उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापन लगायतका विषयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग कुराकानी गरेका छन्।
नवनियुक्त उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूत श्रीवास्तवले मंगलबार शिष्टाचार भेटवार्ता गरेका थिए।
सो क्रममा उनीहरूबीच मन्त्री सिंहले सहरी विकास, नदी प्रदूषण नियन्त्रण लगायतका विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ।
‘मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको छ,’ मन्त्री सिंहका स्वकीय सचिव युपी लामिछानेले भने, ‘भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा पनि भयो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको छ।’
मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भेटवार्ता भएको थियो।
मन्त्री सिंहको कार्यकक्षमा भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको लामिछानेले जानकारी दिए।
राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताएका थिए।