नेपाली कांग्रेसबाट मन्त्री भएकाहरू शीतल निवासमा शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।
कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा १० जना मन्त्री पठाएको छ।
सिंह उपप्रधान तथा सहरी विकास मन्त्री बनेका छन्।
मन्त्रीसिंहसहित ९ जना मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल भने शपथलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका थिए। उनी पनि पार्टी कार्यालय जाने कार्यक्रम रहेको छ।
शपथपछि मन्त्रीहरू पार्टी केन्द्रीय कार्यालय पुगेर बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेको उपप्रधान तथा सहरी विकास मन्त्री सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए।
कांग्रेसबाट सिंह सहरी विकास, रमेश लेखक गृह, आरजु राणा परराष्ट्र, तेजुलाल चौधरी युवा तथा खेलकुद, प्रदीप पौडेल स्वास्थ्य, अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिला, बद्रीप्रसाद पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रामनाथ अधिकारी कृषि तथा पशुपन्छी विकास, दीपक खड्का ऊर्जा, जलस्रोत तथा सिँचाइ, ऐनबहादुर शाही ठकुरी वन तथा वातावरण मन्त्री छन्।