स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाभित्र सबै नेपालीलाई समेट्ने गरी व्यवस्थित तरिकाबाट मन्त्रालयले काम गर्ने बताएका छन्।
शुक्रबार पदभार ग्रहणपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री पौडेलले जनताका लागि स-साना काम गर्ने बताए।
‘स्वास्थ्य मन्त्रालयलाई कसरी राम्रो गर्ने त्यतातर्फ म लाग्छु, मन्त्रालय सुधार्न के गर्न सकिन्छ भन्नुहोला,’ उनले भने, ‘यहाँ ठूला कुरा गर्न गारो होला, तर सानासाना काम गर्छु।’
उनले नेपालको स्वास्थ्य सेवामा आम नागरिकले सहजता अनुभव हुने गरी काम गर्ने पनि बताए। उनले संघीय सरकार मातहत रहेका सरकारी अस्पतालका सेवा व्यवस्थित गरिने बताएका छन्।
‘मन्त्रालयले बिमासम्बन्धी काम पनि सुरू गरिसकेको छ। त्यसलाई सबै नेपालीहरूका बीचमा लिएर जाने र सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी मन्त्रालयले कार्यक्रम ल्याउनेछ,’ उनले भने, ‘एक महिनाभित्र सरकारी अस्पतालहरूमा लाइन लाग्न नपर्ने गरी व्यवस्थित स्वास्थ्य सुविधा अघि बढाउनेछौं।’
साथै मन्त्री पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा र माला नलगाउने पनि बताए।