नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विभिन्न चार निर्णय गरेको छ।
शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले सरकारमा सहभागी हुनेदेखि समसामयिक विषयलाई समेटेर चार निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले कांग्रेस सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए। बैठकले सरकारमा पठाइने मन्त्रीहरूको मापदण्ड तोकेको पनि जानकारी दिए।
‘मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ,’ उनले भने।
मन्त्रीको नामका विषयमा आन्तरिक गृहकार्य भइरहेको महतले जानकारी दिए।
बैठकले गरेको तेस्रो निर्णण प्राकृतिक विपत्ति र दुर्घटनाबारे हो।
शुक्रबार मुग्लिन-नारायणगढ सडकको सिमलटारमा पहिरोसँगै बगेको दुइटा बस र त्यसमा सवार यात्रुहरूको अवस्था अझै अज्ञात छ। त्यस्तै शुक्रबार नै पहिरोले घर पुरिँदा कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको थियो।
कांग्रेस कार्यसम्पादन समितिको बैठकले यस्ता प्राकृतिक विपदका घटनाहरूबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै हराएकाहरूको खोजी र नागरिकहरूलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई आग्रह गरेको महतले बताए।
कांग्रेसले विपत्तीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
त्यसैगरि यस ढंगका सडक दुर्घटनाको दुःखद अवस्था अन्त्य गर्न सरकारले पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक कानुनी व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गरिएको प्रवक्ता महतले जानकारी दिए।
हेर्नुस् कांग्रेस कार्यसम्पादन समितिको बैठकका तस्बिरहरू