कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र दुई दलका अरू केही नेताहरू मध्यरातमा राष्ट्रपति निवास, महाराजगञ्ज जाने तयारीमा छन्।
कांग्रेस-एमाले मिलेर ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमतिमा पुगेसँगै दुई दलका नेता राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास जानेबारे छलफल भइरहेको एक नेताले बताए।
दुई दलबीच यो सरकारलाई हटाएर नयाँ सरकार बनाउने सहमतिमा हस्ताक्षर गर्नुअघि एमाले राष्ट्रपति पौडेलले अर्को सरकारको आह्वान संविधानको धारा ७६ (२) अनुसारै गर्ने आश्वस्त हुन चाहेको छ।
संविधानतः पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारलाई अविश्वासको प्रस्तावमार्फत् अहिले हटाउन सकिँदैन। कुनै पनि सरकार बनेको दुई वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था छ। त्यसैले प्रचण्डलाई प्रधानमन्त्रीबाट हटाउन एमालेले उनलाई दिएको विश्वासको प्रस्ताव फिर्ता लिनुपर्छ।
एमालेले प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिएपछि उनी अल्पमतमा पर्नेछन् र अन्ततः उनले राजीनामा दिनुपर्नेछ। प्रचण्डको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको हो। यो धाराअनुसार दुई वा दुईभन्दा बढी दलले मिलेर सरकार बनाउन सक्छन्।
प्रचण्डको सरकार ढलेपछि राष्ट्रपतिले संविधानको धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस) को नेतृत्वमा सरकार बनाउने आह्वान गरिदिन सक्छन् भन्ने एमालेको आशंका छ। त्यसो भयो भने, कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ। त्यसैले प्रचण्ड सरकारको अवसानपछि पनि संविधानको धारा ७६ (२) अनुसारनै सरकार गठन हुने कुरा राष्ट्रपति पौडेलकै मुखबाट आश्वस्त हुन एमालेले चाहेको हो।
'यसैकारण कांग्रेस र एमालेका नेताहरू मध्यरातमै शितल निवास जानेबारे छलफलमा छन्,' एक नेताले भने, 'अहिले भने उहाँहरू एमाले अध्यक्ष ओलीनिकट एक व्यवसायीको घरमा बसेर छलफल गरिरहनुभएको छ। अध्यक्ष ओलीले राष्ट्रपतिकै मुखबाट ७६ (२) अनुसार सरकार बन्ने आश्वासन चाहेमा शितल निवास जाने सम्भावना छ। कुरा मिल्यो भने शितल निवास नगई सहमतिमा हस्ताक्षर हुन सक्छ।'
राष्ट्रपति कार्यालयबाट गए भने राति नै वा मंगलबार बिहान सहमतिमा हस्ताक्षर हुने ती नेताले बताए।
केहीबेर अघिसम्म कांग्रेसका नेताहरू ओली निवास बालकोट पुगेर दुई दलबीचको सहमतिमा हस्ताक्षर गर्ने योजना बनेको थियो।
यो पनि पढ्नुहोस्ः
कांग्रेस र एमालेबीच ओलीको नेतृत्वमा सरकार बनाउने सहमति
संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएको छ।
दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको कांग्रेसका एक नेताले बताए।
सो सहमतिलाई अन्तिम रूप दिन कांग्रेस सभापति शेरबहादुर देउवा सोमबार राति नै मुख्य सचेतक रमेश लेखक लगायत नेताका साथमा ओलीनिवास बालकोट जाने सम्भावना रहेको ती नेताले बताए।
'आजै राति सहमतिमा हस्ताक्षर हुने सम्भावना छ,' ती नेताले भने।
ती नेताका अनुसार एमाले महासचिव शंकर पोखरेल र कांग्रेसका प्रमुख सचेतक लेखकले सोमबार साँझ ललितपुरको झम्सिखेलस्थित होटल भिभान्तामा बसेर सहमतिको अन्तिम टुंगो लगाएका हुन्। त्यस्तै, संविधानमा आवश्यक संशोधन गर्न पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा 'संविधान संशोधन सुझाव समिति' बनाउने सम्भावना छ।
एमाले-माओवादी गठबन्धन नै कायम राख्नुपर्छ भन्ने चाहना राखेका एमालेका एक पदाधिकारीले पनि कांग्रेस-एमालेबीच सहमतिमा हस्ताक्षर हुन लागेको संकेत गरे।
'एमाले-माओवादी गठबन्धन जोगिने स्थिति देखिएन। आजै कांग्रेस-एमालेबीच हस्ताक्षर हुन्छ कि हुँदैन भनेर म भन्न सक्दिनँ तर अहिलेको गठबन्धन नजोगिने पक्का भयो,' एमालेका ती पदाधिकारीले भने।
पढ्नुस् केही समयअघि अमित ढकालले लेखेको लेखः प्रचण्डको भविष्यको लेखाजोखा