राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले कांग्रेस र एमालेलाई चार दिन कुरिदिन आग्रह गरेका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले संसदीय प्रणाली र संविधान बनाउने दलहरूले संसदीय प्रणाली र संविधानप्रति विश्वास गर्नुपर्ने बताउँदै चार दिन कुर्न आग्रह गरेका हुन्।
त्यतिन्जेलसम्म कांग्रेस र एमालेले एक अर्कालाई विश्वास गर्न पनि झाले सुझाए।
'किन यो प्रणालीले र संविधानले काम नगर्ला र चार दिनमा फेरि अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ? तपाईंहरूकै प्रति संख्या छ। तपाईंहरुकै बहुमत हुने सम्भावना छ भने चार दिन कुर्नुस् न एक अर्कालाई विश्वास गर्नुस्,' उनले भने।
सहकर्म र सहयात्राको गाथा गाउनेले एक अर्कालाई विश्वास पनि गर्नुपर्ने सांसद झाले बताए।
'किन चार दिनका लागि डराउनुहुन्छ। तपाईंहरूले नै बनाएका संसदीय प्रणाली र संविधानमा लेखिएकै कुरा अभ्यास गरिँदैछ। त्यसभन्दा बाहिर गएर भएको छैन,' उनले भने।
झाले प्रधानमन्त्रीलाई संविधानले ३० दिनको समय दिएकोमा २८ गते नै विश्वासको मत लिने तयारी गर्नुलाई पनि सकारात्मक रूपमा हेर्नुपर्ने बताउ।
'किन तर्सिनुभएको? पल्टुरामहरूलाई पनि विश्वास गरिदिनुस्,' उनले भने।
धारा ७६(२), ३, ४, ५ को व्याख्या गर्दै गर्दा त्यही संविधानमा लेखिएअनुसार ३० दिनको समय लिन पाउँछ र ३० दिनमा विश्वासको मतको प्रयास गर्न पाउँछ भनेर लेखिएको कुराको व्याख्या बिर्सन नहुने झाले बताए।
'हामी संविधानको अभ्यास गर्दैछौं। संसदीय प्रणालीको अभ्यास र विश्वास गर्दै छौं। तपाईहरू पनि विश्वास गरिदिनुस् न,’ कांग्रेस र एमालेलाई आग्रह गर्दै भने।