संसदीय दलको नेता छोडेर एकाएक लुम्बिनीको मुख्यमन्त्रीमा नाम परिवर्तन गर्न पार्टी केन्द्रको निर्देशन आएपछि एमालेभित्र व्यापक असन्तुष्टि देखिएको छ।
सोमबार बिहान ९ बजेसम्म संसदीय दलका नेता तथा पार्टी पोलिटब्युरो सदस्य लीला गिरीलाई मुख्यमन्त्री बनाउने तयारी गरेको एमालेले एकाएक गिरीको नाम हटाएर संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रबाट निर्देशन आएपछि नेता तथा कार्यकर्ताहरूमा असन्तुष्टि देखिएको हो।
एमाले कार्यकर्ता देवराज पोखरेलले पार्टी भित्र स्वच्छ र इमान्दार छवी बनाएका पाका नेता लिला गिरीलाई गुटकै कारण मुख्यमन्त्री नबनाइएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्।
पोखरेलले एमाले उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसँगै नाम जोडिएकै कारण उनलाई हटाएर संसदीय दलका उपनेतालाई मुख्यमन्त्री बनाउन पार्टी केन्द्रले निर्देशन दिएको बताएका छन्।
‘कमरेड विष्णु पौडेल तपाईंसँग नाम जोडिएकै कारणले लुम्बिनीमा संसदीय दलका नेतालाई ‘स्याक’ गरियो। आफूसँग नाम जोडिएका कार्यकर्ताहरूको कत्लेआम हुँदा कहिलेसम्म टुलुटुलु हेरेर बस्ने हो? पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
एमाले बुटवल उपमहानगरका सचिवालय सदस्य यादव भण्डारी पनि गुटगत राजनीतिका कारण रूपन्देही एमालेलाई कमजोर बनाउन लागिएको प्रतिक्रिया दिए। भण्डारीले महासचिव शंकर पोखरेल पार्टीभित्र हावी प्रदेशको राजधानी र राजनीति दुवै बिगारेको बताएका छन्।
‘लुम्बिनी प्रदेशको राजधानी त बिगार्यौ अब राजनीति पनि बाँकी नराख, पावर स्थायी हुँदैन ख्याल रहोस्,’ सामाजिक सञ्जाल फेसबुकमा भण्डारीले लेखेका छन्।
गिरी पार्टीभित्र उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् भने आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन्।
गिरीले पनि पार्टी केन्द्रले चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन एकाएक निर्देशन दिएपछि असन्तुष्टि व्यक्त गरेका छन्। उनले आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय संसदीय मूल्य–मान्यता विपरीत भएको टिप्पणी गरे।
‘यो निर्णय संसदीय मूल्य अनुरूप र विधिसम्मत भएन भनेर मैले माथी भनिसकेको छु,’ गिरीले भने।
गिरीले संसदीय मूल्य मान्यताविपरीत पार्टीले निर्णय गर्दा इमान्दार कार्यकर्ता अन्यायमा पर्ने र सिंगो पार्टी नै कमजोर बन्ने पनि बताए।
गिरीले मुख्यमन्त्रीमा चेतनारायण आचार्यको नाम आएपछि आफैले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेको बताए। टेलिफोन कुराकानीमा ओलीले गिरीलाई यसपाली यस्तै भयो भनेका थिए। गिरीले आफू संसदीय दलको नेता भएपनि पार्टी केन्द्रले हस्तक्षेप गरेको बताए।
आइतबार माओवादीका जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजिनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले सोमबार साँझ साढे ६ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका थिए।
सोही अनुरुप प्रमुख सचेतक तुलसी चौधरीले लीला गिरीलाई मुख्यमन्त्रीको लागि दाबी पेश गर्न कागजात बनाउँदै गर्दा एमाले महासचिव शंकर पोखरेलले आचार्यलाई मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि एकाएक नाम परिवर्तन गरिएको हो।
एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टीका महासचिव शंकर पोखरेलले फोन गर्दै चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउन भनेपछि सोही अनुसार नाम परिवर्तन गरिएको बताए।
‘यो पार्टी केन्द्रबाट आएको निर्देशन हो, बिहान महासचिव कमरेडले पार्टीको निर्णय हो चेतनारायणजीलाई मुख्यमन्त्री बनाउनुप¥यो भनेपछि हामीले पार्टी केन्द्रको निर्देशन पालना गरेका हौं,’ उनले भने।
कँडेलले अन्तिम समयमा किन लीला गिरीको नाम हटाएर चेतनारायण आचार्यको नाम सिफारिस गरियो भन्ने आफूलाई जानकारी नभएको बताए।
एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले संसदीय दलको नेता प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने परम्परा भए पनि उपनेता पनि मुख्यमन्त्री बन्न सक्ने बताए।
उनले बहुदलीय व्यवस्थामा दल प्रमुख हुने भएकोले दलको निर्णय मान्नुपर्ने बताए। हाम्रो परम्परा संसदीय दलको नेता नै प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने परम्परा छ तर, उपनेता पनि मुख्यमन्त्री बन्नुहुँदैन भन्ने छैन बहुदलिय व्यवस्थामा दल प्रमुख भएकोले दलको निर्देशन पालना गर्नु हाम्रो जिम्मेवारी हो,’ उनले भने।