सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रिय सहमतिको सरकार बन्ने कुरा नभएको बताएकी छिन्।
सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै उक्त कुरा बताएकी हुन्।
मन्त्री शर्माका अनुसार सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रूपमा समेत आएको हो।
‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ती सबै कुरा असत्य हुन्। त्यस्तो छैन,' उनले भनिन्, 'यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीले भन्नुभएको छ। हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्ने कुरा ब्रिफिङ गर्नुभयो। यो गठबन्धन र सरकार यसरी नजाओस् भन्नेकुरा पनि कसैले सोचेको होला। यसलाई मिडिया ट्रायलका रूपमा ल्याइएको हो।'
यस्तै, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो मन्त्रीलाई बोलाएको कुरा पनि असत्य भएको उनको दाबी छ।
'कमरेड केपी ओलीले सबै आफ्ना मन्त्रीलाई ६ बजे बोलाएको भन्ने मिडियामा छ, मन्त्रीहरूलाई थाहा छैन,' उनले भनिन्, 'आएका सबै समाचारहरु सत्य हुँदा रहेनछन् भन्ने यो उदाहरण हो।'