उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंह र चिनियाँ राजदूत चेन सोङबीच बिहीबार भेटवार्ता भएको छ।
राजदूतले मन्त्री सिंहलाई बधाईसहित कार्यकाल सफलताकाे शुभकामना दिएका छन्।
नेपाल र चीनबीचमा सहरी विकासकाे क्षेत्रमा के-के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि उनीहरूबीच कुराकानी भएको थियो।
‘भेटमा नेपाल र चीन बीचमा सहरी विकासकाे क्षेत्रमा कुन-कुन विषयमा सहकार्य हुनसक्छ, अहिले के भइरहेकाे छ भन्नेमा सामान्य समीक्षा भयाे,´ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छाैं। स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जाेड्न सक्छाैं, ट्राफिक लाइट, राेड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयाेग गर्न सक्छ भन्ने कुरा भयाे।’
उनकाअनुसार चीनसँग सीमा जाेडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने कुरा पनि भएको छ।
‘त्यसमा पनि चीन सरकारले सहयाेग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयाे,´ उनले भने।
रूकुम र जाजरकाेटमा अघिल्लाे वर्ष गएकाे भूकम्पपछिकाे पुननिर्माणमा समेत सघाउन तयार रहेकाे राजदूतले भेटका क्रममा बताएको उनको भनाइ छ।