हमासका शीर्ष नेता इस्माइल हनियेको हत्या भएपछि दशकौं पुराना दुश्मन इरान र इसराइलबीच फेरि तनाव बढेको छ।
हमासको राजनीतिक विभागका प्रमुख ६१ वर्षीय हनियेको जुलाई ३१ मा इरानको राजधानी तेहरानमा हत्या भएको थियो। हनियेको हत्या इसराइलले गरेको आरोप हमासले लगाएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले नेपालका दस जना र केही विदेशीका साथै १२ सय इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि इसराइलले गजामा सैन्य कारबाही सुरू गरेर हमासलाई सिद्ध्याउने घोषणा गर्यो। त्यसैले पनि हनियेको हत्या इसराइलले नै गरेको मानिएको हो। तर इसराइलले अहिलेसम्म यसको जिम्मेवारी लिएको छैन।
सिमाना नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ। सिरियामा बसर अल असदको सरकारलाई पनि सैन्य सहायता दिने इरानले आफूले परिचालन गरेका विभिन्न समूहलाई 'एक्सिस अफ रेजिस्टेन्स' (प्रतिरोधको अक्ष) भन्छ।
यही वर्ष जुलाई ३१ मा यी समूहका शीर्ष नेताहरू इरानी राष्ट्रपति पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेका थिए। हनिये पनि शपथ ग्रहण समारोहमा सरिक भएका थिए। सोही दिन उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई पनि भेटेका थिए।
हनियेको हत्या भएको केही घन्टाअघि इसराइलले लेबननको राजधानी बेरूतमा हवाइ आक्रमण गरी हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो। जुलाई २७ मा गोलन हाइट्समा १२ बालबालिकाको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन शुक्रको हत्या गरेको इसराइलले बताएको छ।
आफ्ना राष्ट्रपतिको शपथ ग्रहणमा आएका विशिष्ट पाहुनामध्येका एक हनियेको हत्या भएपछि इरानलाई त्यसको जबाफ दिनुपर्ने दबाब परेको छ। द न्यूयोर्क टाइम्सका अनुसार सर्वोच्च नेता खमेनीले इसराइलमा आक्रमण गर्न आदेश दिइसकेको इरानी अधिकारीहरूले बताएका छन्।
इसराइलमाथि लेबननबाट हिजबुल्लाह, यमनबाट हुथी र इराकबाट विभिन्न समूहहरूले एकैपटक हमला गर्ने इरानले जनाएको छ। आफ्ना सर्वोच्च सैन्य कमान्डरको हत्या भएकाले हिजबुल्लाह पनि इसराइलसँग बदला लिन खोजिरहेको छ।
इरान र ऊबाट परिचालित हिजबुल्लाह लगायत समूहले इसराइलमा एकैपटक आक्रमण गरे भने भीषण युद्ध हुने सम्भावना छ।इसराइललाई एकैपटक आइपर्न सक्ने आपत आकलन गरेर उसलाई सहयोग गर्न अमेरिकाले थप युद्धपोत र लडाकु विमानहरू पठाइसकेको छ। अमेरिकाले दिएका हतियार आक्रमण गर्ने र रोक्ने दुवै काममा उपयोगी हुनेछन्। यसकारण इरानले हमला गरे पनि इसराइलमा धेरै क्षति नहुन सक्छ।
इरान र इसराइलबीच युद्धको खतरा बढेको गत अप्रिल १ देखि हो।
सो दिन इसराइलले सिरियाको राजधानी दमास्कसस्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा हवाइ आक्रमण गरेको थियो। सो आक्रमणमा कुद्स फोर्सका जनरल मोहम्मद रेजा जाहेदीसहित सात इरानी सैन्य अधिकृत मारिएका थिए।
करिब दुई सातापछि यसको जबाफ दिँदै इरानले थुप्रै मिसाइल र ड्रोनहरूबाट इसराइलमाथि आक्रमण गर्यो। इसराइलले भने खास नोक्सान नहुने गरी इरानमा आक्रमण गरेर सांकेतिक जबाफ मात्रै दियो। त्यो बेला इसराइलले इरानमाथि ठूलो हमला गर्ने योजना बनाएको थियो। तर अमेरिका लगायत देशको दबाबपछि सांकेतिक आक्रमण मात्रै गर्यो।
इरानी हमलालगत्तै इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त हमलाबाट सफलतापूर्वक आफ्नो रक्षा गर्न सक्नुलाई नै जित मानेर अघि बढ्न भनेका थिए। ठूलो आक्रमण गरेमा इरान फेरि जबाफ दिन बाध्य हुने र यो प्रकरण थप गिजोलिएर युद्ध हुन सक्ने भनेर अमेरिका लगायत पश्चिमा राष्ट्रले इसराइललाई सम्झाएका थिए। यसपछि इसराइलले सांकेतिक आक्रमण मात्रै गरेकाले युद्ध टरेको थियो।
अब भने युद्धको सम्भावना बढेको टिप्पणी हुन थालेको छ।
किनेभने, यसपटक इसराइलले राजधानीमै आक्रमण गरेर 'पाहुना' मारेकाले कडा जबाफ दिन इरानमाथि दबाब छ। अघिल्लो पटक आफ्ना जनरल मार्दा कडा जबाफ नदिएकैले इसराइलको हौसला बढेको र आफ्नो राजधानीमै पसेर हमला गरेको इरानको ठम्याइ छ।
उसलाई लागेको छ — अब पनि कडा जबाफ नदिए, जे गरे पनि केही गर्दैन/गर्न सक्दैन भन्ठानेर इसराइल झन् आक्रामक बन्नेछ। निरन्तर आफूलाई हेपिरहने छ।
त्यसैले अब हिजबुल्लाह, हुथीसहितका विभिन्न समूहबाट इसराइलमा एकैपटक हमला गराएर कडा जबाफ दिने योजना इरानले बनाएको हो।
तर इरानलाई थाहा छ — इसराइल ऊभन्दा शक्तिशाली छ। अमेरिका लगायत पश्चिमा देशहरूको सहयोगमा आफ्नो हमला इसराइलले बारम्बार विफल पारेको छ। केही गरी युद्ध भयो र इसराइल हार्नै लाग्यो भने उसका तर्फबाट लड्न अमेरिका आउँछ। तर आफ्नो तर्फबाट आफूबाट परिचालित तिनै समूहबाहेक कोही आउँदैन।
रूस युक्रेनसँगको युद्ध लडिरहेकाले चाहेर पनि इरानलाई सघाउन आउँदैन। विगत चार दिनदेखि युक्रेनले रूसको कुर्स्क क्षेत्रमा धेरै भित्र पसेर कब्जा गरेकाले अहिले रूसको सारा ध्यान त्यता छ। युद्ध लड्नु, हतियार दिनु त परको कुरा रूसले अहिले इरानलाई समय दिन पनि सक्दैन। चीनले त कम्युनिस्ट शासन सुरू भएपछि, सात दशकअघि छिमेकको उत्तर कोरियाका लागिबाहेक अरू कसैका लागि युद्ध लडेको छैन। इरानका लागि त्यति टाढा सेना पठाएर अमेरिकासँग लड्न ऊ चाहँदैन।
त्यस्तै अहिलेको अवस्थामा इरान होस् वा उसले चलाएको सबभन्दा शक्तिशाली समूह हिजबुल्लाह, इसराइल होस् वा उसलाई भरथेग गर्ने अमेरिका, कोही पनि युद्ध होओस् भन्ने चाहँदैनन्।
पछिल्ला वर्षमा इरानको अर्थतन्त्र र सामाजिक व्यवस्था कमजोर छ।
आणविक हतियार बनाउने प्रयास गरेको लगायत कारण देखाएर अमेरिकाले उसमाथि नाकाबन्दी लगाएको थियो।
त्यस्तै सही तरिकाले हिजाब नलगाएको आरोपमा 'आचरण' पालना गराउने पुलिसले पक्राउ गरेको एक युवतीको खोरमै मृत्यु भएपछि देशैभरिका महिला विरोधमा उत्रिएका थिए। सन् २०२२ सेप्टेम्बरपछि सुरू भएको व्यापक विरोध प्रदर्शन बल्लतल्ल नियन्त्रणमा आएको छ।
अर्कातिर त्यहाँका सर्वोच्च नेता ८५ वर्षीय आयातोल्लाह अली खामेनी बिरामी छन्। उनको उत्तराधिकारी को हुने भनेर टुंगो लागेको छैन। मृत्यु नहुञ्जेल एकलौटी रूपमा इरानमा शासन गर्न पाउने सर्वोच्च नेताको चयन विज्ञहरूको सभाले गर्छ। सर्वोच्च नेता पदका लागि मुख्य दाबेदार यसअघिका राष्ट्रपति इब्राहिम रइसी र खमेनीका माइला छोरा मोज्तबाका थिए। रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यो दौडमा मोज्तबा मात्र छन्।
त्यसैले यो बेलामा, सर्वोच्च नेता खमेनी आफूपछि छोराले एकलौटी शासन गर्ने चाँजोपाँजो नमिलाएर इसराइलसँग आत्मघाती युद्धमा होमिने सम्भावना छैन। यो युद्ध देशका लागि घातक हुन्छ भन्ने उनले बुझेका छन्। यति मात्र होइन, सन् १९७९ को इस्लामिक क्रान्तिदेखि कायम रहेको कट्टरपन्थी तानाशाही व्यवस्थाका लागि पनि घातक हुन्छ। त्यसैले इसराइलसँग युद्धै हुने गरी कडा जबाफ इरानले दिने छैन।
इरानले कडा जबाफ नदिए इसराइललाई पनि युद्ध हुने गरी प्रत्याक्रमण गर्ने बहाना मिल्दैन।
केही इसराइली कट्टरपन्थीहरूले इरानद्वारा सञ्चालित हिजबुल्लाह र हमासले सधैं दुःख दिएकाले बरू इरानलाई नै ध्वस्त पार्नुपर्ने भन्दै आएका छन्।
तर युद्धै सुरू गर्न इसराइललाई पनि सजिलो छैन। इसराइली सेना हमाससँग युद्ध गर्दा गर्दा थाकेको छ। उत्तरतर्फ हिजबुल्लाहले गर्ने सम्भावित आक्रमणको प्रतिकार गर्न हम्मे हम्मे परिरहेको छ। यस्तोमा इसराइली सेनाले अहिले इरानसँग युद्ध गर्न सक्दैन।
कतिपयले इसराइली प्रधानमन्त्री नेतन्याहुले व्यक्तिगत स्वार्थका कारण इरानसँग युद्ध छेड्न सक्ने आशंका पनि व्यक्त गरेका छन्।
तर यो सम्भावना पनि बलियो छैन।
सेनाले हमाससँग युद्ध विराम गर्नू भन्दा पनि नेतन्याहुले युद्ध लम्ब्याइरहेको कतिले दाबी गरेका छन्। हमाससँग युद्ध रोकिएपछि, २०२३ अक्टोबर ७ को हमला रोक्न नसकेको कारण उनको पद नै जाने खतरा पनि छ। पद गयो भने पहिल्यैदेखि चलिरहेको भ्रष्टाचार मुद्दामा उनी जेल जाने सम्भावना छ। त्यसैले, इरानले कडा आक्रमण नगरेको अवस्थामा नेतन्याहु युद्धमा जान खोजे भने उनकै सेनाले रोक्नेछ। सेनाले नसके अमेरिकाले रोक्ने छ।
अमेरिका पनि युद्ध होस् भन्ने चाहँदैन। रूससँग लड्न युक्रेनलाई र इसराइललाई हमाससँग लड्न हतियार दिन नै अमेरिकालाई हम्मेहम्मे परेको छ। यस्तोमा इरानसँगै युद्ध भए थप हतियार त दिनै पर्छ, आफै सेना पठाएर इसराइलको तर्फबाट लड्नु पर्ने हुन्छ। फेरि अमेरिकामा उसै पनि युरोप र मध्य-पूर्वमा नअल्मलिएर सारा ध्यान उदाउँदो चीनलाई नियन्त्रण गर्न लगाउनुपर्नेमा सबै एकमत छन्। नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि युद्ध भए तेलको भाउ बढेर अर्थतन्त्रमा थप असर पार्नेछ। त्यसैले अहिले युद्ध होस् भन्ने अमेरिका चाहँदैन।
अमेरिकाले अहिले इसराइल र हमासको युद्धविराम गराउन भरमग्दुर प्रयास गरिरहेको छ। यहीबीच हमासका शीर्ष नेता हनियेको हत्या भएपछि अमेरिकाले इसराइलसँग असन्तुष्टि पोखेको छ। पश्चिमा मिडियाहरूका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले 'हुनै लागेको युद्धविराम भाँडिने गरी हनियेको हत्या किन गरेको भनेर' प्रधानमन्त्री नेतन्याहुसँग असन्तुष्टि पोखिसकेका छन्। अब इसराइलले युद्ध सुरू गरे अमेरिकाले हतियार र सहयोग रोकिदिन सक्छ। यो जोखिम इसराइलले लिन सक्दैन, चाहँदैन।
अहिले पनि गजामा युद्धविराम भए इरान-इसराइल तनाव पनि कम हुन्छ भनेर अमेरिका, कतार र इजिप्टले अर्को हप्ता निर्णायक वार्तामा बस्न इसराइल र हमास दुवैलाई आह्वान गरेका छन्।
अमेरिकाले युद्ध नहोस् भनेर पहिले इरानी आक्रमणको कडा जबाफ नदिन नेतन्याहुलाई सम्झाएको थियो। अहिले हनियेको हत्याको बदलामा ठूलो हमला नगर्न इरानलाई सम्झाइरहेको छ।
अमेरिकी अनलाइन पत्रिका पोलिटिकोका अनुसार अमेरिका अहिले इसराइलले इरानभित्र लडाकु विमान पठाएर खुला हमला नगरेको, गोप्य रूपमा रिमोट कन्ट्रोलबाट हनियेको हत्या भएको भनिरहेको छ। त्यस्तै कुनै इरानी होइन, प्यालेस्टिनी नागरिक हनियेको हत्या गरिएकाले ठूलो जबाफी हमला नगर्नू भन्दै अमेरिकाले इरानलाई सम्झाइरहेको छ।
भोलि युद्ध भयो भने अमेरिकाले इसराइललाई सघाउँछ र आवश्यक परे इरानविरूद्ध आफै लड्छ। इरानलाई यो कुरा थाहा भए पनि नजरअन्दाज गर्ला कि भनेर अमेरिकाले हालै इसराइललाई सहयोग गर्न थप युद्धपोत र लडाकु विमान पठाएर पनि सम्झाएको छ।
छिमेकी अरब देशहरूले पनि इरानलाई सम्झाइरहेका छन्। शिया बहुल इरानको प्रमुख प्रतिद्वन्द्वी सुन्नी बहुल साउदी अरेबियाले बुधबार मुस्लिम देशहरूको बैठक राखेर हनियेको हत्याको कडा भर्त्सना गर्यो। इरानी सार्वभौमिकताको ठाडो हनन भएको भन्यो।यसरी इरानलाई ढाडस दिँदै साउदी अरेबिया लगायत मुस्लिम राष्ट्रले यसलाई धेरै नबढाएर संयम अपनाउन पनि अपिल गरेका छन्। इरानलाई युद्ध गर्न सहयोग गर्ने वचन नदिएर नेतन्याहुले युद्ध चाहेको भन्दै उनको इच्छा पूरा नगर्न इरानलाई भनेका छन्।
इरानले अप्रिलमा जबाफी आक्रमण गर्दा, यसबारे छिमेकी देशहरू र अमेरिकालाई ७२ घन्टाअघि नै सूचना दिएको दाबी गरेको थियो। अहिले पनि त्यसरी नै पूर्वसूचना दियो भने इसराइलमा ठूलो क्षति हुने छैन। सांकेतिक क्षति मात्र गराए पनि इरानले आफ्नो बदला पूरा भएको भन्दै साख जोगाउन सक्नेछ। इसराइलले पनि पहिलेजस्तै जबाफमा सांकेतिक हमला गरेर यसपालि पनि युद्ध टार्न सक्नेछ।
इसराइलले हिजबुल्लाहलाई पनि सन्देश पठाएको समाचारहरू आएका छन्। यदि हिजबुल्लाले सर्वसाधारण मारिने गरी हमला गर्यो भने लेबनन नै ध्वस्त पार्ने गरी जबाफ दिने भनेर इसराइलले सन्देश पठाएको छ। इसराइलको चाहना हिजबुल्लाहले पनि सांकेतिक हमला मात्रै गरोस् भन्ने हो।
यसका बाबजुद इसराइललाई सबै इरानी मिसाइल रोक्न मुस्किल हुन सक्छ। केही मिसाइल घना बस्तीमा वा कुनै संवेदनशील ठाउँमा खसेर ठूलो क्षति हुन सक्छ। त्यसो भयो इसराइलले पनि कडा जबाफ दिन सक्छ। अनि दुई देशबीच युद्ध हुने खतरा भने रहिरहन्छ!
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्)