न्यूरोडलाई 'सवारी निषेधित क्षेत्र' बनाउने काठमाडौं महानगरपालिकाले तयारी सुरू गरेपछि त्यहाँका व्यवसायीहरूले प्रदर्शन गरेका छन्।
बुधबार बिहान न्यूरोड क्षेत्रका व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।
व्यवसायीहरू ‘सवारी साधन विनाको न्यूरोड चाहिँदैन’, ‘आफू चिल्लो गाडी चढ्ने हामीलाई नो भेहिकल भन्ने?’ लगायत विभिन्न नारा उल्लिखित प्लाकार्ड बोकेर सडक किनारमा उभिएका छन्।
काठमाडौं महानगरपालिकाको जेठ ३२ गतेको बैठका न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने प्रस्ताव पेस भएको थियो।
‘कार्यपालिका बैठमा प्रस्ताव भएको छ, पारित भएको छैन,’ महानगरका प्रवक्ता नवीन मानन्धरले सेतोपाटीसँग भने।
उनका अनुसार महानगरले असार १० गते ल्याउने नीति तथा कार्यक्रममा पनि न्यूरोडलाई सवारी निषेध क्षेत्र बनाउने प्रस्ताव राखिएको छ।
‘त्यतिबेला पारित हुन्छ कि संसोधनसहित पारित हुन्छ। त्यसपछि मात्रै बाँकी प्रक्रिया अगाडि बढ्छ,’ प्रवक्ता मानन्धरले भने।
न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउने योजनास्वरुप पार्किङ हटाइएको थियो। त्यहाँ पिक एन्ड ड्रप (यात्रु चढाउने र ओराल्ने) लागु गरिएको थियो।
त्यसपछि फुटपाथ बढाउने र पूरै न्यूरोड सवारी निषेधित क्षेत्र बनाउने महानगरको तयारी थियो।
यद्यपि फुटपाथ विस्तारको काम सडक डिभिजन कार्यालयले रोकिदिइसकेको छ भने पार्किङ निषेधित गरिएको न्यूरोड क्षेत्र नियमनको अभावमा फेरि पार्किङले भरिन थालेका छन्।
हेर्नुस् व्यवसायीहरूको प्रदर्शन:
यो पनिः बालेनले सुरू गरेको न्यूरोड पुनर्जन्मको बाटो
न्यूरोड क्षेत्रका सडकमै पार्किङ (तस्बिरहरू)