बागमतीमा नेपाली कांग्रेसले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको छ।
मुख्यमन्त्री शालिकराम जम्कट्टलेले विश्वासको मत नपाउने भएपछि कांग्रेसले आइतबार नै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेको हो।
कांग्रेसको बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रामकृष्ण चित्रकारले दलका नेता बहादुरसिंह लामालाई मुख्यमन्त्री नियुक्त गर्नका लागि आइतबार नै प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने तयारी रहेको बताए।
‘संघमा भएको जस्तै दृश्य बागमती प्रदेशमा पनि हुन्छ,’ उनले भने, ‘मुख्यमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन नसके एक घन्टामा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्नुहुन्छ। नयाँ सरकार नबनुन्जेल अहिलेकै मुख्यमन्त्रीलाई कार्यभार तोक्नुहोला। मुख्यमन्त्रीले आह्वान गरेलगत्तै हामी दाबी पेस गर्छौं।’
बागमतीमा नयाँ मुख्यमन्त्री र मन्त्रीहरुको शपथ एकैपटक हुने गरी दलहरूसँग छलफल अगाडि बढाइएको चित्रकारले बताए। त्यसका लागि सांसद संख्याको आधारमा मन्त्रालय भागबन्डा हुनुपर्ने कांग्रेसको धारणा रहेको उनको भनाइ छ।
‘संघमा पनि त्यस्तै भएको हो, यहाँ पनि दलको हैसियतका आधारमा मन्त्रालय भागबन्डा हुनुपर्छ भनेका छौं,’ उनले भने।
यता मुख्यमन्त्री जम्कट्टेल भने मतविभाजनमा नगई पदबाट राजीनामा दिने तयारीमा छन्।
नेकपा (माओवादी केन्द्र)का एक सांसदका अनुसार त्यसबारे मुख्यमन्त्रीले संसदीय दलमा छलफल गर्दैछन्। दलको बैठक सुरू हुन लागेको र सोही बैठकले निर्णय गरेअनुसार मुख्यमन्त्री कसरी अगाडि बढ्ने भन्ने तय हुने ती सांसदले बताए।
‘राजीनामा दिए पनि मत विभाजनमा गए पनि कांग्रेस नेतृत्वकै सरकार बन्ने हो। त्यसो हुँदा राजीनामा बुझाउने कि भन्ने उहाँको मनशाय हो। औपचारिक रूपमा संसदीय दल बैठकले निर्णय गर्छ,’ ती सांसदले भने।
११० सदस्यीय बागमतीमा विश्वासको मत प्राप्त गर्नका कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहन्छ।
बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाका ३ र हाम्रो नेपाल पार्टीका २ सांसद छन्।