एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता र प्रमुख सचेतकले राजीनामा दिएका छन्।
दलको नेता छोडेर उपनेतालाई मुख्यमन्त्री बनाउन एमाले केन्द्रबाट निर्देशन आएपछि एमाले नेता कार्यकर्ता असन्तुष्ट थिए।
बुधबार दलको उपनेता चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त भएपछि दलको नेता लीला गिरी र प्रमुख सचेतक तुलसी चौधरीले राजिनामा दिएका हुन्।
संसदीय दलका नेता तथा पार्टी पोलिट्ब्युरो सदस्य लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको एमालेले एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको थियो।
गिरीले दलको उपनेतालाई मुख्यमन्त्री बनाउने निर्णय आएपछि नै दलको नेताबाट राजीनामा दिने भन्दै एमाले अध्यक्ष केपी शर्मालाई फोन गरेका थिए। जवाफमा ओलीले तपाईंलाई न्याय हुन्छ राजीनामा नदिनुस् भनेपछि मंगलबार अबेरसम्म रोकिएका थिए। तर मंगलबार राजीनामा पठाएको गिरी निकट श्रोतले जानकारी दियो।
गिरीसँगै प्रमुख सचेतक तुलसी चौधरीले पनि राजिनामा दिएका हुन्। दलको नेताले राजीनामा दिएमा प्रमुख सचेतक पनि स्वतः हट्ने वैधानिक व्यवस्था छ।
गिरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने मुख्यमन्त्री नियुक्त भएका आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन्।