सहकारी पीडितहरूले बिहीबार बिहान मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेका छन्।
करिब तीन महिनादेखि लगातार आन्दोलनमा रहेका पीडितहरूले सहकारीमा फसेको आफ्नो रकम फिर्ता ल्याउन कुनै काम नभएको भन्दै आन्दोलन गरेका हुन्। गत जेठ १० गतेदेखि उनीहरू लगातार आन्दोलनमा बसेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा आबद्ध रहेर मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले आन्दोलनमा समर्थन जनाउँदै आएका छन्।
महासंघका अनुसार यी पीडितहरूले सहकारीहरूबाट कुल दुई खर्ब ५० अर्ब बराबरको रकम प्राप्त गर्न बाँकी छ।
यसअघि गत चैत ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र पीडितहरूबीच समस्या समाधानको लागि सहमति भएको थियो।
पीडितहरूबाट सहभागिता रहने गरी अधिकार सम्पन्न छानबिन समितिको गठन गर्ने, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई सुदृढीकरण गरेर समस्याग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सम्पत्ति र दायित्वको व्यवस्थापन गरेर पीडितहरूको बचत फिर्ता गर्ने लगायतका सम्झौता भएको थियो।
बचत हिनामिनामा संलग्न सहकारी व्यवस्थापनका कर्मचारी लगायतलाई कारबाही गर्ने, सहकारीको बचत तथा कर्जा सुरक्षण कोषको स्थापना, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणको स्थापना लगायतका सम्झौता पनि भएका थिए।
हाल सरकारले सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समेत बनाएको छ। एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा बनेको यो समितिले सरोकारवाला निकायहरूसँग छलफल गर्दै आएको छ।
सरकारले यसअघि समस्या समाधानको लागि राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा बनाएको कार्यदलले समाधानका लागि विभिन्न सुझाव दिएको थियो।
यसमा सहकारीहरूलाई २०८० कात्तिकभित्र बचत फिर्ता कार्ययोजना पेस गर्न लगाउने, मंसिर मसान्तसम्म स्वेतपत्र जारी गर्न लगाउने र चैतभित्र बचत फिर्ता गर्न सुरू गर्ने गरी काम गर्न सुझाव दिएको थियो।