संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीच पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको छ।
यो सहमति गत असार १७ गते नै भएको हो। तर कांग्रेस र एमालेले देउवा र ओलीले हस्ताक्षर गरेको सहमतिका बुँदा सार्वजनिक गरेका छैनन्।
देउवा र ओली बीचमा भएको सहमतिलाई कांग्रेस र एमालेले आ-आफ्नो पार्टीबाट स्वागत र अनुमोदन गराइसकेका छन्। तर ओली र देउवा को कति समय प्रधानमन्त्री बन्ने हो खुलाएका छैनन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत असार १९ गते बूढानीलकण्ठमा बसेको बैठकले एमालेसँग सत्ता सहकार्य गर्नेसम्बन्धी तीन वटा निर्णय गरेको थियो।
पहिलो, नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ।
दोस्रो, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ।
तेस्रो, नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ।
यो निर्णयलाई कांग्रेसको संसदीय दल बैठकले पनि अनुमोदन गरेको छ। असार २२ गते बसेको संसदीय दल बैठकले एमालेसँग भएको सहमतिलाई स्वागत र समर्थन गरेको थियो। बैठकपछि प्रमुख सचेतक रमेश लेखकले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विश्वासको मत नदिने पनि निर्णय भएको उल्लेख छ।
‘नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको हुँदा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग गर्नु भएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेस हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ,’ संसदीय दलको निर्णयमा भनिएको छ।
कांग्रेसले संसदीय दलले पनि एमालेसँग भएको सहमति कार्यान्वयनमा दृढता प्रकट गरेको छ। संसदीय दलको निर्णयमा पनि पहिलो पटक ओली र दोस्रो पटक देउवा प्रधानमन्त्री बन्ने कुरा समावेश गरे पनि कति समय भन्ने खुलाइएको छैन।
नेकपा (एमाले) ले पनि को कति वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको हो औपचारिक रूपमा पार्टीका निर्णय र विज्ञप्तिमा खुलाएको छैन।
महासचिव शंकर पोखरेलले असार २० गते जारी गरेको विज्ञप्तिमा एमाले र कांग्रेसबीच एमाले अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको उल्लेख छ।
‘संसद्का दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको अवस्था छ,’ पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने अवस्था नरहेको बताउँदै एमालेले अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन ध्यानाकर्षणसमेत गराएको थियो। ‘साथै राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आइतबार एमाले संसदीय दल बैठक बसेको थियो। उक्त बैठकले कांग्रेससँग भएको सहमतिलाई स्वागत गर्यो।
‘दुई दलबीच भएको सहमतिलाई संसदीय दल बैठकले स्वागत गरेको छ। मुलुकलाई स्थिरता दिनेतर्फ, विकास र समृद्धि तथा सुशासनका लागि स्थिर सरकार गठन गर्ने प्रक्रियामा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्यो, यसप्रति संसदीय दल बैठकले कांग्रेसलाई धन्यवाद दिने निर्णय गरेको छ,’ प्रमुख सचेतक महेश बर्तौलाले भने।
एमालेले दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माण प्रक्रियालाई मार्गप्रशस्त गर्न आह्वान पनि गरेको छ। प्रधानमन्त्री दाहालले पदबाट राजीनामा नदिए यही असार २८ गते विश्वास मतको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय पनि एमालेले गरेको छ। एमाले संसदीय दलको बैठकका निर्णय पनि को कति समय प्रधानमन्त्री बन्ने सहमति भएको भन्नेबारे मौन छ।
तर एमाले महासचिव शंकर पोखरेलले संविधान कार्यान्वयनको जटिलता हल गर्ने बेलासम्म अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने अभिव्यक्ति दिएका छन्। कांग्रेस र एमालेबीच असार १७ मा भएको सहमतिमा संविधान संशोधन गर्ने कुरा पनि छ। त्यसतर्फ लक्षित गर्दै महासचिव पोखरेलले संविधानका जटिलता हल गर्ने बेलासम्म ओली र त्यो कार्यान्वयन गर्ने बेला देउवा प्रधानमन्त्री हुने र एमालेले सहयोग गर्ने बताएका हुन्।
महासचिव पोखरेलले पनि ओली र देउवा कति वर्ष प्रधानमन्त्री बन्ने समय तोकेका छैनन्। असार १७ गते कांग्रेससँग सहमतिमा हस्ताक्षर गर्दा उनी पनि उपस्थित थिए।
तर कांग्रेस र एमाले नेताहरूका अनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने कांग्रेस र एमालेबीच लिखित सहमति नै भइसकेको छ। ‘पहिलो दुई वर्ष ओली र पछिल्लो डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने लिखित सहमति छ, त्यसमा देउवा र ओलीले नै हस्ताक्षर गरिसक्नुभएको छ,’ स्रोतले भन्यो।
यो पनि: प्रधानमन्त्री प्रचण्ड अझै ७६ (३) को सरकार बन्ने आशमा, त्यसैको प्रयासमा!