गृहमन्त्री रमेश लेखक र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनबिच शिष्टाचार भेट भएको छ।
शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर राजदूत थम्पसनले गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन्।
भेटको क्रममा राजदूत थम्पसनले गृहमन्त्री लेखकलाई नयाँ कार्यकालको लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
राजदूत थम्पसनले नेपालको सामाजिक आर्थिक विकासका क्षेत्रमा सहयोग गर्न सधैँ इच्छुक रहेको र एमसिसी परियोजनाले नेपालको समृद्धिमा उल्लेखनीय योगदान पुर्याउने विश्वास रहेको बताएका थिए।
परियोजना कार्यान्वयनमा नेपाल सरकारको तर्फबाट सधैँ सहयोग हुने अपेक्षा रहेको र अपराध नियन्त्रण तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा सहकार्य र समन्वय गर्न तत्पर रहेको पनि उनले उल्लेख गरेका थिए।
त्यसैगरी उनीहरूबीच नेपाल र अमेरिकाबीच ७० वर्ष पूरानो द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानव अधिकार, कानुनी शासन लगायतका विषयमा दुबै देशको साझा धारणा रहेको विषयमा पनि छलफल भएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।
शुक्रबार नै राजदूत थम्पसनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेका छन्।