प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मेरिटका आधारमा राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढ्ने बताएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यसपाली राजदूतहरू सिफारिस गर्दा पनि आफूले मेरिटकै आधारमा नाम मागेको बताए।
गत शुक्रबार सिफारिस भएका ८ जनामध्ये अधिकांशमाथि प्रतिनिधि सभा सदस्यहरूले प्रश्न उठाएपछि प्रधानमन्त्री प्रचण्डले राजदूत सिफारिसबारे थप जवाफ दिएका थिए।
‘राजदूत नियुक्तिका सन्दर्भमा अहिलेसम्मको मान्यता परराष्ट्रबाट ५० राजनीतिक नियुक्ति ५० प्रतिशत गर्ने भन्ने छ। यसलाई हामी सबैले पहल गरे बदल्न सकिन्छ हामी सबैले पहल गरेर बदल्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘तर अहिले भर्खरै बदल्न सकिँदैन।’
उनले परराष्ट्रबाट गएकालाई उनीहरूको कार्यकालभरि राखिएको र राजनीतिक भागबण्डामा गएकालाई पनि झन्डै तीन महिनासम्म काम गर्न दिएको बताए।
झन्डै तीन महिना उनीहरूलाई नै राखेका थियौं।
उनले आफूलाई भागवण्डा भन्ने शब्द नै मन नपर्ने बताए।
‘भागबण्डा भन्ने शब्द बडो नराम्रो लाग्छ। टियुमा भागबण्डाबाट मात्रै होइन मेरिटका आधारमा भने त्यही अनुसार गर्ने जमर्को गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आफू समीकरणमा हुँदा भागबण्डा नहुने अरू हुँदा हुने भन्ने हुन्छ? राजदूत नियुक्तिका सन्दर्भमा पार्टी विशेष नभइ मेरिटका आधारमा योग्य मान्छे प्रस्तुत गर्न पर्यो भनिएको थियो। मैले त्यतिबेला कांग्रेसलाई धन्यवाद भनेको थिएँ।’
उनले यसपटक पनि मेरिटकै आधारमा राजदूतहरूको नाम मागिएको जिकिर गरे।
‘अहिले पनि मैले मेरिटका आधारमा दिन पर्यो भनेको हो। कति मेरिटमा परे परेनन कतिको मेनपावरसित सम्बन्ध छ भन्ने जो प्रश्न उठेको छ; यो प्रश्नको सन्दर्भमा सम्बन्धितहरूसँग छलफल गरेर सच्याउने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘मेरिटकै आधारमा अघि बढोस भन्ने चाहन्छु।’