नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नवनियुक्त मन्त्रीहरूलाई खादा र माला लगाउन छाडेर उद्धार तथा राहतमा ध्यान दिन आग्रह गरेका छन्।
कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र लोसपा मिलेर सरकार बनाएपछि मन्त्रीहरूलाई बधाई दिन भन्दै सिंहदरबारमा भिड लाग्ने गरेको छ।
बाढीपहिरोजस्ता विपदमा जनतालाई उद्धार र राहतमा खट्नुपर्ने बेला मन्त्रीहरू बधाई लिन व्यस्त भएको भन्दै आलोचना भइरहेको छ। त्यसतर्फ लक्षित गर्दै महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका हुन्।
काठमाडौंमा शुक्रबार भएको एक कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै महरले खादा माला र बधाई लिएर मन्त्रीहरूले समय खेर फालेको टिप्पणी गरेका छन्।
'सिंहदरबार कामकाजी अड्डा हो, त्यसलाई सोही अनुरूप प्रयोग गर्नुपर्छ। मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ। बधाई थाप्ने रहर भए निजी निवासमा बोलाउँदा हुन्छ,’ उनले भने, ‘जनता विपद्को सामना गरिरहेका छन्। यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ।'
महरले नयाँ सरकारलाई विगतका सरकारको जस्तो गल्ती गर्ने छुट नभएको बताए। जनअपेक्षा र आफ्नो प्रतिबद्धता अनुरूप सरकारमा सहभागी दुई ठूला दल कांग्रेस-एमालेले काम गर्नुपर्ने उनको धारणा छ।
'नयाँ सरकार निर्माण हुँदै गर्दा भएको राजनीतिक सम्झौता अनुसार काम गर्नुपर्छ। भ्रष्टाचार अन्त्य, सुशासन, दिगो विकास, आर्थिक सुदृढीकरण, समृद्धि र जनताको जनजीविकाका सवालमा सरकार गम्भीर हुनुपर्छ', उनले भने, 'युवालाई देशमै रोकेर उनीहरूको श्रम देश निर्माणमा सदुपयोग गर्नेतर्फ पनि सरकार जिम्मेवार हुनुपर्छ।'
दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा आशा जागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेमा कांग्रेस-एमालेप्रति जनतामा थप वितृष्णा पैदा हुने पनि उनले बताए।