नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनलाई शपथ गराउने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले 'ईश्वर वा देश र जनता' नाममा शपथ लिन विकल्प दिए।
ओलीले देश र जनताको नाममा शपथ लिए।
शपथ सम्बन्धी ऐन २०७९ ले नै शपथ लिने व्यक्तिले आफूले 'ईश्वर वा देश र जनता' कसको नाममा शपथ लिने हो भन्ने जानकारी शपथ गराउने व्यक्तिलाई पहिला नै दिनुपर्ने व्यवस्था गरेको छ। सोही व्यवस्था अनुसार ओलीले देश र जनताको नाममा शपथ लिएका हुन्।
२०७९ भदौ २८ गतेबाट उक्त ऐन लागू भएको छ।
यसअघि २०७९ पुस ११ गते प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल प्रचण्डले पनि शपथ ग्रहण गर्दा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष देश जनताको नाममै शपथ लिएका थिए।
शपथ सम्बन्धी पछिल्लो कानुनी व्यवस्थाको पृष्ठभूमि भने केपी ओलीले प्रधानमन्त्री पदको शपथ लिँदा भएको विवादसँग जोडिएको छ। २०७८ वैशाख ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिँदै गर्दा बीचमा 'त्यो पर्दैन' भनेका थिए।
उनले ईश्वर वा देश र जनताको मध्ये एक रोज्ने विकल्प राष्ट्रपतिले दिनु अघि नै 'त्यो पर्दैन' भनेका थिए। उनले शपथका क्रममा प्रतिज्ञा गर्दछु भन्ने शब्द उच्चारण नै गरेनन्। शपथमा यसरी बीचमा 'त्यो पर्दैन' भनेको विषय विवादमा परेपछि ओली सरकारले शपथ सम्बन्धी कानुन निर्माण गर्न विधेयक ल्याएको थियो। संविधानले राष्ट्रपति समक्ष प्रधानमन्त्रीले शपथ लिनुपर्ने उल्लेख गरे पनि शपथबारे कुनै कानुनी व्यवस्था थिएन।
तर शपथ सम्बन्धी ऐनले अहिले शपथ खाने व्यक्तिले खुवाउने व्यक्तिलाई पूर्वजानकारी दिनुपर्ने व्यवस्था गरेको हो।
हेर्नुहोस् ओलीको शपथको नयाँ भिडिओ:
हेर्नुहोस् विवादित बनेको ओलीको पुरानो शपथको भिडिओ