नेकपा एमालेसँग भएको सहमतिबारे नेपाली कांग्रेसले आफ्ना पदाधिकारीहरूलाई जानकारी गराएको छ।
सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा मंगलबार बिहान बैठक राखेर एमालेसँग गएको मध्यरातमा भएको सहमतिबारे ब्रिफिङ गरेका हुन्।
सभापति देउवाले आलोपालो सरकारको नेतृत्व गर्ने एमालेसँग सहमति बनेको बताएका छन्। पहिलो कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र चुनाव गराउने गरी दोस्रो कार्यकाल आफूलाई प्रधानमन्त्री छाड्न ओली सहमत रहेको देउवाको भनाइ थियो।
बैठकपछि प्रवक्ता प्रकाशशरण महतले पनि आलोपालो नेतृत्व गर्ने समझदारी एमालेसँग बनेको बताए।
‘कांग्रेस र एमालेबीच सरकार निर्माण गरेर सँगै अघि बढ्ने सहमति भएको छ। त्यसमा आवश्यकताअनुसार अरू दलहरूलाई पनि समावेश गर्न सकिने भएकोले राष्ट्रिय सहमतिको सरकारकै नाम दिइएको छ,’ प्रवक्ता महतले भने, ‘सरकारको नेतृत्व भने ओलीजी र सभापति देउवाजीले आलोपालो गर्नुहुन्छ।’
उनकाअनुसार देउवा र ओलीबीच 'सैद्धान्तिक र व्यवहारिक सहमतिमा नेतृत्व आलोपालो गर्ने गरी हस्ताक्षर भएको' छ।
उनले यो सरकारलाई आगामी आम निर्वाचनसम्मै लैजाने विषयमा पनि समझदारी बनेको उनले बताए।
प्रवक्ता महतले गए राति राष्ट्रपतिलाई भेट्न सभापति देउवा र ओली पुगेको भन्ने विषयमा सत्यता नभएको पनि दाबी गरेका छन्।
आर्थिक स्थिति सुधार गर्न र विकास निर्माणमा देखिएको अन्यौल हटाउन ठूला दुई दलबीच समझदारी बनेको प्रवक्ता महत बताउँछन्। उनले मन्त्रालय भागबन्डालगायत विषयमा औपचारिक कुराकानी नभएको पनि बताए।