प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विभिन्न प्रकरणहरूले कांग्रेस र एमाले एकैठाउँमा आएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले तीन प्रकरणमा संलग्नहरूले दुई ठूला दललाई मिलाएको बताएका हुन्।
'त्रिभुवन विश्वविद्यालयको जग्गा खोज्न थालियो एउटा समूह डरायो। ललिता निवासको जग्गाको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया सुरू भयो अर्को समूह डरायो। भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान सुरू भयो अर्को ठूलै समूह डरायो,' उनले भने।
प्रधानमन्त्री प्रचण्डले बाँसबारीदेखि बालमन्दिरसम्मका जमिन खोजी हुन थालेपछि यो देशको शक्ति सन्तुलन नै खलबलिन थालेको दाबी गरे।
'त्यही वर्गले देशको पहिलो र दोस्रो ठूलो दल मिलाएका हुन्। यसरी त्यो वर्गले आफ्नो शक्ति देखायो,' उनले भने।
अर्कातर्फ सरकारको सफलता नै सरकार ढाल्ने बिडम्बनापूर्ण आधार बनेको प्रधानमन्त्री प्रचण्डले बताए।
प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकालमा रेकर्ड बनेको बताए।
'यति ओम्नी र गिरबन्धुहरूको बोझ र कलंक नबोकेपनि प्रधानमन्त्री बन्न सकिन्छ भन्ने रेकर्ड बन्यो,' उनले भने।