नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि असार २८ गते सम्ममा मन्त्रालयको भागबण्डा टुंगो लगाउने बताएका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भागबण्डाको टुंगो भइनसकेको र असार २८ गते सम्ममा टुंगो लगाउने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन्।
प्रचण्डको सरकारमा सहभागी नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै प्रचण्डको सरकार अल्पमतमा परेको छ। अल्पमतमा परेकाले एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरिरहेको हो।
‘सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलि नै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नुभयो भने हामी तयारी अवस्थामा नै रहन्छौं,’ उनले भने, ‘अन्यथा असार २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं।’
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएसँगै नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारी छ। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दुई दलबीच सहमति भएको हो।
प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतीको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुंगिन केही समय लाग्ने बताए।
-न्युज एजेन्सी नेपाल