहरूलाई गगन थापाले भने- चमत्कार गर्छु भनेर दिनहुँ भाषण गर्ने होइन, काम गर्नुस्
महामन्त्री थापाले मन्त्रीहरूले दिनहुँजसो यो गर्छु, त्यो गर्छु भनेर भाषण गरिरहेको पनि बताए। ‘मन्त्रीजीहरूको इच्छाशक्ति भयो, नियत राख्नुभयो भने काम हुन्छ। भदौ एक महिना हाम्रा मन्त्रीजीहरूले नबोल्ने र उद्घाटन नगर्ने ब्रत लिइदिनुस्,’ थापाले सदनमै भनेका थिए।
यसपछि पनि मन्त्रीहरूको कार्यशैलीमा फरक नआएपछि कांग्रेसले आफ्ना १२ मन्त्रीलाई बोलाएर छलफल गरेको हो। मन्त्रीहरूका कार्यशैली सुधार गर्दै काममा केन्द्रित हुन कांग्रेसका शीर्ष पदाधिकारीहरूले आग्रह गरेका छन्।
सरकारमा पठाएका मन्त्रीहरूले काम गर्न नसक्ने हो भने संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले झन् जनतामा निराशा ल्याउन सक्ने भएकोले समयमै काममा ध्यान दिन कांग्रेसले मन्त्रीहरूलाई निर्देशन नै दिएको छ।
कांग्रेसभित्र पार्टीसँग समन्वय नगरी मन्त्रीहरूले काम गर्ने गरेकोमा पनि बेलाबखत असन्तुष्टिका स्वर सुनिन्छन्।
पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा उपसभापति पूर्णबहादुर खड्कासहित मन्त्रीहरू भएका बेला पनि केन्द्रीय सदस्यहरू र सांसदहरूले मन्त्रीहरू समन्वयबिना नै अघि बढ्को भन्दै असन्तुष्टि जनाएका थिए। त्यसबेला अर्थमन्त्री रहेका प्रकाशशरण महतले केन्द्रीय सदस्यहरूका कुरा नसुनेको गुनासो थियो।
साउन २३ गतेदेखि २८ गतेसम्म सानेपामा चलेको केन्द्रीय समिति बैठकमा पनि केन्द्रीय सदस्यहरूले मन्त्रीहरूलाई पार्टीसँग समन्वय गरेर मात्रै अघि बढ्न सुझाव दिएका थिए। यो केन्द्रीय समिति भदौ ७ गते बस्ने गरी स्थगित छ।
यसबीचमा सभापति देउवासहित पदाधिकारीहरूले मन्त्रीहरूका कामकाज र पार्टीसँग समन्वयका विषयमा ध्यानाकर्षण गराएका हुन्।
‘कांग्रेसका मन्त्रीहरू पार्टीसँग समन्वयबिनै चल्ने गरेको गुनासा आएपछि महामन्त्री थापाको अग्रसरतामा सभापतिसहित पाँच जना पदाधिकारी र मन्त्री तथा राज्यमन्त्रीहरूबीच कुराकानी गरेका हौं,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘मन्त्रीहरूसँग अबदेखि महिनामा कम्तीमा दुई पटक यस्तो छलफल गर्छौं।’
सभापति देउवाले पनि मन्त्रीहरूलाई पार्टीले समन्वय गरिदिनुपर्ने विषयहरू छन् भने मन्त्रीहरूले यस्तो बैठकमा राख्न सक्ने बताएका छन्।
‘पार्टीसँग पनि समन्वय गरेर अघि बढ्नुपर्छ, परिणाम दिने गरी तपाईंहरूले काम गर्नुपर्छ,’ सभापति देउवाका भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘तपाईंहरूले सम्हालेका मन्त्रालयलाई पार्टीले केही सहयोग गर्न परे गरिहाल्छ।’
उपसभापति पूर्णबहादुर खड्काले मन्त्रीहरूसँगको कुराकानी नियमितजस्तै रहेको बताए।
आफ्ना मन्त्री तथा राज्यमन्त्रीहरूसँग कुराकानी गर्नुअघि शनिबार दिउँसो सभापति देउवाले प्रधानमन्त्री ओलीसँग कुराकानी पनि गरेका थिए। कांग्रेस र एमालेबीच असार १७ मा भएको सहमतिमा पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने सहमति छ।