नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिएका हुन्।
‘म भन्न चाहान्छु दलितको नाममा, महिलाको नाममा, मधेशको नाममा फेरि आगो बाल्न सकिन्छ कि भन्ने यदि दुष्प्रयत्न हो भने अब त्यो सफल हुँदैन। त्यो सफल हुने छैन। यो देश जाति जातिको सहअस्तित्वबाट राष्ट्र बनेको हो यो कुरा ख्याल गर्नुहोला,’ उनले भने।
उनले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताए। उनले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पारे।
‘संविधानमाथि कतिपय ठाउँबाट हमला भइराखेको छ। हामीले संविधानमाथि पुनरावलोकन गर्ने, समीक्षा गर्ने भनेका छौं। म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, उहाँलाई आश्वस्त गर्न चाहन्छु, र यो संसदमार्फत सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीहरूलाई हामी आश्वस्त गर्न चाहान्छौं, संविधानको पुनरावलोकन अर्थात् संविधान संशोधन ०७२ सालको संविधानको अग्रमगनको लागि हो। पश्चगमनको लागि होइन। पछाडी फर्किनको लागि होइन,’ उनले भने।
न्युज एजेन्सी नेपाल