नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत सांसदले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाएका छन्।
दलको आइतबार बसेको बैठकले रञ्जितालाई दल नेताबाट हटाउने निर्णय गरेको हो। सोमबार १० बजे त्यसको जानकारी संसद् सचिवालयलाई गराउने तयारी रहेको एक सांसदले बताए।
रञ्जितालाई दलको नेताबाट हटाउने निर्णयमा गंगाराम चौधरी डगौरा, अरूणकुमार चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन्। रञ्जिताले भने हस्ताक्षर गरेकी छैनन्।
त्यस्तै बैठकले गंगाराम चौधरीलाई दल नेता बनाउने निर्णय गरेको छ। त्यस्तै लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय पनि गरेको छ। लालवीर नाउपाका संरक्षक रेशम चौधरीका बुबा हुन्। यसअघि गंगाराम प्रमुख सचेतक थिए।
पढ्नुस्ः रेशम–रञ्जिताको झगडा, पार्टीमा आगो!
नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद छ।
उनीहरूबीचको विवाद बीचमा मत्थर देखिए पनि पुनः सतहमा आएको हो। यसअघि पनि संरक्षक चौधरीले रञ्जितालाई दलको नेताबाट हटाउन खोजेका थिए।
यसबीचमा नाउपा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने चर्चा चलेको थियो। अध्यक्ष रञ्जिता सरकारमा जाने तयारी भइरहँदा बहुमत सदस्यले दलको नेता फेरबदल गर्ने निर्णय गरेका छन्।