पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको अधिकार कटौती हुने गरी संविधान संशोधनको दुस्साहस नगर्न कांग्रेस-एमालेलाई चेतावनी दिएका छन्।
सोमबार साँझ विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले माओवादी संविधान संशोधनको विरोधी नभएको तर जनअधिकार कटौती हुने गरी गरिने संशोधन दुस्साहस मात्रै हुने बताएका हुन्।
'हामी आफै पनि संविधान संशोधनको विरोधी होइनौं,' उनले भने, 'तर कांग्रेस र एमालेले गर्न खोजेको संविधान संशोधन र हामीले चाहेको संशोधन फरक हो। यसमा १८० को फरक छ।'
विद्यमान निर्वाचन प्रणालीमा सुधार आवश्यक छ भन्ने आफूहरूलाई पनि लागेको उल्लेख गर्दै उनले भने, 'उहाँहरूले सोचेको संशोधनको मनसाय र हाम्रो फरक छ। हामी अझ समावेशी बनाउन संविधान संशोधन भन्छौं, उहाँहरू कटौती गर्न भन्नुहुन्छ। झण्डै झण्डै दुई पार्टी भनेर पश्चिमा लोकतन्त्रको नक्कल गर्ने दुस्साहस गर्दै हुनुहुन्छ।'
सोमबार मात्रै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिँदै देश छाडेको घटनाबारे पत्रकारहरूले सोध्दा उनले त्यसको उत्तर पनि कांग्रेस र एमालेतिर लक्षित गरेरै दिए।
'मैले त्यसबारे धेरै बुझ्न त पाएको छैन,' प्रचण्डको भनाइ थियो, 'तर म यत्ति चाहिँ भन्छु, हामीसँग बहुमत छ, जे गरे पनि हुन्छ भनेर शासकहरूले ठानियो भने दुर्भाग्यपूर्ण हुनेछ भन्ने नेपाली शासकहरूले बुझ्दा हुन्छ।'
उनले वर्तमान सरकार बिचौलिया र दलालहरूले चलाइरहेको समेत आरोप लगाए। राज्यलाई अर्बौं नोक्सानी हुने गरी विद्युत महसुल छुट दिने तयारी भइरहेको भन्दै उनले भने, 'हुन त जसको सिता खाई, उसैको गीता गाई भन्ने हुन्छ। सरकार र लेखा समिति सभापतिको बाटो गलत छ। विद्युत महसुल छुट दिने दुस्साहस सरकारले नगरोस्।'
लेखा समिति सभापति आफ्नो दलले पाउनुपर्ने बताउँदै उनले थपे, 'संसदीय परम्परा अनुसार लेखा समिति सभापति प्रतिपक्षी दलले पाउँछ। हामीले लेखा समिति पाउनुपर्छ।'
‘