लुम्बिनी प्रदेशको मन्त्री छनोटमा पार्टीले आफूहरूलाई बेवास्ता गरेको भन्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश कमिटीले असन्तुष्टि जनाएको छ।
बुधबार लुम्बिनी प्रदेश सरकारमा सहभागी हुन पार्टी केन्द्रबाटै नाम सिफारिस गरिएको र प्रदेश कार्य समितिलाई पूर्णतया बेवास्ता गरिएको प्रति असन्तुष्टि जनाएको हो।
प्रदेश सभापति अमरसिंह पुनले विज्ञप्ति जारी गर्दै संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान अनुसार प्रदेश पार्टीको अन्तरसम्बन्ध, अन्तरसमन्वय र सहअस्तित्वमा सरकार गठन गर्नुपर्ने प्रावधान कुल्चिँदै निरंकुश शैलीमा मन्त्री छनोट गरिएको भन्दै आपत्ति जनाएका हुन्।
पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गरिएको सो विज्ञप्तिमा नेपाली जनतामा संघीयता र प्रदेश संरचनाप्रति वितृष्णा पैदा भइरहेको बेला नेपाली कांग्रेसका कार्यकर्ताहरूको भावना विपरीत निरंकुश शैलीमा केन्द्रबाटै मन्त्रीहरू छनोट गरिएको प्रति प्रदेश कार्य समितिको ध्यानाकर्षण भएको उल्लेख छ।
केन्द्रको निरंकुश शैलीले पार्टीको प्रदेश संरचना कमजोर बन्ने भन्दै अहिले गरिएको निर्णय पुनर्विचार गर्न पनि आग्रह गरिएको छ। पार्टी नेतृत्वले पुनर्विचार नगरे वैधानिक प्रक्रियाविरूद्ध गरिएको कार्यका विरूद्ध यथोचित निर्णयमा पुग्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
बुधबार लुम्बिनी प्रदेशका मन्त्रीहरूको नाम सिफारिसमा संस्थापन पक्षले एकलौटी निर्णय गरेको संस्थापन इतर समूहको आरोप छ। प्रदेश सरकारमा नेपाली कांग्रेसको भागमा परेका पाँच जना मन्त्रीमा तीन जना संस्थापन पक्षका पठाए पनि दुई जना आफ्नो पक्षका पठाउनुपर्ने संस्थापन इतर समूहको दाबी थियो।
मंगलबार राती अबेरसम्म जन्मजय तिमिल्सिना, प्रचण्ड विक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापा पाँचै जनाले शपथ लिने तय भए पनि संस्थापन इतर समूहको विरोधपछि अन्तिम समयमा तिमिल्सिनाको नाम काटिएको थियो। उनीहरूमध्ये न्यौपानेबाहेक संस्थापन पक्षका हुन्।
लुम्बिनी प्रदेशका सभापति पुन पनि संस्थापन इतर समूहका हुन्।