उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार परिवर्तन हल्ला मात्रै भएको बताएका छन्। सोमबार संसद् भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै आफूलाई सरकार परिवर्तनबारे केही थाहा नभएको बताए।
‘त्यस्तो छैन, हल्ला मात्रै हो। कहाँ छ र त्यस्तो? थाहा छैन। म पनि अब सरकारमै छु। सरकारको समीकरणको साझेदार नै हुँ। मेरो पनि भर्खर दुई जना नेतासँग कुराकानी भयो। त्यस्तो केही पनि होइन,’ उनले भने।
कहिलेकाहीँ विभिन्न प्रक्रियामा केही असमझदारी हुँदाखेरी भेटघाट हुनु सामन्य प्रक्रिया भएको उनले बताए।
उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सामान्य भेटघाटन नै भएको बताए।
‘यसलाई गम्भीरतापूर्वक लिन जरुरी छैन। कहीँ कतै मैले त्यस्तो सम्भावना देखेको छैन,’ उनले भने।