हमासका शिर्ष नेता इस्माइल हनियेको इरानमा हत्या भएको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानको मङ्गलबार भएको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेको हमासको राजनीतिक विभागका ६१ वर्षीय प्रमुख हनियेको हत्या भएको हो।
इरान र हमास दुवैले हत्याको पुष्टि गरेका छन् तर कसरी भयो भन्नेबारे थप विवरण सार्वजनिक गरेका छैनन्।
उनको हत्याको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन। तर हमासले भने हत्या इसराइलले गरेको दाबी गर्दै त्यसको बदला लिने बताएको छ।
अक्टोबर ७, २०२३ मा हमासले नेपालका दस र अरू केही विदेशी लगायत १२०० इसराइलीको ज्यान जाने गरी इसराइलमा आक्रमण गरेको थियो। त्यसपछि गजामा सैन्य कारबाही सुरू गरेको इसराइलले हमासलाई सिध्याउने घोषणा गरेकाले इसराइलले नै हत्या गरेको अनुमान गरिएको छ।
इसराइलको खुफिया संस्था मोसादले गरेका हत्याहरूको जिम्मेवारी इसराइलले प्रायजसो नलिने भएकाले इरानमा भएको यो हत्या उसले गरेको भए पनि जिम्मेवारी लिने सम्भावना कम छ।
इसराइलले लेबननको राजधानी बेरूतमा हिजबुल्लाह समूहका सर्वोच्च सैन्य कमाण्डरको हवाई आक्रमणमा हत्या गरेको केही घण्टामै हनियेको हत्या भएको हो।
इसराइली नियन्त्रणमा रहेको गोलन हाइट्समा जुलाई २७ मा १२ केटाकेटीहरूको ज्यान जाने गरी भएको रकेट हमलाको बदला लिन इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमाण्डर फुआद शुक्रको हत्या गरेको बताएको छ।
इरानको इसराइलसँग सिमाना नजोडिए पनि इरानले इसराइललाई घेराबन्दी गर्न छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहहरूलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि प्रहार गराउँछ। सिरियामा बसर अल असदको सरकारलाई पनि सैन्य सहायता दिने इरानले आफूले परिचालन गरेका विभिन्न समूहलाई 'एक्सिस अफ रेजिस्टेन्स' (प्रतिरोधको अक्ष) भन्छ।
यी समूहका शिर्ष नेताहरू इरानी राष्ट्रपति पेजेस्कियानको मङ्गलबार भएको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेका थिए। हनिये शपथ ग्रहण समारोहमा सरिक मात्रै नभएर उनले मङ्गलबार नै इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीलाई पनि भेटेका थिए।
यसरी केही घण्टा अघिसम्म इरानका सर्वोच्च नेतासँग रहेका हनियेको तेहरानमै हत्या भएपछि इरानका शिर्ष नेताहरू समेत कति सुरक्षित छन् भन्ने प्रश्न पनि उठेको छ।
हनिये र हिजबुल्लाहका सर्वोच्च सैन्य कमाण्डर शुक्रको केही घण्टाको अन्तरालमा हत्या भएपछि के गर्ने भनेर इरानमा उच्च तहको बैठक आजै बस्ने जनाइएको छ।आफ्नो भूमिमा पाहुना भएर हमासका शिर्ष नेताको हत्या भएपछि साङ्केतिक रूपमा मात्रै भए पनि जबाफ फर्काउन इरानमाथि दबाब हुनेछ।
हनिये सन् २०१७ मा हमासको राजनीतिक प्रमुख घोषित भएका थिए। त्यसको दुई वर्षपछि दोहामा कतारी सरकारको आतिथ्य स्वीकारेर बस्दै आएका हनियेको पछिल्लो समयमा गजामा रहेका हमासका लडाकूमाथि पकड कमजोर भएको थियो। तर पनि अन्तर्राष्ट्रिय समुदायका लागि उनी नै हमासको अनुहार र मुख्य नेता मानिन्थे। दोहामै बसेर उनी हमासलाई गाजामा सरकार चलाउन र हतियार किन्नका लागि पैसाको व्यवस्था मिलाउँथे।
हनियेको ठाउँमा सन् २०१७ मा हमासको गजा प्रमुख बनेका याह्या सिन्वरले लडाकूलाई आफ्नो पूर्ण नियन्त्रण कायम गरेका छन्। सन् २००६ मा अपहरणमा परेका आफ्ना सैनिक जिलाद शालितलाई छुटाउन २०११ मा १०२७ प्यालेस्टिनीलाई रिहा गर्दा इसराइलले छोडेका सिन्वर पदमा हनियेभन्दा कनिष्ट भए पनि लडाकूमा उनको प्रभाव छ र उनलाई नै अक्टोबर ७ को हमलाको प्रमुख योजनाकार मानिन्छ।
उनले हमासका सैन्य कमाण्डर मोहम्मद देइफसँग मिलेर हनियेलाई समेत जानकारी नदिइकनै इसराइलमा हमला गर्ने योजना बनाएको मानिन्छ।
आफूहरू गजामा रही ज्यानको बाजी लगाएर इसराइलको प्रतिरोध गरिरहँदा हनिये लगायत राजनीतिक विभागका नेता भने दोहामा कतारको आतिथ्यमा मोज गरिरहेको ठान्ने सिन्वरले नै पछिल्लो समयमा इसराइलसँग भइरहेको वार्ताहरूमा निर्णय लिइरहेको मानिन्छ।
अक्टोबर ७ को हमलाका लागि कुनै न कुनै दिन इसराइलले आफूलाई मार्नेछ भन्ने बुझेका सिन्वरले युद्धविरामका लागि कडा शर्तहरू राखिरहेको बुझिएको छ।
दोहामा मोज गरेर बसेको आरोप लागे पनि अक्टोबर ७ को हमलाको बदलामा इसराइलले चलाइरहेको सैन्य कारबाहीमा परेर गजामा हनियेका तीन छोरा र चार नाति-नातिनी गत अप्रिलमा मारिएका थिए।
दुई हप्ताअघि इसराइलले गजामा हमासका सैन्य कमाण्डर मोहम्मद देइफको पनि हवाई आक्रमण गरेर हत्या गरेको दाबी गरेको थियो। सो हत्याको अहिलेसम्म स्वतन्त्र पुष्टि भएको छैन भने गजा मुनि रहेका सुरूङ्मा लुकेर बसेको हमासले पनि उनी जीवित छन् भन्ने कुनै प्रमाण पेश गरेको छैन।
यदि देइफ मारिएकै हुन् भने हमासका तीन मुख्य नेतामध्ये अब सिन्वरमात्रै जीवित छन्।
वार्ताका लागि सिन्वरभन्दा हनिये लचिलो रहेको र हमासमा उनी नरमपन्थी रहेको मानिन्थ्यो। गजाको शाती शरणार्थी शिविरमा सन् १९६३ मा जन्मेका हनिये कलेज पढ्दा पछि गएर हमास बनेको समूहमा सामेल भएका थिए।
सन् १९८७ मा भएको पहिलो इन्तिफादा अर्थात् आन्दोलनपछि शेख अहमद यासिनले हमास गठन गरेदेखि नै उनी हमासमा आबद्ध थिए। यासिनका चेला मानिने हनियेलाई कैयौं पटक इसराइलले जेल हालेको थियो। अर्कोतर्फ यासिनसँग निकटताका कारण उनले हमासमा छिटो-छिटो तरक्की गरे।
सन् २००३ मा यासिनको हत्या गर्न इसराइलले असफल प्रयास गर्दा उनीसँगै थिए। त्यसको एक वर्षपछि इसराइलले यासिनको हत्या गरेपछि पनि उनको हमासभित्र प्रगति कायम रह्यो।
इसराइलले २००५ मा गजा छोडेपछि त्यहाँ हमासको पकड बलियो हुँदै गयो। सन् २००६ मा हमासले प्यालेस्टिनी संसदीय चुनावमा सबैभन्दा बढी सिट जितेपछि उनी प्यालेस्टिनी प्रधानमन्त्री बनेका थिए। तर गजाको नियन्त्रणका लागि युद्ध गरेर फताह दललाई २००७ मा हमासले लखेटेपछि फताहका नेता तथा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले उनलाई बर्खास्त गरेका थिए।
त्यसपछि गजामा हमासको एकछत्र शासन थियो भने अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको प्यालेस्टिनी सरकार राष्ट्रपति अब्बासले नेतृत्व गरेको फताहले 'वेस्ट ब्याङ्क' मा शासन गरिरहेको थियो।
हनिये २०१७ सम्म गजाको हमास प्रमुख रहे। त्यसपछि उनको बढुवा भएर हमास प्रमुख भएपछि सिन्वरले गाजामा प्रभाव विस्तार गर्न थाले। दुई वर्षपछि हनिये दोहामा बस्न थालेपछि सिन्वरलाई गजाका लडाकूमा प्रभाव बढाउन झन् सजिलो भयो।
अहिलेको अवस्थामा गजाभित्र युद्ध मैदानमा खासै प्रभाव नभए पनि उनी नै हमासका मुख्य नेता थिए। तुलनात्मक रूपमा नरम मानिएका उनको हत्या भएपछि युद्ध विराम गर्न थप मुश्किल पर्नेछ।
अर्कोतर्फ इरानको राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान गएका बेलामा उनको हत्या भएकाले इरान र इसराइलको सम्बन्ध थप बिग्रिनेछ।
इसराइलले अप्रिल १ मा सिरियास्थित इरानी दूतावास परिसरमा रहेको वाणिज्य दूतावास भवनमा हवाई आक्रमण गरी तीन जनरलसहित सात इरानी सैन्य अधिकृत मारेपछि युद्धको संहारमा पुगेका इरान र इसराइलबीच युद्ध हुने खतरा फेरि बढेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)