मेयरसँग वडाध्यक्ष र कर्मचारीहरू विवादका कारण जनकपुरधाम उपमहानगरपालिकाको बजेट कानूनले तोकेको म्यादमा प्रस्तुत हुन सकेन।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ को दफा ७१ र ‘अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४’ को दफा २१ को व्यवस्थाअनुसार स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेभित्र अर्को आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्ने व्यवस्था छ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहसँग वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साह, लेखा अधिकृतको विवादका कारण असार १० गते बजेट प्रस्तुत हुन नसकेको हो।
बजेट पेश हुन नसकेको सम्बन्धमा सोधिएको प्रश्नमा मेयर साहले कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृतलाई दोषी देखाए।
‘वडाध्यक्षहरू पनि असन्तुष्ट छन्। प्रमुख प्रशासकीय अधिकृत बिरामी परेको बहाना लगाएर हिँडिसके। नगरसभा नै हुन सकेन,’ मेयर साहले भने, ‘(प्रशासकीय अधिकृत) किन गए मलाई थाहा भएन, उहाँलाई नै सोध्नुस्, स्वास्थ्य समस्या भयो, उपचारका लागि काठमाडौं जानुपर्ने भयो भनेर निवेदन दिनुभएको छ।’
उनले प्रमुख प्रशासकीय अधिकृत सोमबार दिनभर सामान्य प्रशासन मन्त्रालयमा रहेको भन्ने खबर आफूले सुनेको बताए।
मेयर साहसँग बहुमत कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत रूष्ट छन्। उनीहरूमध्ये केहीले मेयरको व्यवहारले आफूहरू हैरान भएको बताउने गरेका छन्।
मेयर साहले उपमहानगरको नीति तथा कार्यक्रम र बजेटबारे छलफल गर्न गत यही असार ७ गते कार्यपालिका बैठक बोलाएका थिए। आर्थिक वर्षको बजेट कार्यपालिकाबाट स्वीकृत गराएर मात्रै सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ।
त्यही प्रयोजनमा बोलाइएको बैठकमा अधिकांश कार्यपालिका सदस्य उपस्थित नै भएनन्। वडाध्यक्षहरू नै अनुपस्थित भएपछि कोरम (आवश्यक संख्या) नपुगेर बैठक हुन नसकेको मेयर साहले बताए।
साह चुनावी गठबन्धका कारणले आफ्नो पार्टी नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका थिए। पछि फेरि नेपाली कांग्रेसमै फर्किए।
नेपाली कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू मेयर असन्तुष्ट छन्। वडा नम्बर ११ का वडाध्यक्ष अर्जुन चौधरीले मेयर साह एकलौटी र मनोमानी ढंगले चलेपछि आफूहरू ७ गतेको कार्यपालिका बैठकमा नगएको बताए।
कार्यपालिकाको बैठक हुन नसकेपछि कानूनी प्रावधानअनुसार बजेट पेश हुन नसकेको हो।
‘हामी उहाँ (मेयर) का विपक्षमा छैनौं तर उहाँले सिस्टम (पद्धति) मा काम गर्नुपर्यो। उहाँ बोर्ड मेम्बर (कार्यपालिका सदस्य) लाई पेलेर जानुहुन्छ,’ मेयरमाथि वडाध्यक्ष चौधरीको आरोप छ, ‘कार्यपालिकाको एउटा पनि निर्णय कार्यान्वयन भएको छैन। हामीले तपाईं सिस्टममा हिँड्नुहोस्, निर्णय कार्यान्वयन गर्नुहोस् भन्यौं तर मान्नुभएन। हामीले भनेको कुरामा हो हो भन्नुहुन्छ तर मनोमानी गर्नुहुन्छ।’
मेयर साहकै कारण उपमहानगरमा कुनै पनि काम हुन नसकेको चौधरीको भनाइ छ। काम नहुँदा जनताको गाली खानुपरेको उनको गुनासो छ।
‘इम्याचुओर (अपरिपक्व) पोलिटिसयन मेयर भएर हामीले दुःख भोग्नुपरेको छ। विकासको काम केही हुन सकेको छैन। कर्मचारी पनि बस्न मानेका छैनन्। यी मेयर असफल भइसके,’ चौधरी भन्छन्, ‘मेयरका घरका मान्छे उपमहानगरनगर चलाउन खोज्छन्।’
चौधरीका अनुसार मेयरका छोराले मनपरी गर्ने गरेका छन्। मेयरका छोराले कर्मचारीलाई पिटेको समेत उनको आरोप छ।
मेयर साहसँग असन्तुष्ट रहेका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत चालु आर्थिक वर्षको सुरुदेखि नै कार्यालयमा नियमित उपस्थित छैनन्। काम सम्पन्न भएका कतिपय योजनाहरूको रकम भुक्तानी हुन सकेको छैन्।
चालु आर्थिक वर्षमा जनकपुरधाम उपमहानगरमा चारजना प्रमुख प्रशासकीय अधिकृत र तीनजना लेखा अधिकृत फेरिएका छन्।
गत जेठ २३ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर भएका साह बजेट प्रस्तुत गर्नुपर्ने समयमै बिरामी बिदाको निवेदन दिएर काठमाडौं हिँडे।
उनी जनकपुर उपमहानगरमा बस्न नमानेपछि समान्य प्रशासन मन्त्रालयले उपमहानगरका शिक्षा शाखा प्रमुख मिहिलाल यादवलाई सोमबार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ।
यादव समेत निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी लिन अनिच्छुक थिए। उनी पनि मेयर साहसँग असन्तुष्ट छन्। तत्काल कुनै उपाय नभएपछि मेयर साहले यादवलाई जिम्मेवारी लिन मनाएका थिए।
लेखा अधिकृत फिरोज आलम पनि मेयरसँग असन्तुष्ट छन्। मेयरले गैरकानुनी भुक्तानीका लागि दबाब दिने गरेको कर्मचारीहरूको भनाइ छ।
‘धेरै योजनामा मेयरका मान्छेले पहिले नै पैसा उठाइसकेका हुन्छन्। उपभोक्ता समिति र ठेकेदारले बिल पेश गरेअनुसारको काम गरेका छैनन्,’ एक कर्मचारी भन्छन्, ‘ठकेदारको बिलअनुसार भुक्तानी दिन मेयरको दबाब छ। भुक्तानी गर्नै नमिल्नेमा जागिर दाउमा राख्न सकिँदैन।’
जतिसुकै असन्तुष्ट भए पनि कार्यपालिका सदस्यहरू बैठकमा आउनुपर्ने मेयर साहको भनाइ छ।
‘अहिले हाम्रो खराब समय चलेको छ। उहाँहरू (कार्यपालिका सदस्य) आफ्नो माग राख्न पनि बैठकमा आउनुपर्छ,’ मेयर साहको प्रश्न छ, ‘बैठकमै नआएर कसरी माग सम्बोधन हुन्छ?’
उपमहानगर कार्यालयमा कर्मचारीहरू बस्न नमानेको सन्दर्भका राखेको प्रश्नमा उनले भने, ‘कर्मचारी किन टिक्दैनन्, उनीहरूलाई नै सोध्नू, मलाई थाहा भएन। दुई दिनपछि अर्को लेखा अधिकृत ल्याउँदैछु।’
उपमहानगरको बजेट कहिले पेश हुन्छ भन्ने अनिश्चित भएको छ।