नेपाली कांग्रेसले गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा फोटो प्रदर्शनी र विमर्श सभा गर्ने भएको छ।
पाँच पटकसम्म प्रधानमन्त्री बनेका कोइराला कांग्रेसका पूर्वसभापति हुन्। उनको स्मृतिमा क्रान्तिदेखि शान्तिसम्म ऐतिहासिक फोटो प्रदर्शनी र विमर्श सभा गर्न लागेको कांग्रेसले जनाएको छ।
सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले मंगलबार बिहान ११ बजेदेखि कार्यक्रम सुरू हुने बताए।
सभापति शेरबहादुर देउवाले साढे ११ बजे कार्यक्रम उद्घाटन गर्नेछन्।
कांग्रेसले फोटो प्रदर्शनी र विमर्श सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र अरू दलका शीर्ष नेताहरूलाई पनि निम्ता गरेको छ।
कांग्रेसले पार्टी कार्यालयको भुइँतलाको हलमा फोटो प्रदर्शनी गर्नेछ।
‘एक सय ५१ थान ऐतिहासिक महत्वका फोटो प्रदर्शनीमा राखिनेछ,’ प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘कोइरालाका जीवनी, राजनीति, शान्ति प्रक्रिया र समृद्धिसँग जोडिएका तस्बिरहरू प्रदर्शनमा राख्छौं। यी फोटो अवलोकन गर्न करिब २५ मिनेट लाग्छ।’
उनले पार्टी कार्यालयकै मिथिला हलमा विमर्श सभा हुने पनि बताए।
‘क्रान्तिदेखि शान्तिसम्म शीर्षकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेता प्रदीप ज्ञवाली वक्ता हुनुहुन्छ,’ उनले भने, ‘गेजा शर्मा वाग्लेले सहजीकरण गर्नुहुनेछ।’ यो कार्यक्रम मंगलबार दिउँसो १ बजे सुरू हुने र प्रत्यक्ष प्रशारण गरिने उनले बताए।
उनले नेपाल साँस्कृतिक महासंघको समन्वयमा झाँकी प्रदर्शनी पनि हुने बताए।
उनकाअनुसार २०४८ सालको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले मुलुकमा समुन्नतिको दोस्रो जग राखेको पनि बताए। त्यसै शीर्षकमा स्वतन्त्र विज्ञहरूबाट विमर्श सभा गरिने उनले बताए। काठमाडौं विश्वविद्यालयका प्रा.डा. अच्युत वाग्ले, राजनीतिक विश्लेषक हरि शर्मा र मञ्चला झाले अतिथि वक्ताका रूपमा बोल्ने र सहजीकरण विश्व पौडेलले गर्नेछन्।
यसपछि फोटो पत्रकारका संघर्षका कुराबारे विमर्श हुने उनले बताए।
‘फोटो पत्रकारिता जोखिम र अनुभव शीर्षकमा फोटो पत्रकारहरू गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेमाले बोल्नु हुनेछ भने सुशीर शर्मा र जगत नेपालले सहजीकरण गर्नुहुनेछ,’ उनले भने।
प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार कांग्रेसका सबै तहका नेताहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थामा आबद्ध रहेकाहरूले सोमबार बेलुकी ८ बजे गिरिजाप्रसाद कोइरालाको फोटो सामाजिक सञ्जालमा राख्ने कार्यक्रम पनि छ।
‘सकेसम्म गिरिजाबाबुसँग आफू भएको, नभए गिरिजाबाबु उपस्थित कार्यक्रमको फोटो सोमबार बेलुकी ८ बजे सबैले एकै समयमा सामाजिक सञ्जालमा पोस्ट गर्छौं,’ उनले भने।