नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
एमाले अध्यक्ष ओली आइतबार साँझ प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै उनी पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनकै निवास चपली पुगेको एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले जानकारी दिए।
भेटमा सामान्य राजनीति संवाद भएको निरौलाले बताए।
‘प्रधानमन्त्री नियुक्त भएपछि अध्यक्षज्यू पूर्वराष्ट्रपतिसँग शिष्टाचार भेटका लागि जानु भएको हो। उहाँहरूबीच सामान्य राजनीतिक कुराकानी भएको थियो,’ निरौलाले भने।
राष्ट्रपति भण्डारीले भेटमा समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्न सफलता मिलोस् भनेर शुभकामना दिएको निरौलाले बताए।
प्रधानमन्त्री ओलीले सोमबार बिहान पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टीले मन्त्रीहरूको नाम टुंग्याएका छन्।