लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री आचार्य र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको शपथ लिएलगत्तै प्रदेशका अन्य मन्त्रीहरूले पनि शपथ लिएका थिए।
नेपाली कांग्रेसबाट प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी र सरोज थापाले मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
त्यस्तै, एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्।
नवनियुक्त मन्त्रीहरूको कार्यविभाजन टुंगो लागेको छैन। मन्त्रालय टुंगो नलागेकाले उनीहरूले विनाविभागीय मन्त्रीकै रूपमा शपथ लिएका थिए।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गएको असार १७ गते भएको सहमतिअनुसार लुम्बिनी प्रदेशमा नेकपा (एमाले) संसदीय दलका उपनेता रहेका आचार्यको नेतृत्वमा सरकार गठन भएको छ।
नयाँ सत्ता समीकरणअनुसार गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका ५ र नेकपा एमालेका मुख्यमन्त्री सहित ५ जना मन्त्री बनेका छन्। अन्य २ वटा मन्त्रालय नयाँ सत्ता समीकरणमा सहभागी हुने साना दललाई दिइने भएको छ।
लुम्बिनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ।
प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलका रूपमा रहेको नेकपा एमालेसँग १८ जना प्रत्यक्ष र ११ जना समानुपातिक गरी २९ जना सांसद छन् भने नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्।
सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले दुई दल मिल्दा मात्रै पनि लुम्बिनी प्रदेश सरकार बनाउन प्रयाप्त बहुमत पुग्छ तर, नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोकतान्त्रीक समाजवादी पार्टीका ३ जना र जनता समाजवादी पार्टीका ३ जना गरी थप १० जना सत्ता समीकरणमा सहभागी हुने भएका छन्।
प्रदेशमा तेस्रो ठूलो दलको रूपमा रहेको नेकपा माओवादी केन्द्र यसपटक प्रतिपक्षीको भूमिकामा रहने छ।
माओवादी केन्द्र सँग ७ जना प्रत्यक्ष र ३ जना समानुपातिक गरी सभामुख बाहेक १० जना सांसद छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ जना, राष्ट्रिय जनमोर्चाका १, एकीकृत समाजवादी पार्टीका १ जना र स्वतन्त्र १ जना सांसद पनि लुम्बिनी प्रदेशमा प्रतिपक्षी सांसदको रूपमा रहने छन्।