राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नवनियुक्त मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएकी छन्।
शुक्रबार २१ जना मन्त्रीहरूले शपथ लिएर पदभार ग्रहण गरेका छन्। शुक्रबार अपराह्न बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेकी सांसद गौतमले मन्त्रीहरूले नियमअनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बताइन्।
‘सुशासनका मुद्दामा हामी सरकारलाई सहयोग गर्न चाहन्छौं। प्रारम्भमै सरकारबाट हामी के अपेक्षा गर्छौं भने, मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुस्। यो नियमअनुरूप नै हामीले गर्नुपर्ने हुन्छ, त्यसकारण मन्त्रीहरूबाट अपेक्षा गर्छु’ उनले भनिन्।
उनले प्रधानमन्त्रीको सफलता भनेको देशको सफलता हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकाल सफलताको शुभकामनासमेत दिएकी छन्।
‘सुशासनका मुद्दामा हामी तपाईंहरूलाई पूर्ण रूपमा सहयोग गर्छौं। तर भ्रष्टाचारका मुद्दामा हामी फेरि पनि खरो उत्रनेछौं,’ उनले भनिन्।