जनता समाजवादी पार्टीका मन्त्रीहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले गत असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै दुई मन्त्री र एक राज्यमन्त्रीले राजीनामा पनि बुझाएका थिए।
राजीनामा बुझाएको तीन दिनपछि उनीहरूको राजीनामा स्वीकृत भएको छ। उक्त मन्त्रालय अब प्रधानमन्त्री दाहालले नै हेर्नेछन्।
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए।
साथै यसअघि नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।
एमालेका ८ जना मन्त्रीहरूले पदबाट राजीनामा दिएका थिए। ती मन्त्रीहरूले दिएको राजीनामा असार २० गते स्वीकृत भएको थियो। ती मन्त्रालय प्रधानमन्त्री आफैले हेर्ने गरी राखेका छन्।
गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउनेलगायत सहमति भएको थियो। लगत्तै एमालेले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन भनेको थियो। तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले सरकार छाडेको हो।
प्रधानमन्त्री दाहालले संविधानको व्यवस्थाअनुसार यही असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत प्रस्ताव राख्ने तयारी गरेका छन्। कांग्रेस, एमालेले प्रधानमन्त्री दाहाललाई विश्वास मत नदिने आ-आफ्नो संसदीय दल बैठकबाट निर्णय गराइसकेका छन्।
सरकारमा एमालेबाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ, कानून मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि मन्त्री बलराम अधिकारी, उद्योग मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षा मन्त्री हरिप्रसाद उप्रेती थिए।
योसँगै वन र स्वास्थ्य मन्त्रालय पनि प्रधानमन्त्री दाहालले हेर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवारी तोकेका छन्।