शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहन नसकिने बताएकी छन्।
उनले विश्वविद्यालय र विद्यालयलगायत शैक्षिक क्षेत्रमा दलीय राजनीति हटाएरै छाड्ने पनि बताइन्।
प्रतिनिधि सभामा सोमबार सांसदहरूले सोधेका प्रश्नमा जबाफ दिँदै उनले राजनीतिक दलका भ्रातृ संघसंस्था र राजनीतिक दलनिकट प्राध्यापकहरू नै आफूलाई चित्त नबुझेको भन्दै तालाबन्दीमा उत्रने गरेको पनि बताइन्।
उनले आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रबाट दलीय राजनीति हटाएरै छाड्ने पनि बताइन्।
‘चित्तबुझ्दो भएन भने तालाबन्दी गर्छौं भन्छन्। त्यस्तो नि हुन्छ? यो त अराजकता हो,’ उनले भनिन्, ‘पटकपटक उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्नैपर्छ। यसमा दलगत भ्रातृ संगठनले हामीलाई चित्त बुझ्नुपर्छ, त्यसपछि मात्र कारबाही गर्न पाउँछ भन्न पाउँदैन।’
उनले शनिबार र आइतबार त्रिवि सेवा आयोगले विज्ञापन खोलेकोमा विज्ञापन गर्न पाइँदैन भनेर एक समूहले तालाबन्दी गरेको पनि बताइन्।
‘प्रहरीहरू राखेर काम गर्नुपर्नेछ। यसमा सबैले मम गर्नुपर्नेछ, कसको भ्रातृ संगठन हो भनेर,’ उनले भनिन्, ‘यो जतिबेलासम्म कायम रहन्छ त्यतिबेलासम्म राजनीतिक हस्तक्षेप बन्द हुँदैन।’
उनले आफू शिक्षा मन्त्री रहँदासम्म गुण्डागर्दी नसहने बरू प्रहरी प्रयोग गरिने बताइन्। ‘जसरी भए पनि राजनीकरण हटाएरै छाड्ने हो,’ उनले भनिन्, ‘राजनीतिक दलको भ्रातृ संगठन र प्राध्यापकहरूले नै तालाबन्दी गर्ने?’
उनले तालाबन्दीबाट विद्यार्थीहरूको पढ्ने अधिकार यदी कोही शिक्षक र प्राध्यापकले खोस्छ भने कारबाही गर्नुपर्ने बताइन्।