बिहीबार अमेरिकामा राष्ट्रपतीय बहस भएको थियो। बहालवाला राष्ट्रपति जो बाइडेनको प्रस्तुति सो बहसमा प्रभावकारी भएन। यो बहसपछि अब बाइडेन राष्ट्रपतिको अर्को कार्यकालका लागि निर्वाचन लड्न हुँदैन भनेर आवाज उठ्न थालेको छ।
रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको बहसमा ८१ वर्षीय बाइडेन धेरैपटक बीचबीचमा रोकिए। उनले बोल्दा वाक्यहरू पनि पूरा गर्न सकेका थिएनन्। एउटा शब्द बोल्नुपर्नेमा झुक्किएर अर्कै शब्द बोलेका थिए। नबुझिने गरी भक्भकाएका र बर्बराएका थिए।
कतिसम्म भने, सहजकर्ताले जब ट्रम्पलाई बाइडेनका भनाइमा प्रतिक्रिया जनाउन भने, ट्रम्पले बाइडेनले बोलेकै बुझिनँ भनिदिए। बाइडेन आफैलाई पनि के भनिरहेको छु भन्ने थाहा नभएको जस्तो लाग्छ भन्दै उडाए पनि।
बाइडेनलाई बोल्नमा समस्या त थियो नै, बहस क्रममा उनको शारीरिक हाउभाउ पनि ठीक थिएन। बहसभरि उनको अनुहार र हाउभाउले उनलाई साथ दिएन।
केही समयअघि बाइडेनको घरमा भेटिएको गोप्य कागजातबारे स्पेसल काउन्सेल रोबर्ट हरले छानबिन गरेका थिए। हरले गत फेब्रुअरीमा त्यसबारे प्रतिवेदन बुझाएका थिए। सो प्रतिवेदनमा पनि बाइडेनको उमेर र स्मरण शक्तिबारे प्रश्न उठाइएको थियो। प्रतिवेदनले त्यो मामिलामा फौजदारी मुद्दा चलाउनु नपर्ने ठहर गरेको थियो तर बाइडेनको स्मरण शक्ति ज्यादै सीमित भएको दाबी गरेको थियो।
बाइडेन असल नियत भएका तर बढ्दो उमेरका कारण उनको दिमागी तीक्ष्णता कम हुँदै गएका मानिस भनिएको थियो। उनलाई उपराष्ट्रपतिका रूपमा आफ्नो पहिलो कार्यकाल कहिले सकिएको थियो भन्ने सम्झना नभएको भनेर प्रतिवेदनले औंल्याएको थियो। यति मात्र होइन, बाइडेनलाई आफ्ना जेठा छोरा बो बाइडेनको निधन कहिले भएको समेत सम्झना नभएको भनेको थियो।
बाइडेनले नियुक्त गरेका महान्यायाधिवक्ता मेरिक गार्लेन्डले रिपब्लिकन पार्टीसँग आबद्ध हरलाई उक्त मामिला छानबिन गर्न स्पेसल काउन्सेल बनाएका थिए। उनले यो मामिलामा फौजदारी मुद्दा चलाउनु नपर्ने भनेर सफाइ दिए। त्यसो त बाइडेनलाई दोषी ठहर्याए पनि हरले बहालवाला राष्ट्रपतिलाई फौजदारी मुद्दा चलाउने राय दिन मिल्दैन थियो।
तर चुनावको वर्ष हरले बाइडेनको बढ्दो उमेर र घट्दो स्मरण शक्तिको कुरा निकालेको र रिपब्लिकन पार्टीलाई फाइदा हुने काम गरेको भनेर बाइडेन सरकारका अधिकारी र डेमोक्र्याटिक पार्टीका नेताहरू हरविरूद्ध खनिएका थिए।
बाइडेनमा पहिल्यैदेखि हिँड्दा लर्बराउने, लड्ने, बोल्दा अड्किने, बोल्नुपर्ने भन्दा अर्कै शब्द बोल्ने जस्ता उमेरजन्य समस्या देखिन्थ्यो।
यसको उदाहरण ह्वाइट हाउसमा आयोजित एउटा कार्यक्रममा देखिएको थियो।
बाइडेनकै डेमोक्र्याटिक पार्टीकी प्रतिनिधि सभा सदस्य ज्याकलिन वालोर्क्सीको सन् २०२२ अगस्टमा कार दुर्घटनामा निधन भएको थियो। यो घटनाको केही हप्तापछि ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बाइडेनले 'खोइ ज्याकी?' भनेर उनलाई खोजेका थिए। यसको चर्चा त्यति बेलै मिडियामा चलेको थियो।
तर हरको प्रतिवेदनपछि पनि बाइडेननिकट अधिकारीहरूले बाइडेनमा सामान्य उमेरजन्य समस्या मात्रै देखिएको र त्यसले राष्ट्रपतिका रूपमा उनले गर्ने काममा केही असर नगरेको भन्दै बचाउ गरेका थिए। सिंगो डेमोक्र्याटिक पार्टी मात्रै नभएर मूलधारका मिडियाले पनि उनको बचाउ गरे। अमेरिकी अखबार द न्यूयोर्क टाइम्सका चर्चित स्तम्भकार पल क्रुगमेन र मिल्टन फ्रिडमेनले त आफूले भर्खरै बाइडेनलाई भेटेको र उनी तेज रहेको लेखेका थिए।
बिहीबारको बहसपछि बाइडेनले अर्को कार्यकालका लागि चुनाव लड्नु हुँदैन भनेर फ्रिडमेनले तुरून्तै आफ्नो स्तम्भमा लेखे।
कन्जरभेटिभ झुकाव भएको तर सुरूदेखि नै ट्रम्पको विरोध गर्ने बेलायती अखबार द इकोनोमिस्टले बाइडेनले वैकल्पिक उम्मेदवारलाई छोड्नुपर्ने भनेर लेखेको छ।
द न्यूयोर्क टाइम्सले समेत 'बाइडेनले देशको सेवा गर्ने दौड छोड्नुपर्छ' भनेर सम्पादकीय लेख्यो। परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीतर्फ झुकाव भएको मानिने टाइम्सले बाइडेनले छाड्नुपर्ने सम्पादकीय नै लेखेपछि त्यसले अमेरिकी राजनीतिमा तरंग ल्याएको छ।
यसपालि अमेरिकामा राष्ट्रपतीय बहस हुनुपर्ने समयभन्दा धेरै अगाडि सुरू भएको हो। नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावका लागि यसअघि कुनै पनि उम्मेदवारले जुन महिनामै बहस गरेका छैनन्। ८१ वर्ष पुगेका बाइडेन स्वास्थ्यका हिसाबले राष्ट्रपतिका रूपमा काम गर्न 'फिट' छन् भन्नेमा धेरै अमेरिकी जनताले आशंका व्यक्त गर्दै आएका छन्। अमेरिकामा भइरहेका मत सर्वेक्षणहरूमा बाइडेन ट्रम्पभन्दा पछि पर्ने देखिएका छन्। अमेरिकी जनतामा रहेको यो आशंका चिर्न र आफू राष्ट्रपतिका रूपमा काम गर्न शारीरिक र बौद्धिक हिसाबले फिट छु भनेर बाइडेनले नै ट्रम्पलाई जुन महिनामै बहस गर्न प्रस्ताव गरेका थिए। ट्रम्पले सो प्रस्ताव स्वीकार गरेका थिए।
अमेरिकी जनतालाई आफू फिट छु भनेर देखाउन बाइडेनले प्रस्ताव गरेको परीक्षामा उनी आफै फेल भएको द न्यूयोर्क टाइम्सले लेखेको छ।
टाइम्सले बाइडेन प्रशंसनीय राष्ट्रपति र उनको नेतृत्वमा देश समृद्ध भएको उल्लेख गरेको छ। तर अहिलेको अवस्थामा उनले गर्न सक्ने सबभन्दा ठूलो सार्वजनिक सेवा भनेको राष्ट्रपतीय निर्वाचनमा आफ्नो दौड अन्त्य भएको घोषणा गर्नु हो भनेर पनि लेखेको छ। त्यस्तै, यदि चुनाव ट्रम्प र बाइडेनबीच भएमा, बाइडेनलाई नै समर्थन गर्ने तर ट्रम्पबाट देशलाई खतरा भएकाले उनीविरूद्ध बलियो प्रतिस्पर्धी चाहिने भनेको छ।
अर्को अखबार द वाल स्ट्रीट जर्नलले पनि बिहीबारको बहसपछि सम्पादकीय लेखेको छ। वाल स्ट्रीट रिपब्लिकन पार्टीको समर्थन गर्छ तर ट्रम्पलाई राष्ट्रपति हुन योग्य मान्दैन। उनको सट्टा निक्की हेली रिपब्लिकन उम्मेदवार भए सजिलै जित्ने दाबी उसले आफ्नो सम्पादकीयमा गरेको छ।
त्यस्तै डेमोक्र्याटिक पार्टीले बाइडेनलाई उम्मेदवार नबनाउने कि भनेर गम्भीर रूपमा सोच्नुपर्ने पनि उसले बताएको छ। डेमोक्र्याटिक पार्टीले ट्रम्प देशको प्रजातन्त्रका लागि खतरा हुन् भन्ने ठान्छ भने उसले बाइडेनलाई उम्मेदवार बनाएर देशलाई नोक्सान गरेको लेखेको छ।
बिहीबारको बहस अघि देखिनै युरोपेली देशका सरकारी अधिकारीहरूले पनि गएको एक वर्षमा उनको ध्यान र स्ट्यामिनामा थाहा हुने गरी गिरावट आएको भनी निजीरूपमा चिन्ता व्यक्त गरेको भनेर समाचार पनि लेखेको छ।
बिहीबारको बहसपछि डेमोक्र्याटिक पार्टीलाई चन्दा दिने ठूला व्यापारीहरूले पनि चिन्ता व्यक्त गरेका छन्। बाइडेनकी श्रीमती जिललाई भनेर, बाइडेनलाई सम्झाउन लगाएर भए पनि उम्मेदवारी फिर्ता लिन लाउनुपर्छ भनेका समाचारहरू पनि आएका छन्।
बाइडेनले उम्मेदवारी फिर्ता लिएनन् भने आउने राष्ट्रपतीय निर्वाचनमा दुई धेरै वृद्ध उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ। उम्मेदवारहरूलाई अक्षम पार्ने गरी केही रोग लागेन वा वा मृत्यु भएन भने मात्र यो प्रतिस्पर्धा नहुन सक्छ।
ट्रम्प हाल ७८ वर्षका भए। सन् २०१६ मै उनी पहिलो कार्यकालका लागि निर्वाचित हुने सबभन्दा वृद्ध अमेरिकी राष्ट्रपति भएका थिए। जब बाइडेन सन् २०२० मा निर्वाचित भए, उनी सबभन्दा वृद्ध अमेरिकी राष्ट्रपति बने। यसपालि ट्रम्प निर्वाचित भए भने उनले उमेरमा केही महिनाले बाइडेनको रेकर्ड पनि तोड्ने छन्। बाइडेन त दोस्रो कार्यकाल सुरू गर्दा ८२ वर्ष पुगेका हुने छन्।
बाइडेन जस्तै ट्रम्पले पनि धेरै उमेरजन्य गल्ती गर्न थालिसकेका छन्। ट्रम्पले दुई हप्ताअघि मात्रै एक चुनावी कार्यक्रममा बाइडेनले पनि आफूले जस्तै दिमागी तीक्ष्णताको परीक्षण गर्न चुनौती दिएका थिए। आफू राष्ट्रपति हुँदा आफ्ना चिकित्सकले लिएको त्यस्तो परीक्षणमा आफूले सबै प्रश्नको सही उत्तर दिएको दाबी उनले गरेका थिए। तर उनले आफ्नै दलबाट हाल प्रतिनिधि सभा सदस्य रहेका आफ्ना डाक्टर रन्नी ज्याकसनको नाम झुक्किएर रन्नी जोनसोन भनेका थिए।
बाइडेनका जेठा छोरा बोको सन् २०१५ मा दिमागको क्यान्सरका कारण मृत्यु भएको थियो। त्यसपछि विक्षिप्त बनेका बाइडेन ट्रम्पलाई रोक्न मात्रै सन् २०२० मा चुनावी मैदानमा ओर्लिएको बताउँथे। बाइडेन त्यति बेलाको डेमोक्र्याटिकको प्राइमरीमा सुरूमा धेरै पछि थिए। तर उनले मात्रै ट्रम्पलाई रोक्न सक्छन् भन्ने ठानेर दलका धेरै नेता-कार्यकर्ताले उनलाई साथ दिए र उनी उम्मेदवार चुनिए। निर्वाचनमा ट्रम्पलाई हराए पनि।
अहिले पनि ट्रम्प नउठ्ने भए दोस्रो कार्यकालका लागि आफू नलड्ने भनेर बाइडेनले आफूनिकटसँग भनेको केही मिडियाहरूले लेखेका छन्। जघन्य र फौजदारी अपराधको मुद्दा लागेको र गम्भीर अपराधको मुद्दामा दोषी ठहरिने पहिलो पूर्वअमेरिकी राष्ट्रपति बनेका ट्रम्प अमेरिकी प्रजातन्त्रका लागि खतरा भएको भनेर बाइडेन बारम्बार भनिरहन्छन्।
पोर्नस्टारसँगको सम्बन्ध लुकाउन पैसा दिएको सम्बन्धी मुद्दाको विभिन्न ३४ वटा कसुरमा ट्रम्प दोषी ठहर भइसकेका छन्। सन् २००६ मा पोर्नस्टार स्टोर्मी ड्यानिएल्ससँगको यौन सम्बन्ध बाहिरिए सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा हार्न सक्ने डर ट्रम्पलाई थियो। त्यसकारण आफ्ना वकिल माइकल कोहेनमार्फत् स्टोर्मीलाई चुप लगाउन एक लाख ३० हजार डलर दिन लगाएका थिए।
सो मुद्दाको सजाय भने जुलाई ११ मा घोषणा गरिने छ। त्यो भनेको रिपब्लिकन पार्टीले उनलाई आधिकारिक उम्मेदवार घोषणा गर्ने अपेक्षा गरिएको अधिवेशनभन्दा केही दिनअघि हो। जेल सजाय नै घोषणा भए पनि सो अधिवेशनले ट्रम्पलाई राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको उम्मेदवार घोषणा गर्ने लगभग पक्का छ।
ट्रम्पविरूद्ध दुई राज्यका र दुई संघीय जिल्ला अदालतमा मात्रै ९१ वटा अभियोगमा फौजदारी मुद्दा चल्दै छन्। त्यसमध्ये सन् २०२० मा आफूले हारेको राष्ट्रपति निर्वाचनको परिणाम उल्टाउन खोजेको, राष्ट्रपति हुँदा ह्वाइट हाउसबाट गोप्य कागजातहरू लगेको जस्ता धेरै संगीन प्रकृतिका मुद्दा छन्।
पहिलो कार्यकालमा ट्रम्पलाई राष्ट्रपतीय प्रक्रियाबारे केही थाहा थिएन। त्यस्तै उनलाई धेरै खराब काम गर्नबाट रोक्ने केही 'राम्रा' मान्छे अन्तिमसम्म पनि शक्तिमा थिए। यसपालि चुनाव जिते भने ट्रम्पले आफूलाई रोक्न सक्ने 'राम्रा' मान्छे कोही पनि नियुक्त गर्ने छैनन्। रूस र चीनका तानाशाही समकक्षीको प्रशंसा गर्ने ट्रम्पले दोस्रो कार्यकालमा पहिलो दिन तानाशाही हुन्छु भन्ने खालका अभिव्यक्ति समेत दिन थालिसकेका छन्। यसरी उनको दोस्रो कार्यकाल धेरै खतरनाक हुनेछ भन्ने धेरैलाई डर छ।
बिहीबारकै बहसमा पनि आगामी चुनाव हार्यौ भने नतिजा स्वीकार गर्छौ कि गर्दैनौ भनेर सहजकर्ताले धेरैपटक सोध्दा पनि ट्रम्पले स्वीकार गर्छु भनेर प्रस्ट जबाफ दिएनन्। धाँधली भएन भने स्वीकार गर्छु मात्र भने।
यस्ता संगीन प्रकृतिका मुद्दा खेपिरहेका र चुनावको नतिजा पनि नमान्ने ट्रम्पलाई रोक्न बाइडेनले उमेरजन्य समस्या भए पनि अर्को कार्यकाल चुनाव लड्न खोज्नुलाई नराम्रो मान्न सकिन्न।
तर बिहीबारको बहसमा बाइडेनको प्रस्तुतिका कारण ट्रम्पले फेरि चुनाव जित्ने खतरा बढेको छ।
अमेरिकामा अरू देशमा जस्तो लोकप्रिय मतका आधारमा राष्ट्रपतीय निर्वाचन हुने भए बाइडेनले जित्ने लगभग निश्चित छ। तर त्यहाँ इलेक्टोरल कलेजका आधारमा निर्वाचन हुन्छ। प्रतिस्पर्धा हुने केही साना राज्यमा ट्रम्पले झिनो मतान्तरले जिते भने बाइडेनलाई हराउने छन्। अहिलेसम्मका मत सर्वेक्षणले त्यस्तै देखाएका छन्। त्यसमाथि अहिलेको बहसपछि ट्रम्पले जित्ने सम्भावना थोरै भए पनि बढ्ने भएकाले बाइडेनलाई मैदान छोड्न दबाब बढेको हो।
दलभित्रबाट भने उनले छोड्नुपर्छ भनेर खुलेर कसैले भन्न सकेको छैन। उनलाई उपराष्ट्रपति बनाउने पूर्वराष्ट्रपति बाराक ओबामाले बहसपछि पनि उनको बचाउ गरेका छन्। अहिलेकी उपराष्ट्रपति तथा बाइडेनले मैदान छाडे उम्मेदवारीको स्वाभाविक दाबेदार कमला ह्यारिसले पनि उनको बलियो बचाउ गरेकी छिन्। बहस सकिएलगत्तै सिएनएनका पत्रकार एन्डरसन कुपरसँगको कुराकानीमा ह्यारिसले कुपरलाई हप्काउने शैलीमा 'बाइडेनले राष्ट्रपतिका रूपमा साढे तीन वर्ष गरेको राम्रो कामलाई डेढ घन्टाको बहसका आधारमा नजरअन्दाज गर्न नमिल्ने' बताइन्।
बाइडेनले मैदान छाडे डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्ने अर्का दाबेदार क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसम हुन्। उनले पनि बहसलगत्तै 'एउटा खराब रातपछि बाइडेनको साथ छाडे हामी कस्तो पार्टी बन्नेछौं' भनेर बचाउ गरे। बाइडेनका सहयोगी र सचिवालयका मानिसहरूले पनि उनलाई रूघा लागेकाले प्रस्तुति त्यस्तो भएको भन्दै बचाउ गरेका छन्।
राजनीतिक र व्यक्तिगत जीवनमा धेरैपटक प्रतिकूल परिस्थिति र असफलताका बाबजुद राष्ट्रपति बनेका बाइडेनले पनि आफूले मैदान नछाड्ने भनेका छन्।
बहसको भोलिपल्ट शुक्रबार नर्थ क्यारोलिना राज्यमा आयोजित एक चुनावी सभामा उनी धेरै ऊर्जावान देखिए। दुई दलबीच कडा प्रतिस्पर्धा हुने अमेरिकाका थोरै मात्रै राज्यमध्येको एक नर्थ क्यारोलिना हो। त्यहाँ आयोजित सो कार्यक्रममा बाइडेन अघिल्लो रातको भन्दा बेग्लै मान्छे जस्ता देखिएका थिए।
सो कार्यक्रममा बाइडेनले आफू जवान छैन भन्ने आफूलाई थाहा भएको बताए। पहिले जस्तो सजिलै हिँड्न, फरर्रर्र बोल्न र बहस गर्न नसके पनि आफूलाई सत्य बोल्न आउने, सही र गलत छुट्टयाउन सक्ने भन्दै राष्ट्रपतिका रूपमा काम गर्न आउनेमा जोड दिएका थिए।
'दसौं लाख अमेरिकीलाई थाहा भएको कुरा मलाई पनि थाहा छ, जब तपाईं ढलाइनुहुन्छ, तपाईं फेरि उठ्नु हुन्छ' भन्दै उनले आफ्नो पुनरागमन हुनेमा दृढता व्यक्त गरेका थिए। उनको भाषणपछि कतिपय डेमोक्र्याटिक नेता-कार्यकर्ताले बाइडेन पुनरागमन भइसकेको बताएका छन्। स्पेसल काउन्सिल रोबर्ट हरले फेब्रुअरीमा बुझाएको प्रतिवेदनपछि बाइडेनको उमेर र स्मरण शक्तिबारे उठेको संशय पनि गत मार्च ७ को स्टेट अफ द युनियनको दमदार भाषणले चिरेको उनीहरूले याद दिलाए।
यहाँनेर थाहा हुनुपर्ने कुरा के भने, गत मार्च र शुक्रबारको दुबै भाषणमा उनले टेलिप्रम्पटर प्रयोग गरेका थिए।
डेमोक्र्याटिक पार्टीका केही नेताले बिहीबारको उनको प्रस्तुतिले केही फरक नपार्ने भनेका छन्। सन् १९८४ मा दोस्रो कार्यकालका लागि चुनाव लड्नुअघि डेमोक्र्याटिक उम्मेदवार वाल्टर मोन्डेलसँगको पहिलो बहसमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले पनि बाइडेनको जस्तै प्रस्तुति दिएको उनीहरूले औंल्याएका छन्। त्यसका बाबजुद रेगन ५३८ मध्ये ५२५ इलेक्टोरल कलेज भोट जित्दै ऐतिहासिक अन्तरले विजयी भएका थिए। उनी २० औं शताब्दीका अमेरिकाका सफल राष्ट्रपतिमध्ये एक मानिन्छन्।
डेमोक्र्याटिक पार्टीका नेताले अहिले बाइडेनको तुलना रेगनसँग गरे पनि यो तुलना आफैमा अप्ठ्यारो हो। दोस्रो कार्यकाल जित्दा रेगन अमेरिकाको राष्ट्रपति चुनाव जित्ने सबभन्दा बढी उमेरका व्यक्ति थिए। उनको कीर्तिमान ट्रम्पले तोडेका थिए जुन पछि बाइडेनले तोडे।
पहिलो कार्यकालअघि नै भुल्ने स्वभावका भएका रेगनको दोस्रो कार्यकालमा दिमागी तीक्ष्णतामा ह्रास आएको थियो। यसकारण ह्वाइट हाउस उनकी श्रीमती न्यान्सी रेगनले चलाउँथिन् भनेर उतिबेलै हल्ला चल्थ्यो। दोस्रो कार्यकाल सकिएको पाँच वर्षपछि रेगनलाई अल्जाइमर्स रोग लागेको खुलासा भएको थियो। सन् २०११ मा उनका छोरा रन रेगनले राष्ट्रपति हुँदै बुबालाई अल्जाइमर्सले सताएको र पहिलो कार्यकालको तेस्रो वर्षदेखि नै दिमागी तीक्ष्णता र क्षमता ह्रास हुँदै गएको लेखेका थिए।
दोस्रो कार्यकालका बेला रेगनको अक्षमताका कारण सचिवालयका अधिकारीहरूले संविधानको २५ औं संशोधन प्रयोग गरेर उनलाई राष्ट्रपतिबाट हटाउन पनि खोजेका थिए। अमेरिकाको संविधानको २५ औं संशोधनले स्वास्थ्य वा अन्य कारणले राष्ट्रपति आफ्नो काम गर्न अक्षम भएर पनि पदमा रहिरहे उपराष्ट्रपति र मन्त्रिपरिषदले उनलाई हटाउन पाउने अधिकार दिएको छ।
बाइडेनलाई अहिले नै अल्जाइमर्स वा मस्तिष्कसम्बन्धी कुनै रोग लागेको जानकारी छैन। तर बिहीबारको बहसका बेला उनको अनुहारमा हाउभाउ नदेखिएकाले कतिपयले पार्किन्सन्सका बिरामीमा यस्तै समस्या हुने औंल्याएका छन्।
डेमोक्र्याटिकले रेगन र बाइडेनको प्रस्तुति तुलना गर्दै बाइडेनले पनि सजिलै चुनाव जित्ने भनेका छन्। तर यसले बाइडेनको उमेरजन्य समस्यासम्बन्धी प्रश्नलाई झन् प्रश्रय दिन्छ। रेगन राष्ट्रपति हुँदा उनलाई त्यस्तो समस्या भए पनि नभए पनि, उनले दोस्रो कार्यकालमा शीत युद्धको उत्कर्षबेला तत्कालीन सोभियत संघका राष्ट्रपति मिखाइल गोर्वाचोभसँग सम्बन्ध विस्तार गरे। गोर्वाचोभलाई सोभियत संघमा सुधारका कार्यक्रम ल्याउन थोरै भए पनि प्रेरित गरे। विविध कारणले सोभियत संघ केही वर्षमै विखण्डन भयो र अमेरिकाले युद्ध नलडी शीत युद्ध जित्यो। रेगनमा स्वास्थ्य र उमेरजन्य समस्या थियो भने पनि त्यसले अमेरिका र समग्र विश्वलाई ठूलो हानि केही गरेन।
रेगनले जस्तै बाइडेनले पनि आफ्नो उमेरका बाबजुद फेरि चुनाव जित्लान्। तर अहिले चीनसँग दोस्रो शीत युद्ध लडिरहेको अमेरिका हाँक्न चुस्त र तेज दिमाग भएको बाइडेन चाहिन्छ। राम्ररी सोच्न सक्ने राष्ट्रपति नहुँदा अहिले रूस-युक्रेन युद्ध चलिरहेका बेलामा चीनसँग पनि विवाद चर्किने र तेस्रो विश्व युद्ध नै सुरू हुने खतरा रहन्छ।
बाइडेनले चुनाव लडे र ट्रम्पसँग हारे भने प्रजातन्त्र नै खतरामा पर्न सक्छ भनेर डेमोक्र्याटिक पार्टीका मात्रै नभएर स्वतन्त्र अमेरिकी पनि अहिले चिन्तित छन्। युक्रेनलाई ट्रम्पले सहायता रोके र रूसले जित्यो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अरू छिमेकी देशमा पनि आक्रमण गरेर युरोपकै सुरक्षा खतरामा पर्ने भनेर युरोपेली नेताहरू पनि चिन्तित छन्।
त्यस्तो भयो भने बाइडेनकै विरासतमा पनि असर पर्नेछ। ट्रम्पलाई दोस्रो कार्यकाल जित्न रोकेर, कोभिडपछि अमेरिकी अर्थतन्त्र उकासेर र पुटिनलाई युक्रेन कब्जा गर्न रोकेर उनले बनाएको आफ्नो छवि बिग्रिनेछ। अमेरिकाको सर्वोच्च अदालतकी न्यायाधीश रूथ बेडर गिन्सवर्गको विरासत जस्तै हुने भनेर पनि कतिले तुलना गरेका छन्।
अमेरिकामा सर्वोच्चको न्यायाधीश अजीवन पद हो। कसैको मृत्यु भए वा राजीनामा दिए, राष्ट्रपतिले नयाँ न्यायाधीश नियुक्त गर्छन्।
बाराक ओबामा राष्ट्रपति हुँदा उदारवादी (डेमोक्र्याटिक पार्टीनिकट) न्यायाधीश गिन्सवर्ग ८० वर्ष पुगिसकेकी थिइन्। डेमोक्र्याटिक पार्टीका धेरैले उनलाई ओबामाकै पालामा राजीनामा दिएर उदारवादी न्यायाधीश नियुक्त गर्न सहयोग गर्न भनेका थिए। तर उनले राजीनामा दिइनन्। ट्रम्पको कार्यकाल सकिन लाग्दा सन् २०२० मा, ८७ वर्षको उमेरमा उनको निधन भयो। ट्रम्पले उनको स्थानमा अनुदारवादी न्यायाधीश नियुक्त गरे।
गिन्सवर्गले कानुन-न्याय सेवामा धेरै उदारवादी काम गरिन्। तर उनको विरासत राजीनामा नदिएर सर्वोच्चमा लामो समयसम्म अनुदारवादीको पकड हुन दिन योगदान गरेको भनेर रह्यो।
यसरी बढ्दो उमेरसँगै दिमागी तीक्ष्णता घट्दै गएका केही मान्छेले सही निर्णय गर्न सक्दैनन्।
बाइडेनले यो उमेरमा आएर आफ्नो छवि बिगार्नुभन्दा मैदान छोड्छु भन्ने निर्णय गरे पनि डेमोक्र्याटिक पार्टीलाई त्यति सजिलो छैन। उनले मैदान छाडे उपराष्ट्रपति कमला ह्यारिस राष्ट्रपतिका लागि स्वाभाविक दाबेदार हुन्छिन्। तर उनले ट्रम्पलाई हराउने सम्भावना बाइडेनको भन्दा पनि कम मानिन्छ। त्यसैले उनीविरूद्ध अरूले पनि उम्मेदवारी दिनेछन्।
बाइडेनको उमेरको समस्या नभएको भए, उनी वा ट्रम्पभन्दा कम उमेरका जो मध्यमार्गी उम्मेदवार भए पनि, डेमोक्र्याटिक पार्टीको उम्मेदवारले ट्रम्पलाई सजिलै हराउने थिए भनिन्छ। तर चुनावको सँघारमा नयाँ उम्मेदवार को बन्ने भनेर पार्टी विभाजित भए, ट्रम्पलाई हराउन मुस्किल पर्नेछ। त्यस्तोमा विभाजित पार्टीभन्दा बाइडेन आफैले ट्रम्पलाई हराउने सम्भावना धेरै हुने पनि मानिएको छ।
अहिलेको स्थितिमा बाइडेनका लागि दुइटा विकल्प छन्। उनले मैदान छाडे भने ट्रम्पबाट देशलाई जोगाउन दोस्रो कार्यकालको लोभ नगरी बिदा भएको भनेर उनी सम्झिइनेछन्। ट्रम्पले जिते पनि, हारे पनि बाइडेनको प्रशंसा हुनेछ।
मैदान छाडेनन् र ट्रम्पसँग हारे भने उनको छवि सधैंका लागि न्यायाधीश गिन्सवर्गको जस्तो बिग्रिनेछ। जिते भने पनि उमेरजन्य समस्याका कारण अर्को चार वर्ष शासन चलाउन उनलाई गाह्रो पर्नेछ। बीचैमा छाड्ने दबाब पर्नेछ। शासन चलाउन नसक्ने हुँदा पनि छाडेनन् भने झन् संविधानको २५ औं संशोधनको प्रयोग गरी हटाइने खतरा हुनेछ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)