सुनसरीको इटहरी उपमहानगरको बजेट विवादले मेयर र उपमेयरलाई आरोप–प्रत्यारोपमा उतारेको छ।
असार १० मा एमालेले नगर सभा बहिष्कार गरेपछि मेयर हेमकर्ण पौडेलले वडाध्यक्षलाई बजेट पेस गर्न लगाएका थिए। लगत्तै उपमेयर संगीता कुमारी चौधरीले बजेट पुनः लेखन नभए पारित नगर्ने चेतावनी दिएकी थिइन्।
यसैबीच मेयर पौडेलले एमालेका कारण उपभोक्ताहरूको रकम भुक्तानी दिन नसकिएको आरोप लगाएका छन्।
सोमबार आयोजित कार्यपालिका बैठक पनि एमालेका प्रतिनिधिहरूले बहिष्कार गरेपछि मेयरले 'उपमेयर सहितका एमाले जनप्रतिनिधिहरूको अर्घेल्याइँले भुक्तानीमा समस्या भएको' आरोप लगाएका हुन्।
'पाँच महिनादेखि बारम्बार कार्यपालिका बैठक बस्न आग्रह गर्दा पनि एमालेका जनप्रतिनिधिहरूले मानेका छैनन्,' उनले भने, 'यसले उपभोक्ताहरूको करोडौं रूपैया भुक्तानी हुन नसकेको हो।'