शिक्षा स्वास्थ्य, रोजगारी र पर्यटनलाई मुख्य प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
शिक्षा, स्वास्थ्य, रोजगारी र पर्यटनको विकासमार्फत् बुटवललाई बस्नयोग्य सहर बनाउने मुख्य लक्ष्यसहित आगामी वर्षको नीति तथा कार्यक्रम ल्याईएको नगरप्रमुख खेलराज पाण्डेयले बताए।
नगरसभाको १५ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पाण्डेयले बुटवललाई स्वच्छ, सफा, हरियालीयुक्त पर्यावरणको विकास गरी सबै जातजातिले अपनत्व गर्नसक्ने साझा सांस्कृतिक सहरका रूपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी आवश्यक नीति अगाडि सारिएको बताए।
नीति तथा कार्यक्रममार्फत् बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रूपमा अगाडि सारेको छ।
‘छोरी पढाऔं समाज बनाऔं’ कार्यक्रम अन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ।
विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ रुपैयाँ बनाउने नीति लिएको बुटवलले निजी विद्यालयहरूले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ।
बुटवलले माध्यमिक तहका प्रधानाध्यापकहरूको हरेक तीन–तीन वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरूलाई समान तहको स्तरमा पुर्याउन अन्तरविद्यालय अनुभव आदानप्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबीच नियमित छलफल सञ्चालन गर्ने नीति अगाडि सारेको छ। चालू आर्थिक वर्षमै बुटवलले पुँजीगत बजेटको ३० प्रतिशत बजेट शिक्षामा लगाएको नगरप्रमुख पाण्डेयले दावी गरे।
स्वास्थ्यतर्फ बुटवलले २ वटा अस्पताल सञ्चालन गर्ने, हरेक चार–चार महिनामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविरका लागि बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका लागि शिविरहरू सञ्चालन गर्ने नीति अगाडि सारेको छ।
बुटवलले यसअघिदेखि उपलब्ध गराउँदै आएको विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७ हजार, एचआइभी संक्रमित बालबालिकालाई मासिक ३ हजार र सुत्केरी पोषण खर्चवापत् २ हजार रुपैयाँ दिने कार्यक्रमलाई निरन्तरता दिएको छ।
सार्वजनिक निजी साझेदारीमा बुटवल ११ मा १ सय बेडको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने नीति अगाडि सारेको नगर प्रमुख पाण्डेयले बताए।
‘उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत शहरको रुपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी शहरलाई जीवन्त बनाउने, सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने बुटवलका मूल रणनीति हुन्,’ नगरप्रमुख पाण्डेयले भने।
बुटवल उपमहानगरपालिका र आसपासका नगरहरू तिलोत्तमा, तिनाउ, ओमसतिया, सिद्धार्थनगर, देवदह, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा अन्य नगर तथा गाउँपालिकाहरुसँग समन्वय र सहकार्य गर्दै यस क्षेत्रलाई महानगर र मेगा सिटीको रुपमा विकास गर्न आवश्यक आधार तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
त्यस्तै मुख्य राजमार्ग क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन भएका ठेला, गाडी र खुद्रा व्यवसायीलाई करको दायरमा ल्याउने र रात्रिकालीन बजार क्षेत्रमा सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।
बुटवल औद्योगिक क्षेत्र, अटो भिलेज र अन्य क्षेत्रमा सञ्चालनमा रहेका उद्योग व्यवसायहरूलाई नगरमा अनिवार्य रुपमा दर्ता गरी करको दायरामा ल्याउने र राजस्व वृद्धिका लागि स्पेशल टास्क फोर्स सञ्चालन गर्ने नीति बुटवलले अगाडि सारेको छ।
नगरप्रमुख पाण्डेयले लामो समयदेखि फर्स्यौट नभएको बेरुजु, असुली र अनियमित खर्चलाई कानुनबमोजिम फर्स्यौट गर्दै आर्थिक पारदर्शितालाई सबल बनाउन आन्तरिक लेखा परीक्षणमा विशेष जनशक्ति परिचालन गर्ने बताए। महालेखा परिक्षकको प्रतिवेदन अनुसार लुम्बिनी प्रदेशका पालिकाहरु मध्ये सबैभन्दा बढि बेरुजु बुटवल उपमहानगरपालिकाको देखिएको छ।
त्यस्तै आधुनिक पशु बधशालाको सञ्चालनका लागि पशु बधशालाभन्दा बाहिर खसीबोका बध गर्ने कार्यलाई कानुनबमोजिम रोक लगाउने र विपन्न वर्गका व्यवसायीलाई स्वच्छ मासु बिक्री केन्द्र स्थापनाका लागि अनुदान उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख छ।
गृहिणी महिलाहरूलाई स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तरगत उत्पादित वस्तुको बिक्री गर्न कोशेली घर स्थापना गर्ने र नगरको चिनोका रूपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।
बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौं बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमनलाई वृद्धि गर्ने नीति अगाडि सारिएको छ।
बुटवलले सहकारी संस्थाहरूको एकीकृत लगानीमा सस्तो पसल, कृषि उत्पादन बिक्री केन्द्र, कोशेली घर, स्थानीय तथा रैथाने सामग्री बिक्री केन्द्र, स्वच्छ मासु बिक्री केन्द्र र शीतभण्डार गृहहरू सञ्चालनका लागि प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ।
सहकारी ठगी गर्नेहरूलाई नियमन र नियन्त्रण गर्न बुटवलले संघ र प्रदेशमा दर्ता भई बुटवलभित्र कार्यालय स्थापना गर्ने सहकारीहरुलाई व्यवस्थित गर्नका लागि अनिवार्य सूचीकृत हुने व्यवस्था गर्दै सहकारी क्षेत्रको बेथिति र ठगी रोक्नका लागि सचेतना कार्यक्रमहरू संचालन गर्ने नीति ल्याएको छ।
बुटवलमा रहेको सुप्रिम सहकारीले एकहजार बढी बचतकर्ताको रकम हिनामिना गरेपछि उपमहानगरपालिकाले नगरवाशीलाई ठगिनबाट जोगाउन सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जनाएको हो।
पूर्णपाठः