जेठको अन्तिम साता महाधिवेशन सकेको जनता समाजवादी पार्टी नेपालले एक महिनामा पनि पदाधिकारी छान्न सकेको छैन।
महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई निर्विरोध निर्वाचित गरेको थियो।
अन्य पदाधिकारीमा बहुआकांक्षी देखा परेपछि प्रक्रिया स्थगित गरी अध्यक्ष यादवलाई नै छान्ने जिम्मा दिएको हो।
यादवले पनि ९ केन्द्रीय कार्यकारिणीसहित दुई सय १५ जना सदस्य छानेका छन्। बाँकी केन्द्रीय कार्यकारिणी र पदाधिकारी भदौ १३ गतेपछि छानिने केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिए।
उनकाअनुसार महाधिवेशन र पार्टी विधानको धारा ८७ (१) अनुसार अध्यक्षले ९ केन्द्रीय कार्यकारिणी सदस्य छानेका हुन्।
‘भदौ १३ गते पार्टी विभाजनसम्बन्धी मुद्दाको पेशी तोकिएको छ। त्यसभन्दाअघि पदाधिकारी र केन्द्रीय कार्यकारिणीको टुंगो लाग्ने देखिएको छैन,’ उनले भने।
जसपा, नेपालको विधानअनुसार २० जना पदाधिकारी नियुक्त गर्नुपर्नेछ। त्यस्तै केन्द्रीय कार्यकारिणीको संख्या ३१ रहने उनले बताए। ‘१९ पदाधिकारी चयन गर्न बाँकी रहेको छ। विभाजनबारे फैसला आएपछि को थपिने, को हट्ने यकिन हुन्छ,’ उनले भने।
अहिले रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश चौधरी, मृगेन्द्रकुमार सिंह यादव, मनीषकुमार सुमान, राजकिशोर यादव, लालबाबु राउत, शिवलाल थापामगर मात्रै केन्द्रीय कार्यकारिणी सदस्य मनोनीत भएका छन्।
गत वैशाख २३ गते जसपा नेपालबाट संघीय परिषद् अध्यक्ष अशोक राईसहितका नेता अलग्गिएर जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए।
त्यसविरूद्ध अध्यक्ष यादव अदालत गएका छन्। अदालतले अर्को सुनुवाइको मिति भदौ १३ गतेलाई तय गरेको छ। ‘त्यतिञ्जेल पदाधिकारी र केन्द्रीय कार्यकारिणी गठन हुँदैन,’ बस्नेतले भने।