नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख दुई ठूला दलका शीर्ष नेताहरूबीच भेट हुनासाथ सत्ता समीकरण नफेरिने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सापकोटाले नेपाली कांग्रेस र नेकपा (एमाले) का शीर्ष नेताहरूको भेट हुनासाथ सत्ता समीकरण उलटफेर नहुने बताएका हुन्।
उनले सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरूका बीचमा संवाद हुनासाथ सत्ता गठबन्धन परिवर्तन नहुने बताए।
उनले नेताहरू भेट हुनासाथ सत्ता समीकरण बदलिने भाष्य बनाउँदा यसले स्थिरताको मानसिकता नदिने बताए।
उनले भने, ‘दुई दिनका राजनीतिक घटनाक्रम र समाचारहरूलाई नजिकबाट नियाल्यौं भने अहिले सिंगै राजनीति तरंगित भएको छ। एउटा दलका नेता र अर्को दलका नेता अथवा सत्तापक्षको दलका नेता र प्रतिपक्षका दलका नेताका बीचमा संवाद हुँदा बित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठूला–ठूला ब्यानर न्युजहरू हामीले पढ्न पाउँछौं।’
उनले अगाडि भने, ‘मलाई त्यस्तो के लाग्दैन भने तुरून्तै दुई जना नेताहरू बस्न बित्तिकै पूरै सत्ताको समीकरण उलटफेर हुने। सत्ताको समीकरण नै बदलिने त्यस्तो परिस्थितिका रूपमा हाम्रो जे भाष्य बनाउने, विश्लेषण बिना नै निष्कर्षमा पुग्ने जे परिपाटी छ। यसले समग्र समाजमा स्थिरताको मानसिकता दिँदैन। त्यसमा सत्यता छ मलाई त्यस्तो पनि लाग्दैन।’
सांसद सापकोटाले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउनुपर्नेमा सबै राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराए।—न्युज एजेन्सी नेपाल